|

बागलुङ : नेपालकै पाँचौँ र छैटौँ संक्रमित बागलुङस्थित धौलागिरि अञ्चल अस्पतालबाट निको भएपछि लामो समय कोरोनाका संक्रमित भेटिएनन्। तर, जेठको दोस्रो सातापछि धमाधम संक्रमित थपिए।

यसरी कोरोनाका संक्रमित थपिएपछि सदरमुकामस्थित अस्पतालको आइसोलेसन भरियो। तत्काल अर्को आइसोलेसनको आवश्‍यकता पर्‍यो। धौलागिरि बहुमुखी क्याम्पसलाई आइसोलेसन बनाइयो। तर निसीखोला, तमानखोला, ढोरपाटन र बडिगाडका संक्रमितलाई सदरमुकाम ल्याउने काम जटिल भयो।

बुर्तिवाङमा नमुना आइसोलेसन

आइसोलेसन बनाउनका लागि ढोरपाटन नगरपालिकाले ४ लाख र तीनवटा गाउँपालिकाले दुई/दुई लाख लगानी गरेका थिए। १० लाख रुपैयाँबाटै प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङ र निसीभुजी जनता क्याम्पसमा नमुना आइसोलेसन तयार भयो। अहिले पनि जिल्लाका अन्य आइसोलेसनको तुलनामा बुर्तिवाङकै नमुना देखिएको केन्द्रका प्रमुख डा. मिलन मल्लले दाबी गरे। ‘हामीले सानो लगानीबाटै नमुना आइसोलेसन बनाउन सक्यौं’ मल्लले भने, ‘धेरै खर्च गरेर मात्र हुँदैन, आइसोलेसनको पूर्वाधारबाटै जिल्ला अस्पतालको संरचना बनाउनसमेत सहयोग पुग्ने अवस्थामा आएका छौं’

बुर्तिवाङमा मात्रै ५० जनालाई आइसोलेसनमा राखियो। मंगलबार भेटिएका संक्रमित पनि बुर्तिवाङकै आइसोलेसनमा रहनेछन्। पहिलो चरणमा भेटिएका निसी र तमानका संक्रमित मात्रै बागलुङ आएका थिए।

विशेषज्ञ डाक्टर भएको स्थानमा मात्रै बनाउने सरकारी नीति भए पनि भूगोलको बाध्यता र लामो दूरीको कारण सदरमुकाम ल्याउन असम्भव भएपछि आइसोलेसन बनाइएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए। साधन स्रोत र मानवीय शक्ति कम भए पनि बुर्तिवाङमा नमुना आइसोलेसन बनेको उनले बताए।

मल्लको अगुवाईसँगै कुशल व्यवस्थापनको भूमिका खेलेको समेत जिल्लामा प्रशंसा भएको छ। उनको नेतृत्वको स्वास्थ्यकर्मीहरुले नियमित खटेर काम गर्दा केन्द्रको कामसमेत सुचारु भएको थियो। मल्लका अनुसार, केन्द्रमा अहिले पनि दैनिक दुईदेखि तीनजना महिलाले प्रसूति सेवा पनि लिने गरेका छन्। संक्रमितको हेरचाह र व्यवस्थापनमा पनि उनले अग्रणी भूमिका खेलेका थिए।

निको बनाएर पठाउने

केन्द्रमा २५ र निसीभुजी जनता क्यामपसमा २५ शैय्या गरी ५० शैय्याको आइसोलेसन बनेको हो। संक्रमित भेटिएपछिको हतार–हतारको छलफलबाट बनाएर पनि थोरै खर्चमा धेरै संक्रमित निको बनाएर पठाउने बुर्तिवाङ बनेको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले बताए।

जिल्ला अस्पतालको पूर्वाधार

आइसोलेसनका लागि राखिएका बेड, सिसि क्यामेरा, अक्सिजन जडानलगायत कामबाट जिल्ला अस्पतालको पूर्वाधार बनाउन सहज भएको उनले बताए। २०६६ सालमा बागलुङ सदरमुकाममा अञ्चल अस्पताल स्थापना भएपछि बुर्तिवाङको केन्द्रलाई जिल्ला अस्पताल बनाउने तयारी छ। तर, दक्ष स्वास्थ्यकर्मी, भवन र उपकरण अभावमा बन्न सकेको थिएन। कोरोनाविरुद्धको अभियानले अस्पताल बनाउन सकिने बाटो खुलेको समेत नेपालीले बताए।

२१ जनाको दरबन्दीबाट मल्लले ७ जनाको कोरोनाविरुद्धको टिम बनाएका छन्। ढोरपाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख घनश्याम चालिसे, ल्याब टेक्निसियन किसान शाही, अहेव रुमाकान्त श्रीष, रबिन्द्र केसी र थमन घर्ती तथा नर्स पार्वती अर्यालको टिमले कोरोनाविरुद्धको अभियान चलाएको हो।

आइसोलेसनमा बस्नेबाहेक अस्पतालका नियमित बिरामीलाई दैनिक तीनचार पटक साबुनपानीले हात धुने सल्लाह दिने काममा पनि यो टिम खटिएको छ। नेपाल स्वास्थ्यका लागि पानी (नेवा)ले यहाँसहित दर्जनबढी क्वारेन्टाइनमा स्वचालिक हातधुने धारा जडान गरिदिएको छ। ५ सय लिटरका ट्यांकी जडान गरिदिएको छ। आवश्‍यक पर्ने साबुन पनि सहयोग गरेपछि हरेक सेवाग्राहीले हात धुने चलन पनि बसालेका छन्।

मल्लकै नेतृत्वमा नियमित सरसफाइसँगै गीत–संगीत, शारीरिक व्यायाम, तनाव व्यवस्थापनका क्रियाकलाप पनि चलाइएको छ। डिस्चार्ज भएर गएका अधिकांशले पनि घरमा साबुनपानीले हात धुने र शारिरीक व्यायाम गर्न थालेको उनले बताए। कोरोनाविरुद्धको औषधि प्रमाणित भएको छैन, तर मैले ‘एजिथ्रोमाइसिन’ र ‘आयुर्वेदका विभिन्न शक्तिप्रवर्द्धक औषधि’ खुवाएको छु’ उनले भने, ‘विशेषज्ञ डाक्टरसहितको अञ्चल अस्पताल जत्तिकै सेवा दिने स्थान बनाउन प्रयास गरिएको छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.