|
फाइल फोटो

काठमाडाैं : अर्थमन्त्री डा. युवराज खतिवडाले बीमा प्राधिकरणलाई स्वायत्त बनाउन सकिने बताएका छन्। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा बीमासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि छलफल गर्दै अर्थमन्त्री खतिवडाले बीमा प्राधिकरणलाई स्वायत्त बनाउन सकिने तर स्टाटसलाई माथि ल्याउन नहुने बताए। 

नियामक निकायको भूमिका, जिम्मेवारी र जोखिम बढ्दै जाँदा अपग्रेड गर्दै जान सकिने उनले बताए। ‘अटोनोमी दिनुपर्छ अहिले नै पनि दिउँ यसमा केही भएन । तर स्टाटसलाई अहिले माथि लैजाँदा स्वभाविक रुपमा त्यो जिम्मेवारीमा पुग्ने मान्छे र कार्यबोझको हिसाबले त्यति उपयुक्त हुँदैन । त्यसैले यसलाई यो अपडेटमा लैजाओं । तर अभ्यासचाहिं स्वायत्तता दिने गरी नै जाऔं ।’

प्राधिकरणको अध्यक्षको योग्यता सदस्यहरुको भन्दा एक तह माथि राख्नुपर्ने खतिवडाले बताए। उनले विशिष्ट श्रेणीमा कम्तीमा ५ वर्षको अनुभव वा उच्च पदस्थ तहमा १० वर्ष काम गरेको अनुभव भएको व्यक्ति अध्यक्ष बन्न सक्ने गरी ऐनमा व्यवस्था हुनुपर्ने बताए। 

स्वास्थ्य बीमालाई सामाजिक सुरक्षाको सबैभन्दा विश्वव्यापी अवधारणाको रुपमा नेपालमा लागु गरिएको मन्त्री खतिवडाले बताए।  सबै नागरिकको अनिवार्य स्वास्थ्य बीमा गर्ने उद्देश्यले स्वास्थ्य बीमा बोर्ड स्थापना गरिएकाले अहिले नै खारेज गर्नेगरी ऐन ल्याउन नहुने उनको धारणा थियो।  ​

पूर्वअर्थमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद सुरेन्द्र पाण्डेले बीमा प्राधिकरणको सञ्चालकमा अर्थमन्त्रालयको सचिव रहनुपर्ने बताए। तल्लो तहका व्यक्तिलाई सञ्चालकमा राख्दा आफैं निर्णय गर्न नसक्ने भएकाले प्राधिकरणको प्रभावकारिता र कार्यक्षमता विकासका लागि पनि सचिव सञ्चालकमा बस्नुपर्ने व्यवस्था गर्नु उपयुक्त हुने उनले बताए। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.