नेपाली दूतासावको पहलमा उजुरी दर्ता

|

काठमाडौं : मलेसियामा एक नेपाली सुरक्षागार्डमाथि निर्घात कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि छानबिन अघि बढाइएको छ। एकजना मलेसियन नागरिकले सुरक्षागार्डको पोसाकमै रहेका नेपालीमाथि डण्डाले निर्घात कुटपिट गरेपछि चर्को विरोध भएको थियो।

केही दिनदेखि नेपाली सुरक्षागार्डमाथि कुटपिट गरेको भिडियोलाई लिएर नेपाल र मलेसियामा रहेका नेपाली समुदायले प्रश्‍न उठाएका थिए। त्यसपछि क्‍वालालम्पुरस्थित नेपाली दूतावासले त्यहाँस्थित प्रहरीलाई यसबारेमा जानकारी गराएको थियो। 

एकजना नेपाली गंगा सुवेदीले ती नेपाली सुरक्षागार्डमाथि भएको कुटपिटको घटनालाई नेपाल सरकारले गम्भीरतापूर्वक लिनुपर्ने माग गरेका थिए। उनले विदेशमा आफ्ना नागरिक बेचेर ब्याज खानेहरूले यसरी नेपाली कुटिँदा चासो नदिएको भन्दै आक्रोश पोखेका थिए।

यस्तोमा शुक्रबार क्‍वालालम्पुरस्थित नेपाली दूतावासले त्यहाँस्थित प्रहरीलाई यसबारेमा उजुरी दिएको छ। 'मलेसियामा सेक्युरिटी गार्डलाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा आएको सम्बन्धमा नेपाली राजदूतावासको गम्भीर ध्यानाकर्षण भएको छ', दूतावासले भनेको छ, 'त्यस घटनाको अनुसन्धानका लागि राजदूतावासको पहलमा मलेसिया प्रहरीमा प्रारम्भिक उजुरी गरिसकिएको छ।'

दूतावासले यस घटनाबारेमा विस्तृत विवरण उपलब्ध गराउन पनि नेपाली समुदायलाई अपिल गरेको छ। यो घटनाबारे जानकारी पाएपछि परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले पनि आवश्यक कारवाही प्रक्रिया अघि बढाउन दूतावासलाई निर्देशन दिएका थिए। 

छानबिन सुरु 

मलेसियास्थित प्रहरीले नेपाली सुरक्षागार्ड कुटिएकोबारेमा उजुरी दर्ता भइसकेको जनाएको छ। उसले आजै यसबारेको उजुरी वसन्त सिंहले पीडितको तर्फबाट सेन्तुल पुलिस स्टेशनमा उजुरी दिइसकेकाले कारवाही अघि बढाइएको बताएको छ।

'एक उद्योगमा सुरक्षाका लागि तैनाथ नेपाली सुरक्षा गार्डमाथि भएको कुटपिटको उजुरी आइसकेको छ। यसलाई हामीले हिंस्रक आक्रमणका रुपमा लिएका छौं', स्थानीय प्रहरीको एक युनिट पिआईकेएमले भनेको छ, 'नेपाली दूतावासले ध्यानाकर्षण गराइसकेकाले अनुसन्धान फाइल खोलिसकेका छौं। घटनामा संलग्‍नमाथि धारा ३२४ अनुसार आवश्यक दण्ड गरिनेछ। अपराधमा संलग्‍नलाई कानुनी दायरामा ल्याउँछौ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.