|

भद्रपुर : स्थानीय तहमा सञ्चालनमा आएको शैक्षिक गतिविधि तत्काल बन्द गर्न जिल्ला प्रशासन कार्यालय झापाले सूचना जारी गरेको छ।

प्रदेश १ सरकारले कोरोना भाइरसको रेड जोनमा राखेका भद्रपुर नगरपालिकाभित्र निजी तथा सामुदायिक विद्यालयले पठनपाठन सुरु गरेपछि प्रशासन कार्यालय झापाले शुक्रबार यस्तो सूचना जारी गरेको हो। 

मन्त्रिपरिषद् बैठकको साउन ७ गते निर्णय अनुसार भदौ १ गतेदेखि विद्यार्थी भर्ना, शैक्षिक र अन्य परीक्षा सञ्चालन गर्ने र अर्को सूचनाबाट तोकिएको मितिदेखि मात्र शैक्षिक संस्थाहरू विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र सञ्चालन गर्ने व्यवस्था गर्न लेखी आएको हुँदा सोही अनुसार मात्र गराउनु हुन प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ। 

भद्रपुर नगरपालिकाको शिक्षा समितिले आचारसंहिता बनाएर अनौपचारिक रुपमा नगरभित्रका सामुदायिक तथा निजी विद्यालय सञ्चालनका लागि साउन ८ गतेदेखि अनुमति दिएको थियो। सोही बमोजिम नगर क्षेत्रका केही विद्यालयले कक्षा–९ र १० कक्षा सञ्चालन गर्दै आएका थिए। 

भद्रपुरमा विद्यालय सञ्चालनमा आएपछि नेपाल विद्यार्थी सङ्घ झापाले केही संस्थागत विद्यालयहरूको स्थलगत अनुगमन गरी तत्काल विद्यालय बन्द गराउन झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरलाई भेटेर माग राखेका थिए।

यता नगर शिक्षा समितिले विद्यालय सञ्चालन गर्न कुनै निर्णय नगरेको भन्दै आफ्नो बचाउ गरेपछि प्याब्सन भद्रपुरको टोली पनि जिल्ला प्रशासन कार्यालय झापा पुगेको थियो। विद्यालय सञ्चालकहरूलाई कार्यकक्षमै भेटेका प्रजिअ राना मगरले अविलम्ब विद्यालय बन्द नगरे कानुनी कारबाही गर्ने बताएपछि आइतबारदेखि विद्यालय सञ्चालन नगर्ने निर्णय गरिएको हो।

प्याब्सनका नगर अध्यक्ष डिल्ली दुलालले नगर शिक्षा समितिले साउन ८ गते राखेको सर्वपक्षीय बैठकमा विद्यालयहरूले स्वास्थ्य सावधानी अपनाएर मात्र विद्यालय सञ्चालन गर्न पाउने भनी निर्णय गरेको बताउँछन्।

नगर शिक्षा समितिबाट तय भएको स्वास्थ्य मापदण्ड पालना गरे  वा नगरेको अनुगमन गरेपश्चात् मात्र विद्यालय सञ्चालनमा ल्याइएको उनले बताए। त्यस्तै भद्रपुर नगर शिक्षा शाखाका प्रमुख प्रेमबहादुर भुजेलले नगरपालिकाले विद्यालय सञ्चालनका लागि औपचारिक निर्णय नगरेको प्रस्ट पारेका छन्।

उनका अनुसार निजी तथा सामुदायिक विद्यालयका प्रधानाध्यापक, राजनीतिक दलका प्रतिनिधि, नगरपालिकासहितको संयुक्त बैठकपछि तयार पारिएको आचारसंहिता पालना गरेर अभिभावकसँग सहमति लिएर मात्र विद्यालय सञ्चालन गर्न नगर शिक्षा कार्यालयले जानकारी गराएको हो। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.