|

बन्दाबन्दी (लकडाउन) खोलेपछि कोरोना महामारीको प्रभाव झनै बढेपछि धेरै देशहरूले यसमा थप कडाई गर्न थालेका छन्‌।

क्यानडाले विदेशीहरुको आगमनमा ३१ अगस्तसम्मका लागि प्रतिबन्ध लगाएको छ। कोरोना महामारी फेरि फैलनसक्ने भन्दै क्यानडाले शुक्रबार यस्तो निर्णय गरेको हो। त्यहाँको सरकारले संक्रमण फैलावटमा निगरानी राख्न 'कन्ट्याक्ट ट्रेसिङ मोबाइल एप'समेत लञ्च गरेको छ। 

बिहीबार क्यानडामा ३२९ जना नयाँ संक्रमित फेला परेका थिए। शुक्रबार ४७६ जना संक्रमित थपिएका छन्। त्यहाँ हालसम्म आठ हजार ९८० संक्रमितको ज्यान गइसकेको छ। 

अस्ट्रेलियामा यतिखेर निकै तीव्र गतिमा कोरोना भाइरस फैलिइहेको छ। विदेशबाट आएका मानिसहरु क्वारेन्टाइनमा नबस्दा यहाँ संक्रमण फैलिएको बताइएको छ। 

चीनमा कोरोना महामारी फैलिएको केही महिनासम्म पनि अस्ट्रेलिया सुरक्षित रहेको थियो। त्यसैले त्यहाँको सरकार जारी महामारी रोक्न सफल भएको भनिएको थियो। तर जुन महिना लाग्दै गर्दा मेलबर्नमा संक्रमणका मामिला लगातार बढ्न थालेको हो। 

मेलबर्न अस्ट्रेलियाको दोस्रो ठूलो शहर हो। त्यहाँ ६ हप्तासम्म लकडाउन लगाइएको थियो। भिक्टोरिया राज्यमा पनि दिनदिनै संक्रमितको संख्या बढिरहेको छ। पछिल्लो पटक संक्रमित भएकाहरुको यो संख्या स्वास्थ्य अधिकारीहरुले अनुमान गरेभन्दा निकै धेरै हो। अस्ट्रेलियामा महामारी नियन्त्रण गर्न लकडाउन समेत पर्याप्त नभएको विश्लेषण हुन थालेको छ। 

शुक्रबार विश्वभर दुई लाख ९२ हजार ५२७ जना संक्रमित थपिएका छन्।

कोरोना संक्रमण फैलिरहेका कारण हङ्गकङ्गमा प्रमुख कार्यकारी पदका लागि हुन लागेको चुनाव स्थगित गरिएको छ। 

कोरोना महामारी नियन्त्रण गर्न सफल रहेको भनिएको भियतनाममा दैनिकजसो मानवीय हताहति हुन थालेको छ। 

कोरोना संक्रमण फैलिएपछि आइसल्याण्डले भौतिक दुरी कायम राख्ने नियम लागु गरेको छ। 

हालै लकडाउन हटाएको स्पेनमा शुक्रबार एकैदिन एक हजार ५२५ जना नयाँ संक्रमित फेला परेका छन्। 

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले लकडाउन खुकुलो गर्ने निर्णयलाई दुई साता पर धकेलिदिएका छन्। तत्कालका लागि अधिक सावधानी अपनाउन जरुरी रहेको उनले बताएका छन्। 

भारतमा एकैदिन अहिलेसम्मकै धेरै संक्रमित भेटिएका छन्। त्यहाँ शुक्रबार मात्रै ५५ हजार ७८ जना संक्रमित थपिएका हुन्। 

शुक्रबार विश्वभर दुई लाख ९२ हजार ५२७ जना संक्रमित थपिएका छन्। यो पनि एकैदिन पहिचान भएका अहिलेसम्मकै धेरै संक्रमित संख्या हो। यसअघि जुलाई २३ तारिखमा एकैदिन दुई लाख ८४ हजार १९६ जना संक्रमित फेला परेका थिए।

अहिलेसम्म विश्वभर एक करोड ७५ लाख सात हजार ३५९ जना संक्रमित पहिचान भएको छ। यी मध्ये ६ लाख ७७ हजार ५३८ जनाको ज्यान गएको छ। 

अमेरिकामा अन्यत्रभन्दा धेरै संक्रमित भेटिएका छन् र ज्यान गुमाउनेको संख्या पनि धेरै छ। त्यहाँ अहिलेसम्म ४५ लाख ५८ हजार ९९४ जना संक्रमित फेला परेका छन्। एक लाख ५३ हजार २६८ जना संक्रमितले ज्यान गुमाएका छन्। 

दोस्रो स्थानमा रहेको ब्राजिलमा २६ लाख ६२ हजार ४८५ जना संक्रमित पहिचान भएको छ भने ९२ हजार ४७५ जनाको ज्यान गएको छ। 

तेस्रो स्थानमा रहेको भारतमा १६ लाख ३८ हजार ८२७ जना संक्रमित भेटिएका छन्। त्यहाँ ३५ हजार ७४५ जना संक्रमितको ज्यान गइसकेको छ।

 विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महासचिव टेड्रोस अदोनम गेब्रेसिसले कोरोना महामारीको असर विश्वमा दशकौंसम्म कायम रहने बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.