|

सिमरा : जिल्ला प्रशासन कार्यालय बाराले भोलिदेखि लागू हुनेगरी  बढी भिडभाड हुने स्थानहरू तोकेर अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको छ।

छिमेकी जिल्ला पर्सामा समुदायस्तरमा कोरोना भाइरसको संक्रमण देखिएको र बारामा समेत जोखिम बढ्दै गएको भन्दै स्थानीय प्रशासनले भिडभाड हुने स्थानहरूमा भोलि (आइतबार)बिहान ५ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको हो। शुक्रबार साँझ बसेको जिल्ला सुरक्षा समितिको बैठकले आमनागरिकको जीवन रक्षा तथा रोगको संक्रमणलाई नियन्त्रण गर्न अत्यावश्यक कामबाहेक भेला हुन तथा घर बाहिर निस्कन प्रतिबन्ध लगाएको छ।

स्थानीय प्रशासनले निषेधाज्ञामार्फत ‘पर्सा तथा बारा जिल्ला जोड्ने हुलाकी लोकमार्ग पर्ने सबै स्थानीयतहहरु, कलैया बजार क्षेत्र, पथलैया–वीरगञ्‍ज औद्योगिक करिडोर पर्ने जीतपुर, सिमरा, पथलैया, परवानीपुर, नितनपुर, निजगढ, कोल्हवी, सिम्रौनगढ, बरियापुरलगायत अत्याधिक भिडभाड हुने तथा हाटबजार लाग्ने ग्रामीण क्षेत्रहरुमा निषेधाज्ञा लागू गरिएको छ।’

निषेधाज्ञा अवधिभर अत्यावश्यक सेवामा संलग्न रहेका सरकारी तथा सार्वजनिक संस्थानबाहेक अन्य सेवा प्रवाह गर्ने कार्यालयहरु बन्द गर्ने निर्णयमा उल्लेख छ। निषेधित क्षेत्रभित्र कुनै पनि धार्मिक, सांस्कृतिक, सामाजिक कार्यहरु(विवाह, व्रतवन्ध, भोजभतेर) गर्न समेत प्रतिबन्ध लगाइएको छ।

यस्तै छिमेकी मुलुक भारतसँग जोडिएका सीमा नाकाहरूमा आवातजावत पूर्णरुपमा बन्द गर्ने निर्णयसमेत बैठकले गरेको छ। पछिल्लो समय पर्सामा कोरानो सक्रमण समुदायस्तरमा फैलिएपछि पथलैया– वीरगञ्ज करिडोरका उद्योगहरुमा कार्यरत अधिकांश कर्मचारीहरू वीरगञ्जबाट आउजाउ गर्दा बाराका पनि कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ। करिडोरका उद्योगीहरुले लुकाई छिपाई भारतबाट मजदुर ल्याएर काममा लगाएको स्थानीयहरूले आरोपसमेत लगाएका छन्।

पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कार्कीले करिडोरका अधिकांश उद्योगहरू बारा जिल्लामा भए पनि उद्योग मालिक र कर्मचारीहरूको बसोबास वीरगञ्जमा भएकोले काममा आउजाउ गर्दा दुवै जिल्ला संक्रमणको उच्चजोखिममा रहेको बताए। उद्योग प्रशासनले पटक-पटक अटेर गर्दै आए पनि स्थानीय प्रशासन बाराले उद्योगी व्यवसायीहरूले कलकारखाना सञ्चालन गर्दा कामदारलाई आफ्नो उद्योग, कलकारखाना परिसर भित्रको होस्टल तथा क्वाटरमा राखेर स्वास्थ्य सुरक्षा मापदण्ड कायम गर्नुपर्ने बैठकले निर्णय गरेको छ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.