|

पाल्पा : लगातारको वर्षाले सिद्धार्थ राजमार्ग भासिएको छ। तानसेन–बुटवल सडकखण्डअन्तर्गत तिनाउ गाउँपालिका ३ स्थित झुम्सा र पानी मिलको बीचमा पर्ने राजमार्ग भासिएको हो।

पिच सडक चिराचिरा परेर भासिएको छ। बिहीबार समान्य भासिएको राजमार्ग शनिबार थप भासिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक दीपकराज खरेलले बताए। उनका अनुसार ठूला सवारी साधन आवतजावत गर्न सक्ने अवस्था छैन। चार पाङग्रे हलुका सवारी साधन जेनतेन चल्न सक्छन्। 

भासिएको ठाउँमा जोखिम रहेकोले चारपाङग्रे हलुका सवारीबाहेक ठूला सवारी साधन सञ्चालनमा रोक लगाएको उनले बताए। अर्को सूचना जारी नहुँदासम्मका लागि शनिबार दिउँसोदेखि ठूला सवारी सञ्चालनमा रोक लगाइएको हो। 

वैकल्पिक उपाय खोजेर सवारी साधन सञ्चालन गर्न प्रहरी उपरीक्षक खरेलले अनुरोध गरे। पहिरो र भासिएको ठाउँमा जोखिम रहेकाले थप क्षति हुन नदिनका लागि तत्काललाई यस्तो निर्णय लिनुपरेको उनले बताए। 

मालबाहक ट्रक, बससहितका ठूला सवारी साधनलाई यो सडकखण्ड हुँदै आवतजावत गर्न रोक लगाइएको हो। यो सडकखण्ड हुँदै बुटवलदेखि पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, बागलुङ, पर्वत, कास्कीलगायतका ठाउँमा ठूला मालवाहक र यात्रुवाहक सवारी साधन चल्ने गर्छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.