|

काठमाडौं :  चिकित्सकहरूले  कोरोना भाइरस ( कोभिड १९ )  रोकथामका लागि सरकारले प्रभावकारी काम गर्न नसके संक्रमण ‘रोग’को रुपमा फैलन सक्ने बताएका छन्। सरकारले कोभिड १९ रोकथामका लागि गरेको कामको प्रकृति हेर्दा केही हप्ताभित्र नै संक्रमण ‘रोग’को रुपमा फैलन सक्ने संकेत देखिएको चिकित्सकहरुले बताएका हुन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ चिकित्सक डा सुन्दरमणि दीक्षितले अहिलेसम्म कोभिड १९ को संक्रमण रोगको रूपमा नदेखिएको तर समुदायस्तरमा फैलिँदै गए रोगको रुपमा देखापर्न सक्ने बताए।

कोभिड रोकथामका लागि सरकारले गरेको कामलाई हेर्दा अवको केही दिनभित्रै संक्रमण रोगको रुपमा देखा पर्ने निश्चित भएको डा दीक्षितले बताए। उनले सरकारले पिसिआर परीक्षणलाई बढाउँदै लैजानुपर्नेमा घटाउँदै लगेको र समुदायमा संक्रमण देखिँदै गएकाले स्थिति भयावह बन्न सक्ने चेतावनी दिए।

यस्तै,इपिमिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख एवं सरुवा रोग विशेषज्ञ डा बाबुराम मरासिनीले संक्रमण एकठाउँबाट अर्को ठाउँमा जाने अवस्थाबाट जोगाउनुपर्ने बताए। संक्रमण देखिएको क्षेत्रबाट नदेखिएको क्षेत्रमा आवतजावतमा कडाइ गर्नुपर्ने र काठमाडौं उपत्यकासहित सीमा क्षेत्रमा रहेका बस्तीमा परीक्षणको दायरा बढाउनुपर्ने बताए।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवारोग विशेषज्ञ डा अनुप बास्तोलाले मानिसहरुको आवागमनलाई व्यवस्थित बनाउन नसके काठमाडौं उपत्यकाको अवस्था केही हप्ताभित्रै भयावह हुनसक्ने बताए । उनले जोखिमयुक्त ठाउँबाट आएका मानिसहरु क्वारेन्टाइनमा नबस्दा नै समुदायस्तरमा संक्रमण फैलिएको बताए। संक्रमण रोकथामको उपाय लकडाउन मात्रै नभएकाले आवश्यक सावधानी सबैले अपनाउनुपर्नेमा डा। बास्तोलाले जोड दिए।

सरकारले लकडाउन खोलेपछि मानिसहरुको आवागमन पनि बढेको छ। जसले गर्दा समुदायस्तरमा संक्रमणका केसहरु देखिएका छन्। तर पीसीआर परीक्षणलाई अझै बढाएको देखिदैन्। जसले गर्दा संक्रमण समुदाय स्तरमा भित्रभित्रै फैलिदै जाने र स्थिति थप जटिल बन्न सक्ने जोखिम बढेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.