|

कञ्चनपुर : अस्पतालबाट फर्किएका भीमदत्त नगरपालिका–३ र वडा नम्बर ७ का तीन कोरोना संक्रमित आज फेरि अस्पताल भर्ना भएका छन्। उनीहरुलाई महाकाली अस्पतालबाट घर पठाइएको थियो। 

शुक्रबार अस्पतालबाट घर फर्किएका वडा नं  ७ का दुई र ३ का एक जनालाई आधारभूत स्वास्थ्य उप शाखाको सहयोगमा पुनः अस्पताल भर्ना गरिएको हो। घर फर्किएका तीन जनाले अस्पतालका चिकित्सकलाई साउन ४ गते स्वाब संकलन गरिएको मिति बताएपछि उनीहरुलाई घर पठाइएको थियो।

अस्पतालाई स्वाब संकलनको समय ढाँटेर घर लगेको जानकारी बाहिर आएपछि नगरपालिका उनीहरुको खोजीमा जुटेको थियो। ‘साउन ४ गते स्वाब संकलन गरिएको हो भनेर भनेपछि १४ दिन पुगेको ठानेर अस्पतालले छाडेको रहेछ’, भीमदत्त नगरपालिका स्वास्थ्य उपशाखाका स्वास्थ्य अधिकृत भीम सिंह महराले भने, ‘घर फर्किएको जानकारी आएपछि तत्काल खोजी गरी प्रहरी लगाएर अस्पताल ल्याएका हौ।’

स्वास्थ्य उपशाखाका अनुसार उनीहरुको साउन ७ गते मात्रै स्वाब संकलन गरिएको थियो। भीमदत्त नगरपालिकामा उनीहरु सहित २५ जना कोरोना संक्रमित छन्। धुलिखेल अस्पतालमा गरिएको जाँचले शुक्रबार १९ जनामा संक्रमण देखिएको थियो। अहिले उनीहरु सबैलाई आइसोलेसनमा राखिएको छ। 

भीमदत्त नगरपालिकाको आधारभूत स्वास्थ्य उप शाखाका स्वास्थ्य अधिकृत महराले संक्रमण देखिएपछि संक्रमित व्यक्तिको सम्पर्कमा रहेका अन्यको खोजी भइरहेको बताए। 

वडा सिल 

कञ्चनपुरको भीमदत्त नगरपालिकाको १३ नम्बर वडालाई शनिबारदेखि सिल गरिएको छ। वडा कार्यालयले शनिबार राति १२ बजेदेखि एक साताका लागि वडा सिल गरेको हो। वडामा ६ जनामा कोरोना संक्रमण देखिएपछि वडालाई सिल गरिएको छ। वडामा देखिएका संक्रमितहरु होम क्वारेन्टाइनमा बस्दै आएका थिए। उनीहरुका कारण समुदायमा त्रास फैलिएको छ।

नगरपालिका १३ का अध्यक्ष लाल बहादुर शाहीले अत्यावश्यक सेवाबाहेक वडामा सबै बन्द गरिएको बताए। अध्यक्ष शाहीका अनुसार संक्रमण देखिएका सबैका घर पूर्ण रुपमा सिल गरिएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.