|

बाग्लुङ : कोरोना प्रभावित क्षेत्रबाट आउनेको संख्या घटेसँगै बाग्लुङका क्वारेन्टाइनहरु खाली हुन थालेका छन्। भारत र तेस्रो मुलुकबाट आउनेहरुको संख्या पछिल्लो दुईसाता यता ह्वात्तै घटेको जिल्ला कमाण्ड पोष्टले जनाएको छ।

एकै दिन ३०० जनासम्म भित्रिएको तथ्यांक रहेको बाग्लुङमा पछिल्लो दुई साता यता दैनिक चार÷पाँचजना मात्रै भित्रिने गरेका छन्। क्वारेन्टाइनमा बसेकाहरुको कोरोना परीक्षण भैरहेको र बाहिरबाट आउने  घटेका कारण क्वारेन्टाइन खाली हुँदै गएको कमाण्ड पोष्टका प्रवक्ता सुरज गुरौले बताए।

पछिल्लो तथ्यांक अनुसार जिल्लाभर रहेका क्वारेन्टाइनमा २२० जना मात्रै छन्। सक्रिय संक्रमितको संख्या जिल्लाभर ३३ जना रहेको गुरौले जानकारी दिए। संक्रमित २४५ जनामध्ये २११ जना निको भएर घर फर्किएका छन्।

क्वारेन्टाइनमा बसिरहेकामध्ये १०० जनाको नमुना संकलन भैसकेको छ। ‘१०० जनाको रिपोर्ट आउन बाँकी छ, सायद उहाँहरुको पनि जाँच भैसकेको हुनुपर्छ, इन्ट्रीमा समय लागेको होला,’ गुरौले भने, ‘थपिनेको संख्या कम रहेकाले जाँच हुनेको संख्या पनि घट्दै गएको छ।’

बाग्लुङमा दुई हजार १८६ बेड क्षमता रहेका क्वारेन्टाइन निर्माण भएका छन्। उक्त क्वारेन्टाइनहरुमा बसेर हालसम्म तीन हजार २६० जना घर फर्किसकेका छन्। ‘पहिले गाउँपालिकाका विद्यालयमा राख्दा समेत धान्न गाह्रो भयो,’ काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले भने, ‘अहिले एउटा बालविकास र एउटा विद्यालयमा राखिएको छ, बाहिरबाट आउनको संख्या घट्यो।’

क्वारेन्टाइनमा बस्नेको संख्या घटेसँगै स्थानीय सरकारलाई पनि राहत भएको छ। ‘उद्धारदेखि व्यवस्थापनमा केही समय निकै कठिन थियो,’ बरेङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले भने, ‘संख्या घट्दा व्यवस्थापन पनि सहज भएको छ।’

तेस्रो मुलुकबाट आउनेको सरकारले उद्धार गरिरहेको भए पनि बाग्लुङमा ठूलो संख्या नरहेको कमाण्ड पोष्टले जनाएको छ । सक्रिय संक्रमितहरुको उपचारका लागि बनाइएका १९१ आइसोलेसन बेडमध्ये अहिले जिल्लाभर ३३ बेडमा मात्रै बिरामी छन्। सबैभन्दा कम धौलागिरी अस्पतालमा दुईजना र सबैभन्दा धेरै धौलागिरि बहुमुखी क्याम्पसमा ११ जना संक्रमितको उपचार भैरहेको स्वास्थ्य कार्यालय बाग्लुङले जनाएको छ।

नेपाल सरकारको प्रोटोकलमा परेका तीन हजार ८४३ जनाको पिसिआर परीक्षण भएको छ भने आरडिटी परीक्षण गर्नेको संख्या दुई हजार ५२ रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.