|

दमौली : विभिन्न मुद्दामा जिल्ला अदालत तनहुँबाट सजाय पाएका तीन फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयले भवितव्य ज्यान मुद्दाका फरार दुई जनालाई पाँच र जारी मुद्दाका एक फरार प्रतिवादीलाई नौ वर्षपछि आइतबार पक्राउ गरेको हो।

म्याग्दे गाउँपालिका-३ ठूलाचौर बस्ने ३१ वर्षीय सूर्य सुनार र व्यास नगरपालिका-१० डिहीगाउँ बस्ने ३० वर्षीय रविन मगरलाई निजहरूको घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए। 

जिल्ला अदालतको विसं २०७२ भदौ २३ गतेको फैसलाले निजहरूविरुद्ध जनही एक वर्ष कैद र ३०० रुपैयाँ जरिवाना तिर्नुपर्ने फैसला गरेको थियो। निजहरूले गरेको पुनरावेदनले उक्त फैसलाउपर जनही छ महिना कैद र ३०० रुपैयाँ जरिवाना तोकिएको थियो। कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका दुई जनालाई अदालत पेश गरिएकामा कैद भुक्तानका लागि कारागार कार्यालय  चलान गरिएको प्रहरीले जनाएको छ। 

यसैगरी शुक्लागण्डकी नगरपालिका-७ बस्ने नवीनलाल श्रेष्ठलाई निजकै घरबाट पक्राउ गरिएकोे छ। उनीविरुद्ध जिल्ला अदालतको विसं २०६८ वैशाख २१ गतेको फैसलाले एक महिना कैद र एक हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो। उनलाई पनि कैद भुक्तानका लागि कारागार चलान गरिएको छ। 

विभिन्न अपराध एवं मुद्दामा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगोसमेत तिर्न बाँकी भएका व्यक्तिको खोजीकार्यलाई प्रहरीले तीव्र पारेको छ। गतअसार तेस्रो सातादेखि मात्रै जिल्लामा २३ जना फरार प्रतिवादी पक्राउ परिसकेका छन्। सवारी ज्यान, ज्यान मार्ने उद्योग, बहुविवाह, लागुऔषध, अवैध काठ ओसारपसार लगायतका मुद्दामा अदालतबाट सजाय पाएर फरार रहेका प्रतिवादीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.