क्वाँटी खाने र भ्यागुता पूजा पनि गरिँदै

|

भक्तपुर : आज जनै पूर्णिमा। नेवार समुदायले नौ थरी गेडागुडीको मिश्रणबाट बनेको विशेष प्रकारको क्वाँटी खाने दिन। आजै खेतबारीमा गएर भ्यागुताको पूजा गरी भोजन गराउने प्रचलन समेत रहेको छ।

नेवार समुदायमा जनै पूर्णिमालाई गुन्हु पुन्ही नामले परिचित छ। जनै पूर्णिमाको अवसरमा नेवार समुदायमा मास, मुगी, चना, केराउ, बोडी, सिमी, भटमास, बकुल्लालगायत नौ थरी गेडागुडीको मिश्रणबाट बनेको विशेष प्रकारको क्वाँटी खाने प्रचलन छ।

क्वाँटी खानाले शरीरमा तागत आउने र स्फूर्ति बढ्ने विश्वास छ। गेडागुडी पोषणयुक्त आहार हो।  वर्षातमा रोपाइँ र धान गोडमेलको बेला तातो र पोषणयुक्त आहार आवश्यक पर्दछ। त्यसैले जनै पूर्णिमामा क्वाँटी खाने प्रचलन रहेको संस्कृतिविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले बताउँछन्।

नेवार समुदायमा समय अनुसारको चाडपर्व र चाडपर्व अनुसारका खानेकुरा खाने प्रचलन छ। खाद्यन्न विज्ञान र प्रकृतिको अनुपम मिलन नेवारी समुदायको चाडपर्वमा रहेको प्रा.डा. श्रेष्ठको कथन रहेको छ। सिठी नखःमा मास मुगीको बारा, माघे संक्रान्तिमा चाकु, गणेश चतुर्थीमा काँक्रो, नासपाती खाने प्रचलन रहेको छ। 

प्रा.डा. श्रेष्ठ भन्छन्, ‘नेवार समुदायको प्रमुख पेशा कृषि भएकाले कृषि कर्म गर्नेहरुको शरीरलाई सधैं स्वस्थ, ताजगी, तन्दुरुष्त र स्फुर्त राख्न आवश्यक भएकाले पनि नेवार समुदायमा मौसमअनुसारको आहार खाने प्रचलन रही आएको हो।’

भ्यागुताको पूजा

आजै नेवार समुदायले वर्षा गराउन मद्दत गर्ने भ्यागुतालाई समेत पूजा गर्ने प्रचलन छ। कृषकको मुख्य बाली धान लगाउने बेला पानी पार्न मद्दत पुर्‍याउने जीवको रुपमा भ्यागुतालाई लिने गरिन्छ। नेवारहरुले प्राकृतिक देवताका रुपमा भ्यागुतालाई विभिन्न परिकारका भोजन खुवाउने गर्दछ। 

वर्षा गराउने दुत तथा खेतबारीको शत्रु कीरा मारेर अन्न उब्जाउन सहयोग    गर्ने प्राकृतिक देवताका रुपमा पातमा चामल, क्वाँटीलगायतका खाद्य परिकार राखेर खेत खेतमा गई भ्यागुतालाई पूजा गर्ने तथा भोजन गराउने परम्परा रहेको चलेको प्रा.डा. श्रेष्ठले बताए। 

भ्यागुतालाई भोजन गराउने प्रचलनलाई नेपाल भाषामा व्याँचा जाः नक वानेगु भनिन्छ। भ्यागुता मानिसको एक महान् गुरुमध्ये एक भएको प्रा.डा. श्रेष्ठले बताए। गुरुलाई पूज्ने अवसरको रुपमा नेवार समुदायले भ्यागुता पूजा गर्ने र खाना खुवाउने प्रचलन छ।

रोपाइँको समयमा कृषकहरुले खेत खन्दा मरेका कीरा, फट्याङ्गग्रा र भ्यागुतालाई मारेको दोष निवारण गर्न र पाप मोचन गर्न पनि आजका दिन भ्यागुतालाई पूजा र भोजन गराउने प्रचलन रहेको प्रा.डा. श्रेष्ठ बताउँछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.