|

बैतडी : डिभिजन वन कार्यालय बैतडीले गत वर्ष जिल्लामा ७३ हजार बोटबिरुवा नि:शुल्क वितरण र रोपण गरेको छ। वातावरण संरक्षण र स्थानीयको जीविकोपार्जनमा सघाउ पुर्‍याउन बिरुवा वितरण गरिएको डिभिजनल वन अधिकृत केशव पराजुलीले जानकारी दिए। 

प्रदेश सरकारले विनियोजन गरेको ४५ लाख रुपैयाँ बजेटमा नर्सरी निर्माण, बोटबिरुवा उत्पादन, ढुवानी र रोपण गरिएको हो। जिल्लाका विभिन्न ४ स्थानमा रहेका नर्सरीमा बोटबिरुवा हुर्काएर वितरण गरिएको पराजुलीले बताए‌। 

डिभिजन वन कार्यालय गोठलापानी, सव-डिभिजन कार्यालय हाट, सव-डिभिजन कार्यालय गाँजरी र सव-डिभिजन कार्यालय गोकुलेश्वरमा रहेको नर्सरीबाट बोटबिरुवा वितरण गरेको हो।

उपभोक्तालाई वितरण गरिएका बिरुवाहरू व्यक्तिगत र सामुदायिक वनमा रोपिएको छ। यस्तै, सार्वजनिक स्थानहरूमा पनि बिरुवा लगाइएको छ। जिल्लाको १५ हेक्टर क्षेत्रफलमा बोटबिरुवा रोपिएको डिभिजन वन कार्यालयले जानकारी दिएको छ। 

उत्पादन र पैदावार बेचेर आर्थिक उपार्जन गर्न मिल्ने लप्सी, रिठ्ठा, अमला, टिमुर र बाँसलगायत बोटबिरुवा वितरण गरिएको हो। यस्तै, हिउँदयाममा लगाउनका लागि २० हजार वटा ओखरका बिरुवा तयार हुँदै गरेको कार्यालयले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.