|
फाइल फोटो

तनहुँ : बाढी पहिरोका कारण तनहुँमा १५६ घरपरिवार विस्थापित भएका छन्।  घर भत्किएका र उच्च जोखिममा रहेका घरपरिवार विस्थापित भएका हुन्।

विस्थापितहरुलाई छिमेकीको घर, सामुदायिक भवन र विद्यालयमा स्थानान्तरण गरिएको छ। असारको अन्तिम र साउनको पहिलो साता परेको अविरल वर्षापछि गएको पहिरोका कारण ती घरपरिवार विस्थापित भएका हुन्। सयौं घरमा क्षति पुगेको छ।

तनहुँका चार नगरपालिका र छ गाउँपालिकामध्ये ऋषिङ गाउँपालिका, व्यासनगरपालिका र म्याग्दे गाउँपालिमा मानवीयसहितको क्षति भएको छ। म्याग्दे गाउँपालिकामा ८० घरपरिवार विस्थापित भएका छन्। उनीहरुमध्ये केहीलाई छिमेकी र सामुदायिक भवनमा व्यवस्थापन गरिएको छ । वडा नम्बर ६ का १५ वर्षीया लक्ष्मी विकको पहिराले पुरिएर ज्यान गएको थियो । पानी परिरहेकोले उच्च जोखिममा रहेका घरका मानिस दिउँसो बस्ने र रातको समयमा छिमेकी कहाँ गएर सुत्ने गरेको गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले जानकारी दिए।

त्यसैगरी बन्दिपुर गाउँपालिकामा १६ घरपरिवार विस्थापित भएका छन्। पहिराले ३० घरमा आंशिक क्षति पुगेकोे गाउँपालिकाका अध्यक्ष पुर्णसिं थापाले बताए। पूर्ण क्षति भएका परिवार छिमेकीको घरमा आश्रय लिन बाध्य भएका छन्। 

उनले भने, ‘पूर्ण रुपमा घर क्षति भएकालाई ३० हजार रुपैयाँ र राहत दिइएको छ।’ पहिरोले उच्च जोखिम र आंशिक क्षति पुगेकालाई दश हजार र बाढीले कटान र बगर बनाएको खेतलाई प्रतिरोपनी दुई हजार रुपैयाँ प्रदान गरिएको छ।

यसैगरी देवघाट गाउँपालिकामा १५ परिवार छिमेकीको घरमा सुरक्षित बस्दै आएका छन्। मानवीय क्षति नभएपनि फलफूल र खेतीबालीमा धेरै क्षति भएको अध्यक्ष दुर्गबहादुर थापाले बताए।

शुक्लागण्डकी नगरपालिकामा १३ परिवार छिमेकीको घर र सामुदायिक भवनमा शरण लिएर बस्दै आएका छन्। शुक्लागण्डकीको बाह्र  मध्ये २, ४, ५ र ८ वडामा पहिरोले क्षति नभएको र अन्य आठ वडामा क्षति पुगेको शुक्लागण्डकी नगरपालिकाका प्रवक्ता खिम कुमालले जानकारी दिए। नगरपालिकामा मानवीय क्षति नभए पनि सबै वडामा चार वटा टोली बनाएर बाढी पहिराले पु¥याएको क्षतिको विवरण सङ्कलन गरिएको छ।

भानु नगरपालिकाको वडा नम्बर २ र ३ मा गरी १० घरपरिवार पहिराको उच्च जोखिममा रहेकोले स्थानीय छिमेकीको घरमा बस्दै आएका छन्। 

आँबुखैरेनी गाउँपालिमा सात घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। वडा नम्बर १, २ र ६ का ७ घरपरिवार कोही छिमेकीको घरमा र कोही सामुदायिक भवनमा बस्दै आएको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले बताए।

त्यसैगरी व्यासनगरपालिकामा ६ घरपरिवार विस्थापित भएका छन्। करिब ५० घर उच्च जोखिममा रहेको नगरपालिकाका वातावरण तथा विपद् व्यवस्थापन प्रमुख विमल गिरीले जानकारी दिए। उनले भने, ‘यस नगरपालिकामा पहिरामा परेर पाँच जनाले ज्यान गुमाएका छन्।’

ऋषिङ गाउँपालिकामा–६ घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए। उक्त वडाको ऋषिङ—८ भैसीकिलीका अम्बरबहादुर थापाको पाँच जनाको पहिरामा परेर मृत्यु भएको थियो। त्यसैगरी भिमाद नगरपालिकाका नगरप्रमुख मेखबहादुर थापाले तीन घर परिवार विस्थापित भएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.