सहमति सचिवालय कि स्थायी कमिटी बैठकबाट?

|

काठमाडौं : सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवादलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफल निष्कर्षविहीन भएको छ। 

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच सहमति जुट्न नसकेपछि बैठक बिना निष्कर्ष टुंगिएको हो। 'प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले आफ्नो अडान छाड्नु भएन', छलफलमा सहभागी एक नेताले भने, 'दुवै आफ्नै अडानमा यथावत् रहनुभयो। त्यसैले सहमति जुट्न सकेन।'

आजको छलफलमा पनि प्रधानमन्त्री ओलीले महाधिवेशनतर्फ अघि बढ्न भनेका थिए। 'प्रधानमन्त्री ओलीले पार्टीभित्रको समस्या समाधानका लागि महाधिवेशनलाई नै केन्द्रित गरेर सचिवालयमार्फत छलफल गरेर अघि बढ्दौ भन्‍नुभयो', ती नेताले भने, 'तर, अध्यक्ष दाहालले स्थायी कमिटीको बैठकमा गएर छलफल गरौं भन्‍ने कुरा गर्नुभयो। त्यसैले सहमति जुटेन।'

आज पनि प्रधानमन्त्रीले दुवै पदबाट राजीनामा दिन नसक्ने बताउँदै यसको छिनोफानो महाधिवेशनबाटै गर्नुपर्ने अडान राखेका थिए। 'प्रधानमन्त्री ओलीले अडानबाट पछि नहट्ने बताउनुभएको छ। उहाँ मंसिरमा गर्ने महाधिवेशनमा सहमति हुन सक्ने बताउनभुयो', ती नेताले भने, 'राजीनामाको कुरा सम्भव नहुने र मंसिरमा गर्ने महाधिवेशनबारेमा चाहिँ सहमति हुन्छ भने केन्द्रीय कमिटीको निर्णयानुसार जान सकिने बताउनुभयो। तर अध्यक्ष दाहालले अहिलेको अवस्थामा ओलीले नै निकास दिनुपर्ने बताउनु भएको थियो।'

ओली-दाहालबीच आइतवार पनि  तीन घण्टा छलफल भएर कुनै निकास निस्किएको थिएन। दुवै नेताहरुले आफ्नो अडानबाट पछि नहट्ने बताएपछि आइतबारको बैठक सकिएको थियो। 

आइतबारको बैठकपछि अध्यक्ष दाहालले आफूनिकट नेतालाई खुमलटार बोलाएर त्यसबारे जानकारी गराएका थिए। अध्यक्ष दाहालले खुमलटारमा वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठसँग भएको छलफलमा ओलीको अडानबारे संवाद गरेका थिए। आजको बैठकले पनि कुनै निष्कर्ष ननिकालेपछि भोलि ५ बजे बस्‍ने गरी नेताहरु उठेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.