आल्चा पकेट क्षेत्र नै घोषणा गरी उत्पादन थालिने

|

सोलुखुम्बु : खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ वुइपाका स्थानीयले तीनपाने रक्सीलाई व्यावसायिक उत्पादन सुरु गरेका छन्। कानुनी अड्चानका बाबजुद पनि उक्त वडाका स्थानीयले २०७६ सालदेखि नै व्यावसायिक रुपमै आल्चाको तीनपाने रक्सी उत्पादन गरिरहेका छन्।

वुइपा छापगाउँ, फुलेली, गुरुङगाउँ र बुइपाबजार टोलमा उत्पादन हुने आल्चाबाट बोतलमा स्टिकर नै राखेर लोकल रक्सी उत्पादन थालिएको हो।  वडा कार्यालयको पहलमा गत वर्ष वाइन उत्पादनको प्रयास गरिएकोमा यस वर्ष तीनपाने रक्सीकै उत्पादन सुरु गरिएको वडाध्यक्ष दिनेश राईले बताए।

छापगाउँ महिला वडा समितिले उत्पादन गरेको लोकल रक्सी पञ्चरदोबाटोमा बनाइएको संकलन केन्द्रमा ल्याएर जम्मा गर्ने र मागका आधारमा ग्राहकलाई उपलब्ध गराउने व्यवस्था मिलाइएको छ। 

प्रगति टोल कृषक समूहमा आबद्ध किसानले पनि यसखाले रक्सी उत्पादन गरिरहेका छन्।​ बुईपामा पुरानो बोटबाटै वार्षिक पाँच टन आल्चा उत्पादन हुने गरेको छ। तर बजार भाउ नपाउँदा खेर गइरहेका आल्चालाई सदुपयोग गर्न लोकल रक्सी उत्पादन गर्न थालिएको स्थानीय बताउँछन्। 

वाइन उत्पादनका लागि लाइसेन्स लिन खोज्दा झमेला भएपछि बिनालाइसेन्स नै रक्सी उत्पादनमा लागिएको वडाध्यक्ष राईले बताए। अन्य विदेशी रक्सी खुलमखुला बिक्री हुँदा लोकल रक्सीमाथिको प्रतिबन्ध न्यायिक नभएको वडाध्यक्ष राई बताउँछन्। 

बुइपालाई आल्चा पकेट क्षेत्र बनाइने

आल्चा अधिक उत्पादन हुने बुइपालाई पकेट क्षेत्रका रुपमा विकास गर्ने तयारी गरिएको छ। प्रदेश सरकारको सहयोगमा २० हजार बोट आल्चा लगाउने तयारी गरिएको वडाध्यक्ष राईले बताए। गत सालबाटै एक घरमा ५० बोट आल्चा लगाउने, सय बोटभन्दा बढी आल्चा लगाए प्रतिबोट सय रुपैयाँ दिने निर्णय नै गरिएको वडा कार्यालयले उल्लेख गरेको छ। 

लोकल रक्सीको प्रवद्र्धन र प्रोत्साहन गर्न कानुनी मान्यता प्रदान गर्ने व्यवस्थाका लागि किरात राई यायोक्खा खोटाङले साउन १६ गते प्रधानमन्त्रीलाई एकटुक्से रक्सीसहित ज्ञापनपत्र पठाएका थिए। यस्तै प्रदेश नम्बर १ को संसदमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा गत असार १५ गते रक्सीलाई ‘ब्यान होइन ब्राण्ड’ बनाउनुपर्ने भन्दै प्रदेशसभा सांसद उषाकला राईले आवाज उठाएकी थिइन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.