कोरोना उपचार केन्द्र थपिदैं

|

काठमाडौं : विराटनगर महानगरपालिका क्षेत्र भित्र दिनप्रतिदिन कोरोना संक्रमित बढदै गएको छ। संक्रमितको संख्या बढेपछि महानगर क्षेत्र भित्र लकडाउन जारी गरिएको छ।विराटनगर क्षेत्रमा कोरोना फैलनुमा खुला सीमा र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना नगर्नु हो। लकडाउन खुलेपछि महानगर बासीले सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्डको प्रोटोकल नअपनाउँदा संक्रमणको दर उच्च दरमा फैलँदै गइरहेको छ।

विराटनगर महानगरपालिकामा देखिएका अधिकांश संक्रमितको ट्राभल हिस्ट्री छैन। महानगरका बासिन्दामा कसरी संक्रमण फैलिन सफल भयो त्यसको जानकारी कसैसँग छैन। संक्रमित थपिएकाको कसैको पनि कन्टयाक ट्रेसिङ पत्ता नलागेकाे विराटनगर महानगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्की बताउँछन्। 

'केन्द्र र प्रदेश सरकारले कोरोना नियन्त्रणमा सहयोग भएन'

महानगरपालिका भित्र कोरोना संक्रमण समुदायमा गइसकेको विराटनगर महानगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्की बताउँछन्। चिया पसलदेखि,सवारी चालक,स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमा समेत कोरोना पुष्टि भइसकेकाले विराटनगर महानगरपालिकाको अवस्था भयावह हुने र समुदायमा कोरोना गइसकेको उनले आशंका गरे।

कोरोना नियन्त्रणको लागि स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालय संयुक्त रुपमा लागिरहेको उनले जानकारी दिए। महानगरबासिमा सबैलाई घरदेखि बाहिर नजानका लागि अनुरोध गरिएको उनले बताए। उनले भने,' दुई हप्ताको लागि लकडाउनको घोषणा गरिएको छ। केही समय सम्म लकडाउन कडाइका साथ पालन गरिनुपर्छ।'

महानगरपालिका भित्र बसोबास गर्ने मानिसले स्वास्थ्य सुरक्षाको मापदण्ड नअपनाउने हो भने कोरोना संक्रमितको संक्रमितको संख्या बढेर जाने उनको भनाइ छ। प्रदेश सरकार र केन्द्रिय सरकारले यस क्षेत्रमा कोरोना नियन्त्रणको लागि प्रभावकारी भूमिका नखेलेको उनले बताए।

उनले भने,' स्वास्थ्यकर्मी,व्यवस्थित क्वारेन्टाइन, आइसियु र आइसोलेसन बेड भएको अस्पतालको संख्या बढाउनुपर्छ।' महानगरले बाहिरबाट आएका मानिसलाई क्वारेन्टाइनको उचित व्यवस्थापन गरेर राखिरहेको उनले जानकारी दिए।

कोरोना उपचार केन्द्रमा आइसोलेसन बेडको अभाव

विराटनगर क्षेत्रमा देखिएका संक्रमितको संख्याले अस्पतालमा उपचार गर्नको लागि ठाउँको अभाव हुँदै गएको कोशी अस्पतालका अन्तर्गत कोभिड अस्पतालका कोरोना फोकल पर्सन ज्ञानबहादुर बस्नेतले बताए।

महानगरपालिका क्षेत्रमा संक्रमितको संख्या बढदै गएमा उपचार स्थलको अभाव हुने उनको भनाइ छ। जिल्लाको सिसिएमसी,प्रदेश सरकार र केन्द्र सरकारले कोरोना उपचारको लागि वैकल्पिक व्यवस्था नगरेमा अवस्था भयावह हुने उनले जानकारी दिए।

कोरोना उपचारको लागि औषधि निर्माण नभएकोले यसको लागि सबैभन्दा बढी नागरिक जिम्मेवार हुनुपर्ने उनले उल्लेख गरे। अस्पतालमा उपचाररत संक्रमितमा लक्षण सामान्य देखिएको उनले बताए। दैनिक जसो संक्रमित बढेकाले यसको नियन्त्रणको लागि लकडाउन र सरकारले जारी स्वास्थ्य सुरक्षाको मापदण्ड लागु हुनुपर्ने उनी बताउँछन्।

खुला सीमामा कडाइ गरिने

खुला सीमाका कारणले मानिसको ओहोरदोहोरमा कमी नआउनु र भारतबाट निर्वाध रुपमा विराटनगर क्षेत्रमा मानिसको प्रवेशले कोरोनाको प्रवेश पाएको हुन सक्ने मोरङ जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खडका बताउँछन्।

सहायक प्रमुख जिल्ला अधिकारी खडकाले भने,' सीमा नाकालाई पूर्ण रुपमा कडाइ गरिन्छ। उद्योग, कलकारखाना सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न दिने।' विराटनगर महानगर क्षेत्र भित्र लकडाउनको पालना भए नभएको स्थलगत अनुगमन गरिने उनले बताए। संक्रमित देखिएको वडालाई पूर्ण रुपमा सिल गरिने उनको भनाइ छ।

विराटनगर क्षेत्रका कोभिड उपचार केन्द्रका बेड भरिभराउ भए नयाँ संक्रमितलाई कहाँ लगेर उपचार गर्नुहुन्छ? भन्ने प्रश्नमा खडकाले भने,' यसभन्दा अगाडि विराटनगर महानगरपालिकाले क्वारेन्टाइनको लागि प्रयोग गर्दै आएको स्थानलाई कोभिड उपचार केन्द्र बनाइन्छ। नेपालको सबैभन्दा राम्रो क्वारेन्टाइन स्थल रहेको छ। हरेक संक्रमितलाई शौचालयको व्यवस्था सहितको उपचार केन्द्र छ।'

डब्लुएचओको कोरोनाको मापदण्ड अनुरुप विराटनगरमा कोरोना समुदायमा नगएको दाबी छ। तर, अहिले महानगरपालिका भित्र देखिएका मानिसलाई अध्ययन गर्ने हो भने समुदायमा कोरोना गइसकेको उनले बताए।

क्वारेन्टाइनमा बसेका मानिस बाहेकका मानिसमा संक्रमण फैलिएको उनको दाबी छ। संक्रमित कसैको पनि ट्राभल हिस्ट्री नभएको उनले स्वीकारे। घर भित्र बसेका मानिस र पसल गरेर बसेका मा संक्रमण देखिएको उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.