|

पर्वत : सदरमुकाम कुस्मामा रहेको पर्वत अस्पतालमा डायलासिस सेवा सुरु भएको छ। सोमबार कुस्मा नगरपालिका–३ दुर्लुङकी अमृता शर्माको मिर्गौलाको डायलासिस गरी सेवा सञ्चालन गरिएको हो।

१५ शय्या क्षमतामा सञ्चालन भएको अस्पतालले डायलासिस सेवा सञ्चालन गर्न कठिन हुने भए पनि गरिब र विपन्नता भएका बिरामीहरूले उपचारका लागि लाखौँ रुपैयाँ जुटाउन नसक्दा ज्यान गुमाउनु परेको अवस्थाका कारण चुनौती मोलेर नै सेवा सञ्चालन गरिएको अस्पताल विकास समितिका अध्यक्ष गोविन्द पहाडीले बताए।

अस्पतालमा चारवटा अत्याधुनिक मेशिनबाट डायलासिस सेवा सुरु गरिएको हो। यसअघि पर्वतका मिर्गौला रोगीहरु डायलासिस गर्न पोखरा, काठमाडौंलगायत जिल्लाबारिह जाने गरेका थिए। बाहिरी जिल्लामा उपचारका लागि जाँदा आफन्तकोमा बसेर उपचार गराउनेहरूलाई आर्थिक भार कम परे पनि होटेल खर्च, यातायात लगायतको असुविधा भएकाहरू सबैभन्दा बढी मर्कामा परेका थिए। जिल्लामा नै सेवा पाउने भएपछि डायलासिसकै लागि काठमाडौं रहेकी कुस्मा नगरपालिका–४ की एकजना बिरामी मंगलबार नै पर्वत फर्किन लागेकी छिन्। 

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाका अनुसार डायलासिस सेन्टरमा छजना स्टाफ नर्स, दुईजना मेडिकल अफिसर र एकजना प्राविधिक खटाएर २४ सै घण्टा सेवा प्रदान गर्ने तयारी थालिएको छ। तत्कालका लागि चारवटा मसिनबाट डायलासिस सुरु गरिए पनि आवश्यकताको आधारमा मेशिन थप गर्न सकिने पनि उनले बताए। 

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रममा नै समावेश भई आएको यो सेवाको लागि प्रदेशको सामाजिक विकास मन्त्रालयले बजेट विनियोजन गरेपछि डायलासिसका लागि आवश्यक उपकरणसहित तालिम प्राप्त चिकित्सकको व्यवस्था गरेर सेवा सुरु गरिएको हो। झन्डै १ करोड ३० लाख रुपैयाँको लगानीमा सञ्चालनमा आएको उक्त सेन्टरबाट दैनिक छजना बिरामीको नियमित डायलासिस गर्न सकिनेछ भने चारवटा मसिनबाट दुई सिफ्ट गरेर १२ जना बिरामीलाई जाँच सेवा दिन सकिनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.