|

सल्यान  ः कृषि विकास कार्यालय सल्यानले गत आर्थिक वर्ष २०७६/०७७ मा ६ किलोमिटर भन्दा बढी सिँचाई कुलो निमार्ण एवं मर्मत गरेको छ।  कार्यालयका अनुसार गत आ.व.मा ६ हजार ८ सय ८६ मिटर सिँचाई कुलो निमार्ण एवं मर्मत गरिएको छ। 

सिँचाई कुलो निमार्ण भएपछि तरकारी खेती, अन्य अन्नबालीमा सिँचाई गर्न सजिलो भएको किसानहरुको भनाइ छ।  ३ करोड ७४ लाख ७३ हजार एक सय रुपैयाँको लागतमा २५ वटा सिँचाई योजना सम्पन्न भएको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रेसमबहादुर बस्नेतले बताए।

निमार्ण भएका सिँचाई कुलोबाट ५ सय ८९ हेक्टर क्षेत्रफलमा सिँचाई पुगेको उनको भनाइ छ। उनले भने ‘नयाँ कुलोले १ सय २९ हेक्टर र बाँकी मर्मत गरिएको कुलोले ४ सय ६० हेक्टर क्षेत्रफल जमिनमा सहज तरिकाले सिँचाई सुविधा पुगेको छ।’ 

किसानलाई कृषिप्रति आकर्षित गर्न सिँचाइमा जोड दिइएको उनको भनाइ छ। सिँचाई सुविधाबाट गाउँमा कृषिको व्यवसायीकरणमा पनि टेवा पुग्ने बस्नेतको भनाइ छ। 
स्थानीय खोलाको पानी पक्की कुलो निमार्ण गरेर खेतसम्म पुगेको कालिमाटी गाउँपालिका ३ साजगैराका रातो बस्नेतले बताए। उनले भने ‘कच्ची कुलोमा पानी बीचमै हराउने, कुलो भत्किने समस्या थियो तर ४ सय ८५ मिटर कुलो पक्की भएपछि सिँचाइमा निकै सहज भएको छ।’ 

यस्तै बनगाड कुपिण्डे नगरपालिका २ लाहाघाटमा पनि चैतुवा कृषि सिँचाई योजना सम्पन्न भएको छ। सिँचाई कुलो निमार्ण पछि २ सय रोपनी जग्गामा सिँचाई सुविधा पुगेको कृषक शंकर प्रसाद शर्माले बताए। ५० लाखको लागतमा झन्डै एक किलोमिटर टाढाबाट पानी ल्याई सिँचाई गरिएको उनले बताए। मौसमी बाली लगाउन बाध्य किसान सिँचाई निमार्ण भएपछि अन्नबालीका साथै तरकारी खेतीमा आकर्षित भएको शर्माको भनाइ छ। 

पक्की सिँचाई कुलो निमार्ण भएपछि मौसमी तथा बेमौसमी तरकारी खेती गर्न निकै सहज भएको कपुरकोट गाउँपालिका ५ का किसान कुल बहादुर पुन मगरले बताए। उनले भने ‘कपुरकोट एरिया भनेको मौसमी तथा बेमौसमी तरकारी खेतीका लागि प्रख्यात ठाउँ हो। वर्षौं देखि सिँचाइको अभाव झेल्दै आइरहेका थियौं सिँचाई कुलो बनेपछि उत्पादन पनि बढ्ने अनुमान गरेका छौं।’ 

आर्थिक वर्ष २०७५/०७६ मा सल्यानमा ११ वटा सिँचाई योजना अन्र्तगत ५ किलोमिटर पक्की सिँचाई कुलो निमार्ण गरिएको थियो। २ करोड २२ लाखको लागतमा निमार्ण भएको कुलोबाट २३ हेक्टर जमिन सिञ्चित हुँदै आइरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.