सहमति भए पनि निर्वाचन प्रक्रिया पूरा गरिने

|
फाइल फोटो

काठमाडौं : संघीय सदनको राष्ट्रियसभाका चारवटा समितिका सभापतिमा पुरानैलाई दोहोर्‍याउने सहमति दलहरुले गरेका छन्। राष्ट्रियसभा नियमावली-२०७५ बमोजिम सभाका एकतिहाइ सदस्यहरुको पदावधि प्रत्येक दुई वर्षमा सकिएर नयाँ आएसँगै सभापति चयन गर्ने व्यवस्था छ।

दुई वर्षअघि समितिमा आएकाहरुको कार्यकाल सकिएर नयाँ सभापति तोक्ने बेलामा दलहरुले अघिल्लो कार्यकालमा समितिको प्रतिनिधित्व गर्नेहरुलाई नै निरन्तरता दिने निर्णय गरेका हुन्। 
 
राष्ट्रियसभाका समितिका सभापति चयनको निम्ति आउँदो शुक्रबार दिनको १ बजे समय तोकिएको छ।  दलहरुबीच पुरानैलाई दोहोर्याउने सहमति भए पनि निर्वाचनको प्रक्रिया भने पुरा गर्नै पर्ने हुन्छ।

राष्ट्रियसभाको सम्बन्धित समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियो भनेर सोही समितिका कुनै एक सदस्यले राखेको प्रस्ताव अर्का एक सदस्यको समर्थन सहित साउन २२ गते विहान ११ बजेबाट दिउँसो ४ बजेसम्म प्रस्ताव दर्ता गर्नुपर्ने छ। राष्ट्रियसभा नियमावली २०७५ को नियम १५० को उप नियम २ बमोजिम प्रस्ताव दर्ता हुने व्यवस्था छ। 

त्यस्तै तोकिएको समयमा दर्ता भएको प्रस्तावको दर्ता क्रम अनुसार सूची प्रकाशन साउन २२ गते दिउँसो ४ः३० बजे हुने राष्ट्रियसभा सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ। 

त्यस्तै साउन २३ गते सम्बन्धित समितिको बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने, समर्थकले समर्थन गर्ने र उक्त प्रस्तावहरू सोही दिन दिउँसोको १ बजे सम्बन्धित समितिको बैठक  कक्षमा निर्णयार्थ प्रस्तुत हुनेछ।  

राष्ट्रियसभाका चारवटा समितिका सभापतिहरूमा तीनजना नेकपा र एक जना कांग्रेसका छन्। राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस दलका नेता राधेश्याम अधिकारीले दलहरुबीच यस विषयमा सहमति भएको जानकारी दिए। ‘अहिलेसम्मको सहमति अनुसार यस अघि सभापति रहनुभएका नै आगामी कार्यकालको लागि पनि आउनुहुन्छ’ अधिकारीले थाहा खबरसँग भने।    

राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा नेकपाका रामनारायण बिडारी, दिगो विकास तथा सुशासन समिति सभापतिमा कांग्रेसकी तारादेवी भट्ट, राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापतिमा दिलकुमारी रावल थापा र  विधायन व्यवस्थापन समितिमा नेकपाका परशुराम मेघी गुरुङ थिए। यी मध्ये दीगो विकास तथा सुशासन समितिकी सभापति तारादेवी भट्ट मात्रै कांग्रेसकी हुन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.