टेलिभिजनको पर्दामा सरकार नखोज्‍न आग्रह

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संकटको बेलामा गैर जिम्मेवार ढंगले प्रस्तुत भएको भन्दै आफ्नै पार्टीका नेताहरुको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार आयोजित विज्ञहरुसहितको सर्वपक्षीय भेलामा प्रधानमन्त्री ओलीले नेकपाकै नेताहरुले कोरोना भाइरस संक्रमणको जोखिमलाई गम्भिर ढंगले नलिएको गुनासो गरेका हुन्। 

उनले आफ्नै पार्टीका नेताहरु मुलुकको संकटप्रति लापरवाही, जनताप्रति उदासीन हुँदै स्वार्थका पछाडि कुदेको टिप्पणी गरे। सरकारले संक्रमणको जोखिम फैलिन सक्ने भन्दै २५ जनाभन्दा बढी जम्मा नहुन निर्देशन दिएका बेला पार्टीभित्रैबाट केन्द्रिय समिति बैठकको माग भएपछि प्रधानमन्त्री ओलीले त्यसप्रति असन्तुष्टि जाहेर गरेका हुन्। 

'केही मानिस, केही माध्यम र केही संस्थाहरुमा अत्यन्तै गैह्र जिम्मेवारपन देखिन्छ। यथार्थमा भन्दा अन्त बुझ्न गइरहन पर्दैन मेरै पार्टीमा देखिन्छ। सरकारले २५ जनाभन्दा बढी भेला नहुन भनेको छ। तर मेरै पार्टीमा ४५० को केन्द्रीय कमिटी तुरुन्त चाहियो भनेर कहाँ बस्ने हो? के गर्ने हो? त्यस्तो सोच केही पनि छैन', उनले आक्रोशित हुँदै भने, 'तर बैठक चाहिँ चाहियो भन्‍ने कुरा त मेरै पार्टीमा छ। स्थायी कमिटी अहिले नै बस्नुपर्‍यो, भरे बस्नुपर्‍यो त्यसबाहेक केही छैन। यो देश र जनताप्रतिको गम्भीर उदासिनता, लापरवाही, वेवास्ता गर्ने प्रवृत्ति र आफ्ना स्वार्थका पछाडि कुद्ने प्रवृत्ति निकै देखिन्छ।'

उनले संकटको बेलामा केही सञ्चारमाध्यमहरुले सरकारका जुनसुकै कदमप्रति विरोधको शैली अपनाएको बताए। 'देश यस्तो संकटमा भएका बेला यसलाई एउटा सरकारको विरोध गर्ने माध्यमले जता पल्टाए पनि विरोध, उता पल्टाए पनि विरोध गर्ने', ओलीले अगाडि भने, 'कहिले क्वारेन्टाइनमा राख्यो भन्‍ने किन राख्यो भने, राखेन भने किन राखेन भन्‍ने, लकडाउन गरेन भने किन गरेन भन्‍ने। लकडाउन गर्‍यो भने किन गर्‍यो भन्‍ने, अनि मान्छे उचाल्ने मान्छे भड्काउने।'’ 

विज्ञहरुले समेत सरकारका काम कारवाहीप्रति असन्तुष्टि जनाइरहेको बेला प्रधानमन्त्री ओलीले टेलिभिजनको पर्दामा सरकारलाई नखोज्‍न आग्रह गरेका छन्। 

कोरोना संक्रमण नियन्त्रणदेखि लिएर बाढी पहिरो पीडितको उद्धारका काममा अधिकारीहरु खटिरहेका उल्लेख गर्दै उनले रेस्क्यु भइरहेको ठाउँमा गएर सरकार खोज्न आग्रह गरे। 

प्रहरीलाई किन संक्रमण भएको छ भन्दा उनीहरु सडकमा गएका छन्। संक्रमित मान्छेसँग उनीहरुले डिल गर्नुपरेको छ। अनेक कामहरुमा उनीहरु छन्। त्यस्ता कामहरूबाट उनीहरु संक्रमितहरु भइराखेका छन्। ड्युटीको क्रममा संक्रमित भइराखेका छन्', उनले भने, 'रेस्क्यु गर्न जाँदा संक्रमित भएर आएका छन्। अहिलेको मौसम पानी परेको छ, बाढी आएको छ। सरकारले बाढी गएको पहिरो गएको ठाउँमा तत्काल सरकार थाहा पाउनेबित्तिकै जोखिमका साथ रेस्क्यु टिम सरकारको तर्फबाट गएको छ। अरुले पनि सहयोग गरेका छन्।'

उनले बौद्धिक भनिनेहरूप्रति पनि आक्रोश पोखे। 'तर बौद्धिक जगतको टिप्पणीहरू सुन्छु कहाँ छ सरकार? काठमाडौंमा बसेर टेलिभिजनको पर्दा अगाडि क्यामरा अगाडि बसेर कहाँ छ सरकार भन्दा कता देखाउने?', उनले भने, 'त्यो रेस्क्यु गएको ठाउँमा हेर्नुपर्यो सरकार छ कि छैन। त्यहाँका जनतालाई सोध्नु पर्‍यो सरकार छ कि छैन। ज्यान जोखिममा राखेर तदारुकताका साथ सरकारी मान्छेहरु त्यहाँ खटेका छन्। रेस्क्यु गरेका छन्। रिलिफ पुर्‍याएको छ।'

प्रधानमन्त्री ओलीले संक्रमणको गतिलाई रोक्दै शून्यमा पुर्‍याउनुपर्ने अहिलेको आवश्यकता भएको बताए। संक्रमित सबै व्यक्तिहरुलाई निको बनाएर घर पठाउँदै कोभिडको अन्त्य गर्नुपर्ने उनले बताए। ओलीले खुला सिमाना र विदेशबाट मान्छे आउने क्रम नरोकिँदासम्म संक्रमणको अवस्था भयावह नै रहने चेतावनी समेत दिएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.