|

कपिलवस्तु : सदरमुकाम तौलिहवालाई छोटो दुरी र कम समयमा पूर्व पश्चिम राजमार्गसंग जोड्ने तौलिहवा– गोरुसिंगे पक्की सडकको निर्माण अन्तिम चरणमा पुगेको छ। १४ किमि लामो सडक आउँदो चैतभित्र निर्माण सकिने सडक डिभिजन कार्यालयले जनाएको छ। यो सडक पक्की भएपछि मात्र १५ मिनेटमा गोरुसिंगेदेखि तौलिहवा पुग्न सकिन्छ।

एक बर्षअघि निर्माण थालिएको उक्त सडक समयसीमा भन्दा अगाडि नै निर्माण सम्पन्न हुन लागेको हो। निर्माण सम्झौता अनुसार ३० महिनाभित्र सम्पन्न गर्नुपर्ने भएको भएपनि १८ महिनामै सकिन लागेको सडक डिभिजन कार्यालय कपिलवस्तुका सव–इन्जिनियर शान्तनु झाले बताए । ‘कुनै अवरोध नआए चैत १५ भित्रै काम सम्पन्न हुन्छ’ उनले भने।

५. ५ मिटर चौडा पक्की र साइट सोल्जर गरी ७ मिटर चौडा सडकमा सडकमा गिट्टी बिच्छ्याउने बेसको काम र प्राइम कोर्डको काम सकिएको छ। त्यसमध्ये करिब ७ किमी डिबिएसटी प्रविधिको पक्की सडक निर्माण कार्य समेत पूरा भएको छ। निर्माण कम्पनी भैरव कन्स्ट्रक्सन प्रालि, काठमाडौंले ठेक्का पाएको उक्त सडक निर्माणको कुल लागत ९ करोड १६ लाख रुपैयाँ रहेको छ।

धुलाम्मै परेको सडक अहिले पक्की भएपछि यात्रुलाई निकै सजिलो भएको निर्माण कम्पनी भैरव कन्स्ट्रक्सनका लक्ष्मण चापागाईले बताए। गत बर्ष मधेस आन्दोलन र निर्माण सामग्रीको अभावले गर्दा सो सडकको निर्माण कार्य केही समय रोकिएको थियो।

तौलिहवा–गोरुसिंगे सडक सदरमुकाम तौलिहवाको विकासका लागि मेरुदण्ड भएको तौलिहवा उद्योग बाणिज्य संघका अध्यक्ष गयादीन कुर्मीले बताए। ‘सो सडक पक्की भएपछि मात्र १५ मिनेटमा राजमार्ग पुग्न सकिन्छ, आउजाउ गर्न निकै सजिलो हुने भयो’ उनले भने। सो सडक पक्की भएपछि उत्तरी र दक्षिणी क्षेत्रको ब्यापार र ब्यवसाय समेत फस्टाउने ब्यापारीहरुको भनाइ छ।

सो सडक निर्माणले भारतको खुनुवा देखि अर्घाखाचीको सन्धीखर्कको सीधा सम्पर्क जोडेको छ। उता राजमार्गको जितपुरदेखि तौलिहवा सडक डबल लेनको कार्य समेत तिब्र गतिमा अघि बढेको छ। यस्तै राजमार्गको बुड्ढीदेखि तौलिहवासम्म पनि सडकको स्तरोन्नति चाडै हुने बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.