|

इलाम : विश्वकप तथा एएफसी एसिया कप छनोट खेलका लागि नेपालको गोल किपिङ प्रशिक्षकमा पूर्वराष्ट्रिय गोलरक्षक विकास मल्ल नियुक्त भएका छन्।

एन्फाको प्राविधिक समितिले मंगलबार मल्ललाई गोलरक्षक प्रशिक्षकमा नियुक्त गरेको हो। नेपाली राष्ट्रिय टोलीमा सन् २००५ देखि २०१३ सम्म बिताएका मल्लले एएफसी लेभल १ गोलकिपिङ कोचिङ सर्टिफिकेट, एएफसी सी कोचिङ लाइसेन्स र फिफा एमए सर्टिफिकेट प्राप्त गरेका छन्।

उनले घरेलु फुटबलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबको गोलरक्षक तथा कप्तानको भूमिका समेत निर्वाह गरिसकेका छन्। विकास एन्फाको पहिलो ब्याचका गोलरक्षक समेत हुन्। सन् २००५ मा पाकिस्तानमा भएको साफ गेममा भेट्रान गोलरक्षक उपेन्द्रमान सिंहको स्थानमा भारतविरुद्धको खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए। नेपाली टिमबाट उनले १९ क्याप जितेका छन्।

मल्लले पूर्वजापानिज गोलकिपिङ प्रशिक्षक हिरो मित्सुमारुको स्थान लिने छन्। एन्फाका अनुसार मल्लले फिफा विश्वकप छनोट तथा एएफसी एसियन कप छनोटतर्फ होम ग्राउन्डमा बाँकी खेलहरुका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको गोलकिपर प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने छन्।

नेपालले आगामी अक्टोबर ८ मा चाइनिज ताइपेइ, अक्टोबर १३मा अष्ट्रेलिया र नोभेम्बर १२ का दिन जोर्डनसँग प्रतिस्पर्धा गर्नेछ। सुरुवाती पाँच खेलमा एक जित निकालेको नेपाल पाँच राष्ट्र सम्मिलित समूहको चौथो स्थानमा छ। नेपालले एक मात्र जितको रुपमा ताइपेइको मैदानमा २–० को जित निकालेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.