ओलीले म र मेरा मान्छेसँग बदला लिन खोजे

|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का चारजना शीर्ष नेताहरुले सरकार र पार्टीमा दलाल-बिचौलिया हाबी भएको बताएका छन्। केही पत्रकारहरुसँग काठमाडौंमा एक अन्तरक्रियाका क्रममा बोल्दै शीर्ष चार नेताहरुले पार्टी गम्भीर संकटको अवस्थामा आइपुगेको बताएका छन्।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारको रवैया अब पनि सुधार नभए अर्को चुनावमा मुख देखाउन नसकिने अवस्था आउने बताए। 

प्रचण्डले यसो भने  

अध्यक्ष प्रचण्डले त्यसक्रममा चुनावी घोषणापत्र अनुसार पार्टी अघि नबढेको बताउँदै मार्क्सवाद-लेलिनवादको शिक्षालाई लिएर जाने कि बुर्जुवालाई काँधमा हालेर जाने अवस्थामा पार्टी पुगेको बताए। 

उनले अहिले बुर्जुवाको बर्चस्व रहेको पनि बताए। 'अहिले बुर्जुवाको बर्चस्व छ। कम्युनिस्ट पार्टीलाई कसरी अगाडि लाने? नेता कार्यकर्तालाई अराजक भीड भन्‍नेहरु छन्। जनवादी केन्द्रीयता मान्‍ने कि व्यक्तिलाई केन्द्रमा राख्‍ने? पार्टीको अधिनमा व्यक्ति हुने कि व्यक्तिको अधिनमा पार्टी हुने?', उनले प्रश्‍न गरे, 'विवेकले सत्ता चलाउने कि सत्ताले विवेक चलाउने? व्यक्तिगत निर्णयको जिम्मेवारी सामूहिक रूपमा लिनु पर्ने बाध्यता छ। एमसिसीमा सम्झौता गर्दा नवउदारवादी अर्थतन्त्र पालना गर्नुपर्ने भनिएको छ। यता कम्युनिष्टको सरकार नै नवउदारवादी पुँजीवादतिर जाँदैछ। हामीले चुनावी घोषणा पत्रमा सार्वजनिक निजी र सहकारीको सहकार्यमा अघि बढ्न सकिन्छ भन्यौँ। पुँजीवादको बीऊ रोपेर समाजवादको बीऊ फलाउनु असम्भव कुरा हो।'

उनले अहिले नेकपामा नीति विधि केही होइन, नेता नै सर्वेसर्वा हो भन्‍नेहरुका कारण समस्या भएको उल्लेख गरे। दाहालले आफू पदको लोभमा नरहेको पनि बताए।

'मैले यदि पार्टीको कार्यकारी अध्यक्ष पाए प्रधानमन्त्री हुने रूचि पनि छैन भनेको गत मंसिर ४ को सहमति पनि त्यही अनुसारको थियो। यो पदको लडाइँ थिएन। हाम्रा लागि पद प्राप्तिका लागि संघर्ष भन्‍ने कुरा गलत हो', उनले भने, 'पार्टीलाई नीति र विधि अनुसार चलाऊँ भन्दा पोलिसी सिफ्ट गरे मलाई घेराबन्दी गर्न खोजियो, अराजकतातिर लैजाने प्रक्रिया सुरू भयो। पोलिसि सिफ्ट गरेपछि सबै बिग्रियो, ठूलो संकटतिर पार्टी गयो।'

दाहालले आफूसँग अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बदला लिन खोजेको पनि बताए। 'मसँग बदला लिने गरी ओलीजी अघि बढ्नुभयो। मलाई भेट्नेलाई बदला लिने काम भयो। नेतादेखि मलाई भेट्ने कर्मचारीमाथि समेत प्रहार भयो', उनले भने, 'नेकपाको बैठकस्थलमा मेरो कुर्सी हटाउने कुरा टेक्निकल मात्रै होइन, कुर्सी हटाउने कुरा निषेधात्मक सोचको उपज थियो।' 

उनले एकताका क्रममा जनताको बहुदलीय जनवाद र माओवादलाई आत्मसाथ गरेर परिवर्तन हुँदै जाने सहमति भएको पनि बताए। 'माओवाद जिन्दावाद भन्यो भने पार्टी एकता त बिग्रिन्छ। अब जबज भन्दै कुद्दा पनि समस्या हुन्छ', उनले भने, 'समाजवाद उन्मुख देश भनेर घोषणा पत्रमा लेखेका थियौं। तर प्रधानमन्त्री स्वयमको पहलमा नेकपा एमाले दर्ताले पार्टी फुटको पक्षमा भन्‍ने देखाएको छ। हामी समाजवादतिर जाने भन्दा दलाल पूँजीबादको घेराबन्दीमा परिरहेका छौं।'

उनले भारतले हडपेको भूमि समेटेर नक्सा छाप्न दबाब दिने आफूसहितक नेतालाई जवरजस्ती दलाल बनाउन खोजिएको बताए। 'नक्सा छाप भन्‍ने दलाल हुने निर्णयकर्ता चाहिँ राष्ट्रवादी', उनले भने, 'यो विवाद पदका लागि होइन। पुँजीवादतिर जाने कि समाजवादतिर अब हामीले सोच्नुपर्ने भएको छ। बहसको अन्तर्यमा के छ भन‍्‍ने कुरामा पुगौँ। एकता गरेदेखि पार्टी विभाजित होस भन्‍नेहरु छन्। साम्राज्यवादी शक्तिहरू पहिलेबाटै कमजोर बनाउन चाहन्थे।'

उनले बसै आत्मआलोचा गर्नु आवश्यक रहेको बताए। 'केपीजीको विरोध गरेको होइन। कोरोनाले धेरै चिज हल्लाएको छ', उनले भने, 'नयाँ ढंगले नसोची नहुने भएको छ। पार्टी एकता बलियो बनाउँछौ तर अर्को पक्ष पार्टी दर्ता गर्न गए। यसरी त अघि बढ्न सकिँदैन।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.