विश्व

अयोध्या : रक्तपातपूर्ण इतिहास, विवादको भुमरीमा परेको धार्मिकस्थल

हिन्दु-मुस्लिमको निरन्तर द्वन्द्वपछि नयाँ मन्दिर बनाइँदै

साउन २३, २०७७

    ‘अयोध्या विवाद... राममन्दिर... बाबरी मस्जिद... हिन्दु-मुसलमान दङ्गा... तोडफोड... धार्मिक दंगा... हिन्दु परिषद्... सुन्‍नी वक्त बोर्ड... भारतीय जनता पार्टी...!’

    सन् १९९० यता भारतका समाचार या विवरण सुन्‍नेका कानमा यी शब्द बारम्बार गुञ्जिने गरेका छन्। आज पनि यिनै शब्दका सेरोफेरोमा घुम्ने एक घटना भएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशको रामकोटस्थित अयोध्या भनिएको स्थानमा चाँदीको इँटा राखेर राममन्दिर शिलान्यास गरेका छन्। 

    माथि उल्लेख अयोध्या विवादमा भाजपा बारम्बार संलग्‍न भएको पार्टी हो। अयोध्यामा रहेको बाबरी मस्जिद मध्यकालीन धार्मिक संरचना हो। यही संरचना रहेकै स्थानमा हिन्दुहरूका देवता राम जन्मेको भनी भारतका मानिस विश्‍वास गर्छन्।

    बाबरी मस्जिद मुगल शासक बाबरले सोह्रौं शताब्दीमा बनाउन लगाएका थिए। त्यो मस्जिद राममन्दिर भत्काएर बनाएको हिन्दु पक्षको आरोप छ। यसै विवादमा भारतमा पटक-पटक धार्मिक दंगा भएको छ। विश्‍व हिन्दु परिषददेखि वर्तमान सत्ताधारी भारतीय जनता पार्टीको पैतृक संस्था राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) सम्म यो धार्मिक द्वन्द्वमा परोक्ष-परोक्ष संलग्न देखिएका छन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले त चुनावमै बारम्बार अयोध्यामा राममन्दिर बनाउने बताउँदै आएका थिए।

    बाबरी मस्जिद बनाउँदा हिन्दु मन्दिर भत्काइएकै हो त? यो आरोप पुष्टि गर्ने भरपर्दो पुरातात्विक या ऐतिहासिक आधार छैनन्। यतिसम्म कि, राम जन्मेको भनिएको अयोध्या भारतको उत्तरप्रदेशमा पर्छ भन्‍ने पछिल्लो पटक विवाद निम्तिएको छ। बाल्मिकी रामायण र विद्यमान भौगोलिक अवस्थिति एवम् जनश्रुति खोतल्दै जाँदा राम जन्मस्थल अयोध्या भारतमा नभई नेपालको पर्सास्थित ठोरीमा रहेको भन्‍ने मत बलियो बन्दै गएको छ।

    तर, जसरी भारतको उत्तर प्रदेशस्थित फैजावादमा बाबरी मस्जिद बन्यो : त्यस पछाडि मङ्गोलियाका शासक चंगेज खानले नृशंस ढंगले मारेका ४ करोडभन्दा धेरै मानिसहरूको रगतको पृष्ठभूमि छ। अनि, आज नरेन्द्र मोदीले चाँदीको इँटा राखेर बाबरी मस्जिद भएकै स्थानमा राम मन्दिर निर्माण शिलान्यास गर्दैगर्दा भारत-पाकिस्तान विभाजनयता हिन्दु-मुस्लिमका नाममा धार्मिक दंगामा मारिएका लाखौं मानिसहरूलाई नजरअन्दाज गर्न सकिँदैन।

    चंगेजदेखि बाबरसम्म

    बाबरी मस्जिद मुगल शासक बाबरको नामबाट बनाइएको हो। बाबर चंगेज खानपछिको तेस्रो पिँढीको शासक थियो। मंगोल शासक चंगेज खानले भारतका अधिकांश हिस्सालाई नियन्त्रणमा लिएपछि मंगोल शब्द अपभ्रंश हुँदै ‘मुगल’मा बदलियो। ‘मुगल’ भनेका मंगोल हुन्। 

    मंगोल साम्राज्य विस्तार कार्य ९० देखि १०० वर्षसम्म चल्यो। यस क्रममा ४ करोडभन्दा धेरै मानिस मारिए। जनसंख्याविद् र इतिहासकारका अनुसार सो संख्या त्यतिखेर विश्‍वभर रहेको जनसंख्याको १० प्रतिशत हो।

    अर्थात् मंगोल साम्राज्य विस्तारका क्रममा विश्‍वका १० प्रतिशत मानिस मारिए। यी मानिस मार्न दर्जनौं आणविक बम पनि अपर्याप्त हुन्छ। तर तरबार र भालाले काटेर नै यति धेरै मानिसको हत्या गरियो। 

    चंगेज खानले जहाँ विजय प्राप्त गरे, त्यहाँ बयलगाढाको चक्काभन्दा अग्ला सबै पुरुषहरूलाई मारिदिए। त्यतिखेर सेनाले प्रयोग गर्ने बयलगाढाकाको चक्काको उचाई ३८ देखि ३९ इन्च अग्लो हुन्थ्यो। अर्थात, चंगेज जहाँ पुगे : उनले नापी-नापी ४० इञ्चभन्दा अग्ला सबै पुरुषलाई मारिदिए।

    काटिएका सबै शिर जम्मा गरेर पहाड बनाउनु मुगल योद्धाहरूको परम्परा थियो। पुरुषलाई मारेपछि बाँकी रहेका महिलाहरूलाई गुलाम बनाइन्थ्यो। यसरी गुलाम बनाइएका महिलाहरूलाई सैनिकको सेवाका लागि खटाइन्थ्यो या अलग-अलग बजारमा बेचिन्थ्यो। मध्यपूर्वदेखि युरोपसम्म नै यसरी गुलाम बनाइएका महिलाहरूलाई बेचियो। क्रुर युद्ध अपराध गर्दै मंगोलहरू एसियामा फैलिएका थिए। 

    चंगेज खानपछि तैमुरलंग शासक बने। उनको साम्राज्य दिल्लीसम्म फैलिएको थियो। साम्राज्य विस्तारका क्रममा तैमुरले एक करोड ७० लाख मानिसको हत्या गरेको अनुमान गरिन्छ। बाबर उनै तैमुरका पुत्र थिए। 

    ‘मृत्यु दूत’ अर्थात बाबर !

    जब बाबर आए, त्यतिखेर भारतमा गुरु नानकको प्रभाव विस्तार भइसकेको थियो। नानक एक शान्त, कुनै प्रतिक्रिया नजनाउने र आत्मज्ञानी मानिस थिए। उनले बाबरलाई ‘एक मृत्यु दूत आएको’ भनेका थिए। 

    बाबरले पनि उसै गरे। उनी जुन शहरमा पुगे : त्यहाँका सबै पुरुषहरूलाई मारिदिए, महिलाहरूमाथि विभत्स अत्याचार गरे र शहरहरू जलाइदिए। कब्जामा लिएका महिलाहरूमाथि सार्वजनिक स्थानमा जबर्जस्ती गरिन्थ्यो। बाबरले त्यतिखेर हजारौं हिन्दु महिलाहरूलाई हाल अफगानिस्तानमा पर्ने कन्दाहार र काबुलका बजारमा बेचिदिए। 

    सौभाग्य नै मान्‍नुपर्छ : बाबरले भारतमा चार वर्षमात्र शासन गर्न पाए। किनकी त्यसपछि एक क्रुर र आततायी शासकको मृत्यु भयो।

    सुरुका मुगल शासकहरूमध्ये चंगेज खानले नै धेरै मानिस मारेका हुन्। तर उनले धर्मका नाममा मानिस मारेको ऐतिहासिक कहावत या प्रमाण छैन। उनले गरेको भयानक नरसंहार शक्ति आर्जनका लागि मात्रै  भएको देखिन्छ। तैमुरलंगले पनि धेरै हदसम्म चंगेजकै बाटो पछ्याए। 

    तर, बाबरले युद्ध नीतिमा बाबु बाजेको बिँडो थामेनन्। उनले साम्राज्य विस्तारलाई धार्मिक रङ्ग दिए। कयौं पटक त बाबरले मुस्लिम शहरहरूमा पनि हमला गरे। त्यसैले बाबरले धर्मलाई आफ्नो सुविधाका हिसाबले प्रयोग गरे।

    ऐतिहासिक विश्लेषणहरू अध्ययन गर्दा बाबरले मस्जिद बनाउनु कुनै धार्मिक या भक्तिको भावनासँग सम्बन्धित थिएन। प्रार्थनाका लागि पनि बनाइएको थिएन। यो त शासन स्थापनाको एक तरिकामात्र थियो। 

    रामकोटको ढिस्कोमा बाबरी मस्जिद

    अयोध्यास्थित रामकोटको एक ढिस्कोमा लगभग पाँच सय वर्षअघि एक मस्जिद बन्यो। सन् १५२८ देखि १५३० को अवधिमा बनेको त्यस मस्जिदमा रहेको शिलालेख र सरकारी दस्तावेजका अनुसार यो संरचना मुस्लिम शासक मुगल बादशाह बाबरको आदेशमा उनका गभर्नर मीर बाँकीले बनाएका थिए। 

    बाबर या मिरले यो जमिन कसरी प्राप्त गरे भन्‍ने कुनै ऐतिहासिक रेकर्ड छैन। मस्जिदभन्दा पहिले त्यहाँ के थियो भन्‍ने जानकारी पनि छैन। सो मस्जिदको रेखदेख गर्नका लागि मुगल कालदेखि नवाबी र बेलायती उपनिवेश रहँदासम्म निश्चित रकम प्राप्त हुने गरेको थियो। 

    समय बित्दै जाँदा भारतमा हिन्दु र मुसलमानबीच ‘पावर अर्डर’ लचक बन्दै गयो। रामकोटमा रहेको बाबरी मस्जिदलाई लिएर स्थानीय हिन्दु र मुसलमानबीच पटक-पटक हिंसात्मक दंगा हुन थाल्यो। किनकी बाबरी मस्जिदले क्रुर मुस्लिम शासक बाबरलाई बोकेर बसिरहे जस्तो लाग्थ्यो। 

    मस्जिदभित्रै नरसंहार

    केही ब्रिटिस इतिहासकारहरूका अनुसार नवाबी शासन कायम रहेका बेला सन् १८५५ को कुनै दिन मुसलमानहरू बाबरी मस्जिदमा जम्मा भए। केही सय मिटर दुरीमा रहेको अयोध्याको सबैभन्दा प्रतिष्ठित हनुमानगढी मन्दिर कब्जा गर्न गए। त्यो मन्दिर एक मस्जिद तोडेर बनाइएको मुसलमान पक्षको आरोप थियो। 

    मुसलमानहरूले हमला गरेपछि हिन्दु वैरागीहरूले उनीहरूलाई हनुमानगढीबाट खेदे। खेदिएका मुसलमानहरू बाबरी मस्जिद परिसरमा छिरेर लुके। तर हिन्दु वैरागीहरूले त्यहाँ भित्रै छिरेर सबै आक्रमणकारीलाई मारिदिए र त्यहीँको चिहानमा गाडिदिए। 

    भारतमा रहेका केही कागजपत्र र विदेशीहरूको वर्णन (फरेन एकाउन्ट) अनुसार यो रक्तपातपूर्ण दंगापछि हिन्दु समुदायले बाबरी मस्जिद वरपरको स्थानलाई रामको जन्मस्थान मान्‍न र पूजाआजा गर्न थाले। 

    अंग्रेज भागे, धार्मिक द्वेष भागेन

    सन् १८५७ मा भएको प्रथम स्वतन्त्रता संग्रामपश्चात भारतमा मुसलमानहरूको नवाबी शासन अन्त्य भयो। बेलायती कानून, शासन र न्याय व्यवस्था लागु भयो। त्यही बेला बाबरी मस्जिदको बाहिरी हिस्सालाई कब्जा गरेर हिन्दुहरूले भजन र पूजा गर्न एक संरचना बनाए। जसलाई लिएर निरन्तर झगडा भइरह्यो। 

    सन् १८५८ नोभेम्बर ३० तारिखका दिन बाबरी मस्जिदका मौलवी मोहम्मद असगरले अदालतमा लिखित आरोपपत्र दायर गरे। त्यस आरोप पत्रमा हिन्दुहरूले मस्जिदसँगै जोडेर एक चबुतरा बनाएको र मस्जिदको भित्तामा ‘राम ! राम!’ लेखेको उल्लेख थियो।

    शान्ति सुव्यवस्था कायम गर्न प्रशासनले चबुतरा र मस्जिदको बीच एक पर्खाल खडा गरिदिए। तर यहाँ प्रवेश गर्ने मुख्य ढोका एउटै थियो। यसपछि पनि मुसलमानहरूले लगातार सिकायत गरिरहे। उनीहरूको सिकायतमा हिन्दुहरूले नमाज पढ्न बाधा पुर्‍याएको उल्लेख हुन्थ्यो। 

    मन्दिर बनाउने प्रयास

    सन् १८८३ अप्रिलमा निर्मोही अखडाले फैजाबादका डेपुटी कमिशनरसँग बाबरी मस्जिद रहेको स्थानमा मन्दिर बनाउन अनुमति माग्यो। तर मुस्लिम समुदायले आपत्ति जनाएपछि अनुमति दिइएन। 

    सन् १८८३ मा निर्माण सामग्री लिएर आएका केही मानिसहरूले त्यहाँ मन्दिर बनाउन अनुमति मागे। तर डेपुटी कमिस्नरले त्यहाँबाट निर्माण सामग्री नै हटाइदिए। 

    निर्मोही अखडाका महन्त रघबर दासले बाबरी मस्जिदको छेउमा निर्माण गरेको त्यही चबुतरालाई नै राम जन्मस्थान रहेको बताए। उनले भारत सरकार र मोहम्मद असगरविरुद्ध सन् १८८५ जनवरी २९ मा उजुरी हाले। सो उजुरीमा १७ फिट चौडाइ र २१ फिट लम्बाइ रहेको सोही हिन्दु परिसरलाई रामको जन्मस्थान रहेको दाबी गरेका थिए। 

    आफू नै बाबरी मस्जिद रहेको क्षेत्रको मालिक रहेको र त्यहाँ कब्जा गरिएको दासले जिकिर गरेका थिए। तर सरकारी वकिलले मस्जिद परिसरमा हिन्दूले बनाएका संरचना नहटाइएकाले उजुरीको कुनै अर्थ नरहेको बताएका थिए। 

    अदालतका न्यायाधीश पण्डित हरिकिशनले त्यतिखेर मस्जिदको प्रवेशद्वार बाहिर हिन्दु पक्षले कब्जा गरेको ठहर्‍याएका थिए। मस्जिद र हिन्दुको चबुतरा जाने बाटो एउटै भएको र दुवै संरचना एक आपसमा जोडिएकाले त्यहाँ मन्दिर बनाउन आदेश दिन नसकिने बताइदिए। मन्दिर बनाउँदा शंख र घण्ट बज्ने हुनाले त्यसैलाई लिएर दुवै समुदायबीच द्वन्द्व बढ्ने न्यायाधीशले बताइदिए। अन्ततः मन्दिर बनाउन अनुमति दिइएन। यसरी बाबरी मस्जिद परिसरमा मन्दिर बनाउने निर्मोही अखडाको पहिलो प्रयास एक वर्षमै विफल भयो। 

    मस्जिदभित्र रामको जन्म!

    फेरि जिल्ला अदालतमा अपील दर्ता भयो। तीन महिनाभित्रै जिल्ला न्यायाधीशले हिन्दुको पवित्रस्थलमा मस्जिद बनाउनु दुर्भाग्यपूर्ण भएको बताइदिए। तर, ३५६ वर्ष पुरानो घटना भएकाले यो समस्या समाधान गर्न निकै ढिला भइसकेको सो फैसलामा उल्लेख थियो। हिन्दुहरूले चबुतरा बनाएकै स्थानलाई रामचन्द्रको जन्मस्थान मान्‍नुपर्ने न्यायाधीशले बताएका थिए।

    जिल्ला न्यायाधीशले पनि घुमाउरो तरिकाले बाबरी मस्जिद परिसरमा मन्दिर बनाउन स्वीकृति नदिएपछि निर्मोही अखडा फेरि न्यायिक कमिश्नर डब्ल्यू यङ्गकहाँ पुग्यो। कमिस्नर यङ्गले सन् १८८६ नोभेम्बर १ तारिखका दिन फैसलामा लेखेका छन्, ‘अत्याचारी बाबरले साढे तीन सय वर्ष पहिले जानाजान यो पवित्र स्थानमा मस्जिद बनायो, जुन स्थानलाई हिन्दुहरू रामचन्द्रको जन्मस्थान मान्‍ने गर्छन्। यतिखेर हिन्दुहरूलाई त्यहाँ जाने सीमित अधिकार मिलेको छ। रामचन्द्रको जन्मभूमिमा उनीहरू मन्दिर बनाएर आफ्नो दायरा बढाउन चाहन्छन्।’

    तर यो फैसलामा पनि कमिश्नरले बाबरी मस्जिद रहेको स्थानमा हिन्दु पक्षले दावी गरेअनुसार स्वामित्व रहने कुनै रेकर्ड नभएको बताइदिए। यसरी, यी तीनवटै अदालतले विवादित स्थलमा हिन्दुहरूको आस्था, मान्यता र जनश्रुतिको उल्लेख त गरिदिए, तर रेकर्ड र उपलब्ध सबुतलाई नै फैसलाको आधार बनाइदिए। यी फैसलाका कारण बाबरी मस्जिद परिसरमा मन्दिर बनाउने हिन्दुहरूको प्रयास सफल हुन सकेन।

    सन् १९३४ को बकरीदका दिन बाबरी मस्जिद नजिकैको एक गाउँमा गो हत्या भएको भन्दै दंगा भड्कियो। बाबरी मस्जिदमा पनि हिन्दुहरूले आक्रमण गरे। तर ब्रिटिस सरकारले मस्जिदको मर्मत गरिदियो। 

    सिया-सुन्‍नी विवाद 

    सन् १९३६ मा मुसलमानका दुई समुदाय शिया र सुन्‍नीबीच यो मस्जिदको स्वामित्वलाई लिएर कानूनी विवाद खडा भयो। तत्कालीन कमिश्नरले सो विवाद समाधान गर्न अनुसन्धानको आदेश दिए। मस्जिदका व्यवस्थापक मोहम्मद जकीले मस्जिद बनाउने मीर बाकी शिया रहेकाले मस्जिद पनि शियाहरूकै भएको दावी गरे। 

    तर जिल्ला कमिश्नरले सन् १९४१ को फेब्रुअरी ८ तारिखका दिन आफ्नो रिपोर्ट सार्वजनिक गर्दै मस्जिद स्थापना गर्ने बादशाह सुन्‍नी भएको तथा त्यहाँ इमाम र नमाज पढ्नेहरू पनि सुन्‍नी भएकाले यो मस्जिद सुन्‍नीकै भएको उल्लेख गरिदिए। 

    यसपछि फेरि शिया वक्फ बोर्डले सुन्‍नी वक्फ बोर्डविरुद्ध फैजावाद सिभिल जज कोर्टमा फेरि मुद्दा हाल्यो। 

    सन् १९४६ मार्च ३० मा सिभिल जज एसए अहसानले ३० शिया समुदायको दावी खारेज गरिदिए। यो प्रसंग किन पनि महत्वपूर्ण छ भने शिया समुदायका केही नेताहरू यो मस्जिद आफ्नो भएको दाबी गर्छन् र हिन्दु मन्दिर निर्माणका लागि जमिन दिनुपर्ने बताउँछन्। 

    बेलायती उपनिवेश अन्त्य भएपछि फेरि बाबरी मस्जिद परिसरमा राम मन्दिर निर्माण प्रयास भयो। तर सिटी मजिस्ट्रेटले त्यहाँ कुनै पक्की संरचना नबनाउन र दुवै पक्षलाई यथास्थितिकै गतिविधि गर्न लिखित आदेश जारी गरिदिए। यसपछि पनि नमाज पढ्न अवरोध गरेको भन्दै मुस्लिम समुदायका तर्फबाट हिन्दुहरू विरुद्ध उजुरी परिरह्यो। 

    भारत-पाकिस्तान विभाजनपछि अवधबाट ठूलो संख्यामा मुसलमानहरू पाकिस्तानतर्फ गए। विभाजनपछि भएको हिन्दु-मुस्लिम दङ्गा नियन्त्रणका लागि कोशिस गरिरहेका महात्मा गान्धीको पनि ३० जनवरी १९४८ मा हत्या भयो। 

    चुनावी मुद्दा 

    यसैबीच, कांग्रेसबाट अलग भएका समाजवादीहरूले आफ्नै पार्टी बनाए। आचार्य नरेन्द्र देवसमेत सवै विधायकहरूले विधानसभाबाट राजीनामा दिए। मुख्यमन्त्री गोविन्द वल्लभ पन्तले अयोध्या उप चुनावमा आचार्य नरेन्ददेवविरुद्ध स्थापित हिन्दु सन्त बाबा राघव दासलाई उम्मेदवार बनाए। 

    यो चुनावको प्रमुख मुद्दा नै अयोध्यामा मन्दिर बनाउने बन्यो। हिन्दु सन्त राघव दासले समर्थन प्राप्त गर्दै गए। मुख्यमन्त्री पन्तले आफ्नो चुनावी भाषणमा बारम्बार आचार्य नरेन्द्र देव रामलाई नमान्ने व्यक्ति रहेको बताइरहे। समाजवादका पुरोहित आचार्य नरेन्द्र देवले चुनाव हारे। 

    सन् १९४८ डिसेम्बर १० मा इन्स्पेक्टर मोहम्मद इब्राहिमले एक रिपोर्ट तयार गरे। सो रिपोर्टमा बाबरी मस्जिदमाथि बढिरहेको खतराबारे प्रशासनलाई विस्तृत जानकारी दिइएको थियो। उनले आफ्नो रिपोर्टमा मस्जिद क्षेत्रमा हिन्दु वैरागीहरूले सबै चिहानलाई हटाएर रामायण पाठ गर्ने स्थान बनाएको तथा जबर्जस्ती मस्जिद कब्जा गरिरहेको उल्लेख गरेका थिए। 

    शुक्रबारका दिन जब नमाज पढ्न मुसलमानहरू मस्जिदमा जान्थे, त्यही समयमा हिन्दुहरू लठ्ठी र धारिला घरेलु हतियार लिएर मस्जिद परिसरमा एकत्रित हुन्थे। 

    बाबा राघव दासले चुनाव जितेपछि मन्दिर निर्माण गर्न खोजिरहेकाहरूले फेरि उत्तर प्रदेश सरकारलाई यसका लागि अनुमति दिन पत्र लेखे। यो सन् १९४९ को घटना थियो र त्यतिखेर भारत संक्रमणकालीन अवस्थामै थियो। नयाँ संविधान लागु हुनेवाला थियो। 

    चिहानमाथि यज्ञ र रामायण पाठ 

    हिन्दु वैरागीहरूले सोही साल नोभेम्बर २४ का दिन बाबरी मस्जिदको सामुन्‍ने रहेको चिहान सफा गरे र त्यहाँ यज्ञ तथा रामायण पाठ गर्न थाले। विवाद बढ्ने देखिएपछि त्यहाँ एक प्रहरी चौकी नै बनाइयो र अर्ध सैनिक बल तैनाथ गरियो। 

    मूर्ति राखेर राम प्रकट भएको दाबी

    अर्धसैनिक बल तैनाथ भए पनि डिसेम्बर २४ को रात अभय रामदास नाम गरेको व्यक्ति र उनका साथीहरूले मस्जिदको भित्ता भत्काएर राम-जानकी तथा लक्ष्मणको मूर्ति राखिदिए।

    मस्जिदभित्र मुर्ति राखेपछि उनीहरूले त्यहाँ भगवान राम प्रकट भएको र आफ्नो जन्मस्थान फेरि कब्जा जमाएको दावी गरे। मुस्लिम समुदायका मानिस शुक्रबार बिहानै नमाज पढ्न मस्जिदतर्फ आउँदै थिए। तर प्रशासनले केही दिनको समय मागेर उनीहरूलाई फर्काइदियो। रामको मूर्ति राखेर मस्जिद कब्जा गर्ने अभय रामको यो योजनामा कलेक्टरले भित्रभित्रै सहयोग गरेका थिए। बिहानै मस्जिद आइपुगेका कलेक्टर नायरले मस्जिदभित्र राखिएको मूर्ति हटाउन कुनै कोशिस गरेनन्। 

    अयोध्या कोतवालीका इन्चार्ज रामदेव दुबेले मस्जिदमा हिन्दु मूर्ति राखिएपछि फेरि मुद्दा दर्ता गराए। यो मुद्दामा ५०/६० जना मानिस मिलेर पर्खाल फोडेको तथा मस्जिदको ताला तोडेर भित्र मूर्ति राखेको उल्लेख थियो। साथै, मस्जिदका विभिन्‍न भागमा देवी-देवताको चित्र बनाइएको पनि लेखिएको थियो। यस्तो गतिविधि गरेर मस्जिदलाई अपवित्र बनाइदिएको सो मुद्दामा उल्लेख थियो। 

    जवाहरलाल नेहरूलाई छुटेको ज्वरो

    यी सबै घटनाका कारण तनावमा रहेका भनिएका प्रधानमन्त्री जवाहरलाल नेहरूले डिसेम्बर २६ मा मुख्यमन्त्री पन्तलाई एक सन्देश पठाए। त्यस सन्देशमा अयोध्यामा भइरहेको घटनाबाट आफू निकै विचलित भएको नेहरूले उल्लेख गरेका थिए।

    त्यसपछि उत्तर प्रदेश सरकारका मूख्य सचिवले फैजाबादका कमिश्नरलाई लखनउ बोलाए र प्रशासनले किन यस्तो घटना हुन नरोकेको भनी प्रश्‍न गरे। साथै, मूर्ति किन नहटाएको भनी केरकार गरे। 

    जिल्ला मजिस्ट्रेट नायरले मुख्य सचिव भवान सहायलाई एक लामो पत्र लेख्दै यो मुद्दामा व्यापक जनसमर्थन रहेको र प्रशासनका केही थोरै मानिसहरूलाई उनीहरूलाई रोक्न नसक्ने बताए। उनको सो पत्र समस्या समाधान गर्नेतर्फ भन्दा पनि मस्जिद कब्जा गर्नेहरूको पक्षमा रहेको स्पष्ट बुझिन्थ्यो। आफू र जिल्ला प्रहरीका कमाण्डर मस्जिदबाट मूर्ति हटाउन कुनै हालतमा सहमत नरहेको पनि नायरले पत्रमा लेखेका थिए।

    अर्ध सैनिक आरएसएसको प्रवेश

    भारतीय जनता पार्टी (भाजपा) को पैतृक संगठन राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) र हिन्दु सभाका मानिसहरू सक्रिय रुपमा बाबरी मस्जिद कब्जा गर्न सक्रिय रहे। पछि थाहा भयो कि जिल्ला कलेक्टर नायर र मजिस्ट्रेट गुरु दत्त दुवै जना आरएसएससँग जोडिएका थिए। पछि नायरले त आरएसएसकै समर्थनमा जन संघबाट टिकट लिएर लोकसभा चुनाव समेत जिते। नगरपालिकाका प्रमुखलाई मस्जिदभित्र राखिएको मूर्ति पूजा गर्न जिम्मेवारी समेत तोकियो। 

    प्रधानमन्त्री नेहरू फेरि दुःखी बने। उनले गृहमन्त्री सरदार पटेललाई लखनउ पठाए र मुख्यमन्त्री पन्तलाई कैयौं पत्र लेखे। आवश्यकताअनुसार पन्तलाई स्वयंलाई अयोध्या जान भने। 

    पन्तलाई लेखिएको पत्रमा नेहरूले अयोध्यामा भएको घटनाका कारण देशभर र अझै बढी कश्मीरमा खराब असर पर्ने उल्लेख गरेका थिए। किनकी, बहुसंख्यक मुस्लिम आवादी रहेको कश्मीरका जनतालाई भारतसँगै रहन राजी गराइएको थियो। अयोध्यामा मुस्लिमको मस्जिद अतिक्रमण गर्दा कश्मीरका जनता नयाँ दिल्लीसँग सशंकित हुने पक्कापक्की थियो।

    नेहरू नै लखतरान !

    अयोध्या मामिलामा आफूले भनेका कुनै कुरा सुनुवाई नभएपछि नेहरू लगभग लाचार बनिसकेका थिए। उनले गृह राज्य भएपनि उत्तर प्रदेशमा आफ्नो कुरा नसुनिएको र कांग्रेसका स्थानीय नेता साम्प्रदायिक हुँदै गइरहेको बताउन थालेका थिए। 

    फेरि अदालत

    सन् १९५० जनवरी १६ मा गोपाल सिंह विशारदले फेरि सिभिल जजको अदालतमा सरकार, जहुर अहमद र अन्य मुसलमानका विरुद्ध मुद्दा दायर गरे। सो मुद्दामा उनले मूर्ति नहटाउन र दर्शन तथा पूजा गर्न हिन्दूलाई प्रवेश दिनुपर्ने माग राखेका थिए। 

    सिभिल जजले त्यसै दिन सो मुद्दालाई स्थगनादेश जारी गरिदिए। जिल्ला न्यायाधीश र उच्च अदालतले पनि यसलाई निरन्तरता दियो। 

    मुद्दा हाल्नेहरू स्थगना देशविरुद्ध इलाहाबाद हाइ कोर्टमा गए। तर फाइल पाँच वर्षसम्म त्यहीँ अड्कियो। त्यसपछि नियुक्त भएका जिल्ला मजिस्ट्रेट उग्राले सिभिल कोर्टमा आफ्नो पहिलो जवाफ दिए, विवादित सम्पत्ति बाबरी मस्जिदकै नाममा रहेको अवगत छ। मुसलमानहरूले लामो समयदेखि यो स्थानलाई नमाज पढ्न प्रयोग गरिरहेका छन्। यसलाई रामचन्द्रको मन्दिरका रुपमा प्रयोग गरिएको थिएन। २२ डिसेम्बरको रात त्यहाँ लुकीछिपी गलत तरिकाले रामचन्द्रको मूर्ति राखिएको थियो।

    सन् १९६१ मा सुन्‍नी वक्फ बोर्ड र स्थानीय मुसलमानहरूका तर्फबाट चौथो मुद्दा दायर गरियो। सो मुद्दामा मस्जिद मात्र नभई वरपरको चिहान र जमिनमाथि पनि दावी गरियो। 
    जिल्ला अदालतले यी चारै वटा मुद्दाहरूमाथि एकैपटक सुनुवाई गर्न चाह्यो। तर सामान्य मुद्दा झैं यो छिनोफानो हुन दुई दशक लाग्यो। 

    विरोधीहरूबीच अचम्मको मिलाप 

    यो मुद्दा लामो समयसम्म अदालतमै रोकिएपछि अयोध्यामा त्यति ठूलो विवाद भएन। यति मात्र होइन, मुद्दाका दुवै पक्षका प्रतिनिधि अर्थात परम हंस र हाशिम अन्सारी दुवै जना एउटै गाडीमा बातचित गर्दै र हाँस्दै अदालत जाने गर्थे। कुनै अप्ठ्यारो नमानी रात-विरात एक अर्कोको घर जाने गर्थे। 

    मन्दिर-मस्जिदको राजनीति

    भारतमा आपत्काल घोषणा गरेपछि सन् १९७७ मा जन संघ र विपक्षी दल गाभिएर बनेको जनता पार्टीले इन्दिरा गान्धीलाई सत्ताबाट विस्थापित गरिदियो। तर, आपसी फुटका कारण जनता पार्टीको सरकार तीन वर्ष पनि टिकेन। इन्दिरा गान्धी फेरि सन् १९८० मा सत्तामा फर्किइन्। 

    जन संघ परिवारले फेरि हिन्दुहरूबीच राजनीतिक एकता कायम गर्न र चुनाव जित्न योजना बनाउन थाल्यो। उनीहरूले हिन्दुहरूको प्रमुख देवता मानिने राम, कृष्ण र शिवसँग जोडिएका अयोध्या, मथुरा र काशीका मस्जिदलाई केन्द्र बनाएर आन्दोलन छेड्ने घोषणा गरे। 

    राम-जानकी मूर्तिलाई कैद

    सन् १९८४ जुलाई २७ तारिखमा राम जन्मभूमि मुक्ति यज्ञ समिति गठन भयो। सो समितिले एक मोटरको रथ बनायो। सो रथमा राम-जानकीको मूर्तिलाई कैदमा राखेको देखाइयो। 

    २५ सेप्टेम्बरका दिन यो रथ बिहारको सीतामढीबाट अघि बढाइयो। ८ अक्टोबरमा अयोध्या पुगेको यो रथमा आफ्ना आराध्य भगवानको मूर्ति लाचार हालतमा रहेको देखाइएको थियो। यस्तो देखाइएपछि मानिसहरूबाट आक्रोश र सहानुभूति बटुल्न समितिलाई निकै सजिलो भयो। यो रथ यात्राको मूख्य माग नै बाबरी मस्जिदको ताला खोलेर त्यहाँको जमिनमा मन्दिर निर्माण गर्न पाउनुपर्ने थियो। 

    दिल्लीमा रथ र इन्दिरा गान्धीको हत्या

    निकै ठूलो जनसमर्थन जुटाउँदै यो यात्रा लखनउबाट ३१ अक्टोबरमा दिल्ली पुग्यो। त्यही दिन इन्दिरा गान्धीको हत्याका कारण अशान्ति उत्पन्न भयो। नोभेम्बर दुई तारिखमा आयोजना गर्ने भनिएको विशाल हिन्दु सम्मेलन र अरु कार्यक्रम स्थगित गर्न समिति बाध्य भयो। 

    त्यसपछि भएको आम चुनावमा राजीव गान्धीलाई प्रचण्ड बहुमत मिल्यो। तर गान्धी राजनीतिक र प्रशासनिक दृष्टिले अनुभवी थिएनन्। यस पश्चात विश्‍व हिन्दु परिषद्ले बाबरी मस्जिदको ताला खोल्न फेरि आन्दोलन थाल्यो। १९८६ को मार्च ६ तारिख अर्थात महाशिवरात्रिको दिन ताला नखोले आफूहरूले नै जबर्जस्ती ताला खोज्ने धम्की दियो। 

    बजरंग दल गठन

    परिषद्ले थालेको आन्दोलनलाई गति दिनका लागि निकै आक्रामक स्कुलिङसहित बजरंग दल गठन भयो। बाबरी मस्जिदमा राम मन्दिर बनाउन र मानिसको भावनालाई सम्बोधन गर्न भन्दै विवादित स्थल नजिकै ४२ एकड जमिनमा विशाल राम कथा पार्क निर्माण गर्ने घोषणा भयो। सरयु नदीबाट अयोध्याको पुरानो घाटसम्म नहर बनाउने काम पनि थालियो। तर यसबाट हिन्दुवादी संगठन नै खुशी भएनन्।

    ताला खोल्न राजीव गान्धीको आदेश 

    विश्‍व हिन्दु परिषद् र बजरंगी दलले बाबरी मस्जिदको ताला खोज्नुपर्ने, नत्र आफैं खोल्ने चेतावनी दिएपछि राजीव गान्धी हच्किए। उनी र उनका साथीहरूले फैजावाद जिल्ला अदालतका वकिल उमेश चन्द्र पाण्डेयलाई ताला खोल्ने निवेदन दिन अह्राए। लामो समयदेखि चलिरहेको मुद्दासँग यो निवेदनको कुनै सम्बन्ध नभएको भनियो। जिल्ला अदालतमा जिल्ला मजिस्ट्रेट र प्रहरी प्रमुखले मस्जिदको ताला खोज्दा शान्तिसुरक्षामा कुनै समस्या नहुने बताए। यसै बयानलाई आधार बनाएर मस्जिदको ताला खोज्न आदेश दिइयो।

    केही घण्टाभित्रै यो आदेश कार्यान्वयन भयो। दुरदर्शनलगायत च्यानलबाट समाचार प्रसारण गरियो। यस पश्चात भारत र विश्‍वभर अयोध्यामा मन्दिर-मस्जिद विवाद रहेको थाहा भयो। यसको प्रतिक्रियामा मुस्लिम समुदायले मस्जिदको रक्षाका लागि बाबरी मोहम्मद, आजम खान र जफरयाब जिलानीको अगुवाइमा बाबरी मस्जिद संघर्ष समिति गठन गर्‍यो। जवाफी आन्दोलन पनि सुरु भयो। 

    अदालतलाई नै चुनौती

    धर्मलाई आधार बनाएर राजनीति गरेको दक्षिणपन्थी भारतीय जनता पार्टीले मन्दिर आन्दोलनलाई झनै उछाल्यो। सन् १९८९ मा त यस पार्टीका नेताहरूले अदालतलाई नै चुनौती दिए। 

    पालमपुर भन्‍ने स्थानमा बसेको कार्यसमिति बैठकमा भाजपाले मन्दिर-मस्जिद मामिलामा अदालतले फैसला नै गर्न नसक्ने र सरकारले सम्झौता गराएर या संसदमा कानुन बनाएर हिन्दुहरूलाई सो स्थान सुम्पिनुपर्ने बताए। 

    उत्तर प्रदेशमा रहेको कांग्रेस नेतृत्वको सरकारले उच्च अदालतमा एक याचिका दायर गर्दै मस्जिद-मन्दिर विवादसम्बन्धी चारवटै मुद्दाहरूलाई झिकाएर चाँडै फैसलाका लागि अनुरोध गर्‍यो। उच्च अदालतले फैजावादबाट मुद्दा मगाए पनि स्थगनादेश जारी गरिदियो। मस्जिद र मन्दिरको विवादित भूखण्डबारे तत्कालीन स्थितिमा कुनै परिवर्तन नगर्न आदेश पनि दियो।

    मन्दिर शिलान्यास 

    विश्‍व हिन्दु परिषद्ले ९ नोभेम्बर १९८९ मा मा राम मन्दिर शिलान्यास गर्ने र देशभर शिलापूजन यात्रा निकाल्ने घोषणा गर्‍यो। राजीव गान्धीले गृहमन्त्री बुटा सिंहलाई लखनउका मुख्यमन्त्री नारायण दत्त तिवारी भेट्न पठाए। तिवारीको घरमा परिषद्का मानिसहरूसँग सिंहले शिलापूजन यात्रा शान्तिपूर्ण ढंगले अघि बढाउने वाचा गराए। 

    अशोक सिंघल, महन्त अवैध नाथ र उनका साथीहरूले शान्ति-सौहार्दपुर्ण र उच्च अदालतको आदेश बमोजिम शान्तिपूर्ण यथास्थिति कायम राख्ने वाचा गरे। राजीव गान्धीले राम राज्य स्थापना गर्ने नारा लगाउँदै फैजावादबाटै आफ्नो चुनावी अभियान सुरु गरे। उता विश्‍व हिन्दु परिषद्ले मस्जिदभन्दा केही दुरी पर राममन्दिर शिलान्यासका लागि झण्डा गाडिदिए। 

    प्रस्तावित मन्दिर निर्माणस्थल विवादित क्षेत्रमा रहे-नरहेको बारे एकीन गर्न सरकारका अधिकारीहरू उच्च अदालत गए। अदालतले फेरि पनि यथास्थितिको आदेश अर्थात विवाद भूखण्डमा सो क्षेत्र पर्ने स्पष्ट पारिदियो। 

    तर, उत्तर प्रदेश सरकारले सो भूखण्ड विवादित नभएको भन्दै मन्दिर शिलान्यास गर्न अनुमति दियो। मस्जिदभन्दा करिब १९२ फिट पर मन्दिर शिलान्यास गरियो। 
    मन्दिर शिलान्यास त भयो, तर मुसलमान समुदायले कडा प्रतिक्रिया जनाएपछि सरकारले तत्काललाई निर्माण स्थगित गरिदियो। 

    मुसलमानका पक्षमा मुख्यमन्त्री सिंह

    यसैबीच कांग्रेसबाट बागी बनेका वीपी सिंहको नेतृत्वमा जनता दल नामको एक तेस्रो राजनीतिक शक्ति उदय भइसकेको थियो। कांग्रेसले चुनाव हार्‍यो। वीपी सिंह भाजपा र वामपन्थी दलको समर्थनमा भारतका प्रधानमन्त्री बने। 

    प्रधानमन्त्री सिंह र जनता दलको स्पष्ट रुझान मुसलमान समुदायप्रति देखिन थाल्यो। उत्तर प्रदेशमा जनता दलले पुराना समाजवादी नेता मुलायम सिंह यादवलाई मुख्यमन्त्री चुने, जसले पहिले नै विश्‍व हिन्दु परिषद्को अयोध्या आन्दोलनको विरोध गरिसकेका थिए। 

    त्यतिखेरसम्म राममन्दिर आन्दोलनको लिगेसी भाजपाले आफ्नो हातमा लिइसकेको थियो। यसको नेतृत्व लालकृष्ण आडवाणीले लिए। देशभर पार्टीका पक्षमा हिन्दु जनमत तान्न आडवाणी सन् १९९० को २५ सेप्टेम्बरका दिन सोमनाथ मन्दिरबाट अयोध्यातर्फ रथ यात्रामा निस्किए। यो यात्राका क्रममा देशका कैयौं स्थानमा हुलदंगा भयो। विहारका तत्कालीन मुख्यमन्त्री लालु प्रसाद यादवले आडवाणीलाई विहारमै गिरफ्तार गरिदिए र रथ यात्रामा रोक लगाइदिए। 

    ‘मुल्ला मुलायम !’

    मुलायम सरकारले लगाएको प्रतिबन्धकै बीच अक्टोबर ३० तारिखका दिन लाखौं हिन्दु सेवकहरू अयोध्या पुगे। प्रहरीले लाठी र गोली चलाउँदा चलाउँदै पनि केही सेवकहरू मस्जिदको गुम्बजसम्म उक्लिए। मस्जिद कब्जा गर्न खोजेपछि प्रहरीले गोली चलायो। १६ जना व्यक्ति मारिए। तर हिन्दी अखबारहरूले बिशेषांक नै निकालेर सयौं सेवकहरूको मृत्यु भएको हल्ला फैलाए। सरयु नदी नै हिन्दुहरूको रगतले रातै भएको जस्ता उत्तेजनात्मक सामग्री प्रकाशन-प्रसारण भयो। 

    उत्तर प्रदेशका मुख्यमन्त्री मुलायम सिंह यादवलाई मस्जिद कब्जा गर्न खोज्नेहरूले मुल्ला मुलायम भन्न थाले। उनी हिन्दुमाझ अत्यन्त अलोकप्रिय भए र चुनावमा नराम्रो पराजय ब्यहोरे। मस्जिद कब्जा गर्न खोज्नेहरूमाथि कारबाही भएपछि भाजपाले केन्द्र सरकारबाट समर्थन फिर्ता लियो। जनता दलभित्रै देवीलालले विद्रोह गरे। 

    यही हंगामाका बीच प्रधानमन्त्री वीपी सिंहले पिछडिएका वर्गका लागि आरक्षण दिन तयार गरिएको प्रतिवेदन लागु गरिदिए। यसलगत्तै भारतभरि अगाडी रहेका भनिएका र पिछडिएकाहरू तथा मण्डल-कमण्डलबीच संघर्ष छेडियो। 

    राजीव गान्धीको हत्या 

    सन् १९९१ को लोकसभा चुनावका बेला राजीव गान्धीको पनि हत्या भयो। कांग्रेसका वृद्ध नेता नरसिम्हा राव भारतका प्रधानमन्त्री बने। उत्तर प्रदेशमा मध्यावधि चुनावमार्फत भाजपाका कल्याण सिंह मुख्यमन्त्री बने। सरकार बन्नासाथ सिंहले मस्जिदअघि रहेको २.७७ एकड जमिन पर्यटन विकासका लागि भन्दै अधिग्रहण गरे। राम कथा पार्कका लागि अधिग्रहण गरिएको ४२ एकड जमिन विश्‍व हिन्दु परिषद्लाई दिइयो। 

    सरकारले निर्देशनअनुसार अधिकारीहरूले पुराना मुद्दाहरूका तथ्य बदल्दै नयाँ तरिकाले दाखिला गर्न थाले। पर्यटनका लागि भन्दै अधिग्रहण गरिएको जग्गामा मन्दिर निर्माण सुरु गर्नुपर्ने हिन्दु संघ वालाको माग थियो। यसका लागि ढुंगाहरू पनि थुपारियो। 

    तर उच्च अदालतले फेरि यो जमिनमा कुनै स्थानीय संरचना निर्माण नगर्न आदेश दियो। आदेश मिचेर निर्माण सुरु गरिएपछि सर्वोच्च अदालतले नै हस्तक्षेप गर्‍यो। नरसिम्हा रावको सरकारले निकै कठिनाई झेल्दै हिन्दु साधुसन्तलाई सम्झाई बुझाई गर्‍यो र मन्दिर निर्माण रोक्यो। 

    वाचाविपरीत मस्जिद ध्वस्त 

    सन् १९९२ मा फेरि हिन्दुहरूको धार्मिक कारसेवा घोषणा भयो। उत्तर प्रदेशको कल्याण सरकार र विश्‍व हिन्दू परिषद्का नेताहरूले सर्वोच्च अदालतसँग कार सेवा साङ्केतिक भएको र मस्जिदमा कुनै क्षति नहुने वाचा गरे। 

    यो कारसेवामा कल्याण सिंहले बल प्रयोग नगर्न आदेश दिए। स्थानीय सुरक्षा अंगलाई केन्द्रीय बलको सहयोग लिन पनि दिएनन्। यस्तो स्थिति निम्त्याउनुका पछाडिको एउटै उद्देश्य थियो : बाबरी मस्जिद तोडफोड गर्ने वातावरण बनाउनु। 

    लाल कृष्ण आडवाणी लगायत नेताहरूकै अगाडी ६ डिसेम्बरका दिन बाबरी मस्जिद भत्काइयो। मस्जिदका एक-एक इँटा झिकेर मलवेमाथि अतिक्रमणकारीहरूले एक अस्थायी मन्दिर बनाइदिए। त्यसपछि सुरु भएको हिंसामा करिब दुई हजार मानिसहरूले ज्यान गुमाए।

    त्यहाँ पनि दर्शन र पूजा गर्न सुरु भयो। मुसलमानहरूले केन्द्र सरकारमाथि मिलेमतो र निष्क्रियताको आरोप लगायो। प्रधानमन्त्री रावले संविधानअनुसार शान्ति व्यवस्था कायम गर्नु राज्य सरकारकै जिम्मेवारी भएको भन्दै आफूले कानुनको दायरामा रही सक्ने जति काम गरेको बताए। उनले मस्जिद पुनर्निर्माण गरिदिने विश्‍वास पनि दिलाए। 

    फेरि अदालती चक्कर !

    मस्जिद ध्वस्त पारिएको केही दिनपछि उच्च अदालतले कल्याण सरकारद्वारा गरिएको जमिन अधिग्रहणलाई गैरकानुनी ठहर गरिदियो। १९९३ को जनवरीमा केन्द्र सरकारले यो मामिलाको स्थायी समाधान गर्न संसदबाट कानुन बनायो। विवादित मस्जिद परिसर र आसपासको करिब ६७ एकड जमिन अधिग्रहण गर्‍यो। 

    हाइ कोर्टमा चलिरहेको मुद्दालाई अन्त्य गर्दै सर्वोच्च अदालतसँग बाबरी मस्जिदको निर्माण हिन्दु मन्दिर तोडेर गरिएको थियो या थिएन भन्‍ने राय मागियो। अब यो विवाद मस्जिद भन्दा पनि जमिनमा मात्रै सीमित गरियो। 

    अदालतले जसको पक्षमा फैसला गर्नेछ, सोही पक्षलाई धर्म स्थान बनाउन मस्जिदको मुख्य परिसर बनाउन दिने सो कानुनको उद्धेश्य थियो। दुवै धर्मस्थलका लागि अलग ट्रष्ट बनाउने र फैजावादका कमिश्नरलाई केन्द्र सरकारका तर्फबाट नियुक्त गरियो। 

    तर सर्वोच्च अदालतले बाबरी मस्जिद भएको स्थानमा हिन्दु मन्दिर भए-नभएको जवाफ दिन अस्वीकार गरिदियो। अदालत यस तथ्य पत्ता लगाउन सक्षम नभएको भनियो। सर्वोच्चले उच्च अदालतमा चलिरहेको मुद्दालाई पनि बहाल गरिदियो।

    हाइ कोर्टले बाबरी मस्जिद र राम चबुतरको तल उत्खनन् गर्न पुरातत्व विभागलाई निर्देशन दियो। तर उत्खनन् गर्न निकै लामो समय लाग्यो। पछि तयार गरिएको रिपोर्टमा मस्जिदको तल उत्तर भारतमा रहेजस्तो मन्दिरको केही हिस्सा फेला परेको उल्लेख गरियो। यसैलाई आधार बनाएर हिन्दु पक्षले त्यहाँ पुरानो राममन्दिर भएको दावी गर्‍यो। जबकी, अन्य इतिहासकारहरूले यो निष्कर्षलाई गलत भएको बताइरहे। 

    लामो समयसम्म चलेको सुनुवाई, साक्षी र प्राप्त दस्तावेज एवम् सवुतहरूका आधारमा इलाहावाद उच्च अदालतले सन् २०१० सेप्टेम्बर ३० तारिखका दिन फैसला सुनायो। तीनजना न्यायाधीशले गरेको सो फैसलामा रामचन्द्रको जन्म मस्जिदको बीचमा रहेको गुम्बजको जमिनमा भएको हुनसक्ने उल्लेख थियो।

    जमिन बाँड्न असहमत

    २०१० मा उच्च अदालतले त्यहाँको जमिनलाई तीन हिस्सामा विभाजन गर्न भनेको थियो। तर कुनै पक्ष पनि तयार भएनन्। 

    त्यसपछि यो मुद्दा सुप्रिम कोर्टमा गयो। मुद्दा पेश भएको १० वर्षपछि अदालतले फैसला सुनायो-अयोध्यामा मन्दिर र मस्जिद दुवै बन्‍नेछ। अदालतले २ दशमलव ७७ एकडको विवादास्पद जमिनमा मन्दिर बनाउनेगरी केन्द्रीय सरकारको अधिकार तोकिदियो। त्यहाँ मन्दिर बनाउनका लागि केन्द्रीय सरकारले एक ट्रष्ट बनाएर मन्दिर निर्माण गर्न भनियो। 

    मस्जिद बनाउनका लागि अन्त कतै ५ एकड जमिन सुन्‍नी वख्त बोर्डलाई उपलब्ध गराउन अदालतले आदेश दिएको थियो। अदालतले मुस्लिम पक्षलाई केही नरम बनाउन मन्दिरभन्दा बढी जमिन दिन भनेको थियो। मन्दिर र मस्जिद दुबै बनाउनेगरी दुवै पक्षलाई सन्तुष्ट गराउने उद्देश्यले अदालतले यस्तो आदेश दिएको थियो। 

    सन् १९९२ मा बाबरी मस्जिद तोड्नु कानुनको गम्भीर उल्लंघन रहेको पनि अदालतले बताइदियो। तर सो कार्यमा संलग्न मानिसहरू विरुद्ध कुनै सजाय भने सुनाएन। किनकी यो एक आम नागरिक विवाद (सिभिल डिस्प्युट) माथि दिइएको फैसला थियो, न कि कुनै आपराधिक मुद्दामाथिको फैसला। तर, ती मानिसहरू विरुद्ध फरक ढंगले मुद्दा लगाउने बाटो भने खुला नै थियो। 

    अदालतको यस्तो फैसला आएपछि केही भारतीय वामपन्थी (सेन्टर लेफ्ट) हरूले यसलाई आदर्श फैसला (आइडियल भर्डिक्ट) भनेका थिए। किनकी, सुप्रिम कोर्टका न्यायाधीशको स्थानमा रहेको कल्पना गर्दा यो निर्णय लिन मुस्किल मात्र नभई असम्भव रहेको उनीहरूले बताएका थिए। सामान्य अदालती मुद्दामा के सही र के गलत भन्‍ने विषयबारे कानूनी रुपमै सोच्न सकिन्छ। तर यो मुद्दामा अदालतले मानिसहरूको आस्था, तथ्य, र ऐतिहासिक पक्षलाई बढी प्राथमिकतामा राख्न जरुरी थियो। 

    अदालतले लेखेको छ : ‘बाबरी मस्जिदको जगभन्दा तल गैर इस्लामिक एक संरचना पक्कै छ। तर यो मन्दिर नै थियो भन्‍ने पुष्टि अहिलेसम्म भएको छैन। यस्तो अवस्थामा अदालतले यो पनि ध्यानमा राख्न जरुरी थियो कि फैसला गर्दा मानिसहरूमा कस्तो असर पर्नेछ।’

    तथ्यगत, नैतिक र नैतिकताको दृष्टिले या ऐतिहासिक दृष्टि भन्दा पनि अदालतले निर्णयको परिणाम के हुनेछ भन्‍नेबारे ध्यान दिन जरुरी थियो। वास्तविक रुपमा सही आदेश दिएपनि त्यसो गरेपछि देशमा दंगा भड्कियो भने त्यो वास्तवमै सही र प्रभावकारी निर्णय हुन सक्दैनथ्यो। सामुदायिक एकता बढाउन र शान्ति कायम गर्नेगरी धार्मिक विवादका विषयमा निर्णय लिनु वास्तवमै जटिल काम हो। यी सबै पक्षलाई सन्तुलनमा राखेर निर्णय लिनु त झनै चुनौतीपूर्ण हुन्छ।

    विवादको सुरक्षित अवतरण

    तर अदालतको यो फैसलाले अल्पसंख्याको न्यायका लागि भन्दा पनि बहुसंख्यक मानिसहरूको दृष्टिकोणलाई प्रतिनिधित्व गरेको आरोप लाग्यो। अल्पसंख्यक अर्थात मुसलमानहरू र बहुसंख्यक अर्थात हिन्दुहरू। धर्मका विषयमा खासै रुची नराख्ने र धार्मिक विवादलाई नरुचाउने भनिएका वामपन्थीहरूले फेरि भने, ‘देशका बहुसंख्यक मानिसहरूलाई त त्यहाँ मन्दिर या मस्जिद बन्नुमा कुनै रुची नै थिएन।’

    चर्चित भरतीय युट्युबर र युवा अभियन्ता ध्रुव राठीले अयोध्या मामिलामा बनाएको युट्युब भिडियोमा भनेका छन्, ‘मानिसहरूका लागि मन्दिर या मस्जिद भन्दा पनि काम पाइयो कि पाइएन, सास फेर्ने हावा सफा छ कि छैन, सडक कस्तो बनेको छ, सरकारी स्कुल र अस्पताल कस्तो बनेको छ ? यो महत्वपूर्ण छ। मिडियाले के देखाउँछ भन्दा पनि मानिसहरूलाई वास्तविक मुद्दाले धेरै फरक पार्छ।’

    भारतका अधिकांश मानिसहरूले अदालतको यो निर्णयलाई शान्तिपूर्ण ढंगले स्वीकार गरेको भनिएको छ। राठीका अनुसार यो एकै मुद्दालाई लिएर भारतमा निकै शक्ति, समय, ऊर्जा र पूँजी खर्च भयो। यो निर्णय भारतको युवा पुस्ताका लागि पनि एक उचित पाठ भएको उनी दोहोर्याउँछन्। 

    भारतको सुप्रिम कोर्टले यो मुद्दामा फैसला गर्न ४० दिनसम्म सुनुवाई चलाएको थियो। यो सुनुवाई सुप्रिम कोर्टमा भएको सबैभन्दा लामो दोस्रो सुनुवाई थियो। यो मुद्दाको निर्णय एक हजार पृष्ठ लामो छ। 

    मिडियालाई थप्पड 

    छिमेकीसँगको युद्ध या अल्पसंख्यक मुस्लिम समुदायलाई लिएर बारम्बार घृणाका अभिव्यक्ति फैलाउने भारतीय मिडियाका लागि अदालतको फैसला लगभग जोडदार थप्पडजस्तै थियो। ‘मुस्लिमलाई सिध्याउनु पर्छ’ शैलीको अभिव्यक्ति दिने मिडिया र मसालेदार अभिव्यक्ति दिने तथाकथित धर्मान्धहरूका लागि मुस्लिमहरूले पनि मस्जिद बनाउन जग्गा प्राप्त गर्नु सह्य थिएन। तर, फैसलाको विरोध गर्दै अदालतको मानहानि गरे उल्टै भासमा फस्ने डर भएपछि यस्ता मिडिया र व्यक्तिहरू खासै बोलेनन्।

    अयोध्या विवादबारे भारतीय मिडियाहरूले लाखौं करोडौं घण्टासम्म जति सामग्री पस्किए, त्यसको सट्टा आर्थिक र वातावरणीय मुद्दामाथि बहस चलाउन आवश्यक ठानेनन्। भारतीय जनता पार्टी र मोदी नेतृत्वको सरकारका विवादास्पद कामकारवाहीप्रति तथ्य र तर्कपूर्ण शैलीले आलोचना गर्न माहिर अभियन्ता राठीको आशय छ : किनकी, प्राकृतिक स्रोतसाधन दोहनमा भित्रभित्रै संलग्न नेतृत्वसमेत तानिने आर्थिक र वातावरणीय मुद्दाहरूमा वहस चलाउँदा जोखिम मोल्नुपर्छ। बरु, सरकारी या बहुसंख्यक मानिसहरूमा सजिलै सनसनी पैदा गर्न सकिने धार्मिक मुद्दा नै टार्गेट रेटिङ पोइन्ट (टीआरपी) बढाउने गजबको काइदा हो।

    ‘राम हिन्दु नै होइनन्’

    पछिल्लो दशकमा विश्‍वभर लोकप्रिय र चर्चित योगी एवम् लेखक सद् गुरु (वास्तविक नाम जग्गी वासुदेव) ले अयोध्या विवादबारे निकै सटीक धारणा राखेका छन्। उनी भन्छन् :
    ‘श्रीरामले कहिल्यै पनि आफूलाई हिन्दु भएको दावी गरेनन्। तर उनलाई आज भारतमा आइकन बनाइएको छ। 

    यो पुरै मुद्दाका दुई फरक-फरक आयामलाई सम्झन र कुनै निर्णय लिनुभन्दा पहिले सावधान हुन आवश्यक छ। किनकी राम ६ हजार वर्षभन्दा पहिले जन्मिएका थिए।

    ऐतिहासिक रुपले के सही या के गलत छ भन्‍ने कुरालाई मानिसहरूको आस्थासँग मुछ्नु हुँदैन। किनकी ६ हजार वर्ष पुरानो वास्तविकता कसैले जानेको छैन। हरेक मानिसले राम कहाँ गए र के गरे भन्‍ने उही सामान्य कहानीबारे जानकारी राखेका छन्। मनोरोग चिकित्सकले झैं हामीले यी पात्रहरूमाथि सटीक विश्लेषण गर्न सक्दैनौं। ६ हजार वर्षअघि राम सुरक्षित थिए या थिएनन्, यो कसरी थाहा हुन्छ ? यो एक बकवास हो।

    तर राम एक आइकन हुन्। राममाथि छेडछाड गर्नु हुँदैन। किनकी मानवताका लागि यस्ता आइकनहरू आवश्यक छन्। राम, कृष्ण, बुद्ध या जेसस : जसको पनि कमजोरी निकाल्न सक्छौं। 

    आजका मुसलमानहरूलाई बाबरले गरेको अपराधसँग तौलनु हुँदैन। किनकी ऊ कुनै पनि कोणबाट सच्चा मुसलमान थिएन।’

    (यो सामग्री बीबीसी हिन्दी र इन्टरनेटमा उपलब्ध आलेखहरू अनुवाद गरी तयार पारिएको हो।)

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]