|

काठमाडौं :  कोरोना संक्रमणबाट नेपालमा एकैदिन ६ जनाको मृत्यु भएको छ। पर्सा र मोरङमा दुई दुई जना, काठमाडौं र सप्तरीमा एक जनाको मृत्यु भएको हो। यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६४ पुगेको छ।

कोरोना संक्रमणबाट पर्सामा थप दुई जनाको मृत्यु भएको छ । वीरगञ्ज–१५ भिश्वाका ४६ बर्षीय पुरुष र पोखरिया नगरपालिका–८ कि १८ बर्षीया युवतीको मृत्यु भएको हो । वीरगञ्ज हेल्थकेयर कोभिड अस्पतालमा उपचारका क्रममा ४६ वर्षीय पुरुषको मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले जानकारी दिए।

यस्तै १९ गते मृत्यु भएकी पोखरिया नगरपालिका–९ कि १८ वर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ। झाडावान्ता भएपछि उनलाई गत सोमबार नेशनल मेडिकल कलेज लगिएको थियो । तर इमर्जेन्सीमा पुग्नासाथ चिकित्सकले  उनलाई मृत घोषणा गरे।

स्वाब संकलन गरेर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट उपाध्यायले जानकारी दिए। यसै गरी  मोरङमा कोशी अस्पताल, विराटनगरको आइसोलेसन कक्षमा मृत्यु भएका विराटनगरका पुरुष र अस्पताल ल्याउनेक्रममा बाटोमै मृत्यु भएका रंगेली नगरपालिकाका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेण्डेन्ट डा चुमनलाल दासका अनुसार बुधबार दिउँसो दुबै जनाको रिपोर्ट पोजेटिभ आएको हो। 

यसै गरी बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत सर्लाही–६ मलंगवाकी ६५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो। मनमोहन अस्पतालबाट बलम्बु रिफर भएकी उनलाई कोरोना संक्रमण भएको १९ गते पुष्टि भएको थियो। उनलाई उनलाई निमोनियाका साथै स्क्रब टाइफससमेत भएको सशस्त्रका प्रवक्ता राजु अर्यालले जनाकारी दिए।

 यस्तै सप्तरीमा  मृत्यु भएका तीन जनामध्ये एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ। दुई जनाको रिपोर्ट भने नेगेटिभ आएको छ।​ रुपनी गाउँपालिका ५ गढियाका ४५ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले जानकारी दिए। करिब डेढ महिनाअघि मलेसियाबाट फर्किएका उनी होम क्वारेन्टिनमा थिए । मंगलबार साँझ ज्वरो आउनुका साथै श्वासप्रश्वासमा कठिनाई भएपछि उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज भर्ना गरिएको थियो।

थप उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको थियो। तर उनको बाटोमै मृत्यु भएको थियो। मृत्युपछि स्वाब संकलन गरी जाँच गर्दा रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.