|

मुगु : सरकारले कोरोना संक्रमण फैलने भन्दै भेला समारोह र जमघट गर्न निषेध गरेको छ। तर मुगुमा भने यसको पूरै बेवास्ता गर्ने गरिएको देखिएको छ। गत चैत ११ गतेबाट लगाइएको लकडानउ साउन ६ गतेबाट खुले पनि कोरोना जोखमि नटरेको भन्दै सरकारले मानिसहरुको भीड हुने कुनै पनि कार्यक्रम नगर्न पटक पटक भन्दै आएको छ। 

तर मुगुका केही निजी शैक्षिक संस्थाले विद्यालयमा कक्षा सञ्चालन गर्न नपाएपछि ट्युसनको नाममा विद्यार्थी भेला पार्ने गरेका छन्। जिल्ला सदरमुकाम गमगढीमा रहेका थापा मेमोरियल बोडिङ्ग स्कुल, रारा डाइनामिक इंग्लिस बोडिङ्ग स्कुल र समता स्कुलले ट्युसन कक्षा चलाइरहेका छन्। 

सरकारले भदौ १ गतेबाट विद्यार्थी भर्ना लिने भने पनि कक्षा संचालनबारे कुनै टुंगो नलागेकाले विद्यार्थीहरुलाई टिकाइराख्न उनीहरुले यस्तो जुक्ति अपनाएका हुन्। साना बालबालिकालाई कारोनाबारे जानकारी नभए पनि अविभावकहरुले आफना बच्चाहरुको स्वास्थ्यभन्दा पढाइलाई प्राथमिकता दिएका पाइएको छ।  

नाम नबताउने सर्तमा एक अभिभावकले भने, ‘स्वास्थ्य सुरक्षा अपनाई कक्षा संचालन गर्ने बताएपछि पठाएका थियौं, तर विद्यालयमा भेडा राखेझैं राखेको देखियो, अब पठाउँदैनौं।’ ट्युसनका नाममा चलाइएको कक्षामा न कसैले मास्क नै प्रयोग गरेका छन् न त विद्यार्थीमा सामाजिक दूरी। विद्यार्थीहरुलाई एउटा कक्षामा भेला पारेर पढाउने गरिएको देखिन्थ्यो। 

कोही कसैमा कारोना संक्रमण भए सबै विद्यार्थीमा फैलने जोखिम देखिन्थ्यो। स्थानीय सरकारअन्तर्गत शिक्षा शाखा, जिल्ला शिक्षा तथा समन्वय इकाइ र सामाजिक विकास कार्यालयलाई यसबारे जानकारी गराइएको आवश्यक कारबाही गरिने प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपत् व्यवस्थापन समितिका संयोजक कृष्ण कुमार निरौलाले बताए।

छायाँनाथ रारा नगरपालिका भित्रका कही निजी विद्यालयले टियुसनका नाममा कक्षा संचालन गर्दै आएका र सरकारको यसबारे सचेत गराए पनि उनीहरुले भने टेरेका छैनन्। तर अब पत्र नै काटेर कक्षा संचालन रोक्न लगाउने र त्यसो गर्दा पनि अटेरी गरे नगर शिक्षा ऐन, नियमावली र स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार कारबाही गरिने नगरपालिका शिक्षा शाखा प्रमुख खड्कबहादुर रोकायाले बताए।

पैसा असुल्न बहाना

कोरोना संक्रमण फैलने भन्दै सरकारले शैक्षिक संस्थाहरु सचांलन गर्न रोक लगाएपछि शुल्क उठाउन नपाएका निजी विद्यालयले यस्तो तरिका अपनाएका हुन्। अविभावकहरुले लामो बिदाका कारण आफ्ना बालबालिका बिगे्रको भन्दै कम्तीमा विद्यालय संचालन हुन्जेलसम्म ट्युसन पढाइदिन अनुरोध गरेपछि स्वास्थ्य सुरक्षाका उपाय अपनाउँदै कक्षा चलाइएको थापा बोर्डिङ स्कुलका सञ्चालक विकास थापाले बताए। उनका अनुसार बिहान ८ बजे र बेलुका ४ बजेसम्म प्रतिमहिना प्रतिविद्यार्थी ५ सय रुपैयाँ शुल्क लिने गरिएको छ।

मुगुमा कोरोनाको संक्रमण नभएकाले विद्याथीहरुलाई पढाएमा केही फरक नपर्ने भएकाले अविभावकका आग्रहमै कक्षा चलाइएको उनले बताए। जिल्लामा रहेका अन्य निजी विद्यालयले कक्षा संचालन गरेपछि अविभावकहरुले कक्षा संचालन गर्न दबाब दिएका उनले बताए। 

बाध्य भएर १६ गतेबाट सामाजिक दूरी र स्वास्थ्य सुरक्षा अपनाएर कोचिङ कक्षा सञ्चालन गरेको समता स्कुलका प्रध्यानध्यापक सोविना रावलले पनि बताइन्। उनका अनुसार पनि जिल्लामा कोरोना संक्रमित शून्य भएकाले कक्षा संचालन गर्दा केही फरक नपर्ला भन्ने सोचेर विद्यालयका कोचिङ्ग कक्षा संचालन गरेको बताइन्।

गत साउ १३ गते अविभावकको बैठक बसी ८, ९ र १० कक्षाका विद्याथीहरुलाई गणित, अंगे्रजी, विज्ञान र अतिरिक्त गणित विषयका विद्याथीलाई थर्मलगनबाट तापक्रम नापेर सामाजिक दूरी अपनाउँदै कक्षा संचालन गदै आएको रारा डाइनामिक स्कुलका लेखापाल विष्णु खड्काले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.