|
फोटो : रासस

काठमाडौं : 'मेड इन नेपाल गौरव गरौं,स्वदेशी वस्तु प्रयोग गरौं' भन्ने मूल नाराका साथ काठमाडौंको भृकुटीमण्डपमा फागुन १२ गतेदेखि राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी आयोजना हुने भएको छ।

घरेलु तथा साना उद्योग समितिका उपकार्यकारी निर्देशक विश्वरमण आचार्यका अनुसार प्रदर्शनीमा तीन सय वटा स्टल रहनेछ भने तीन सय ५० उद्यमीले सहभागिता जनाउने छन्। प्रदर्शनीमा पहिलो पटक प्रदेश अनुसार छुट्टाछु्ट्टै स्टल राखिने आचार्यले जानकारी दिए। एक नम्बर प्रदेशका १४ जिल्लाका लागि २८, दुई नम्बरका ८ जिल्लाका लागि १६, तीन नम्बरका १३ जिल्लाका लागि २६, चार नम्बरका ११ जिल्लाका लागि २२, पाँच नम्बरका १० जिल्लाका लागि २०, छ नम्बरका १० जिल्लाका लागि २० र सात नम्बरका नौ जिल्लाका लागि १८ स्टल रहनेछ। 

आचार्यका अनुसार ६ दिनसम्म चल्ने उक्त प्रदर्शनी स्वदेशी तथा विदेशी गरी ३ लाख अवलोकनकर्ताले अवलोकन गर्ने र करिब ५ करोड रुपैयाँको सामान बिक्री हुने अनुमान गरिएको छ।

यस राष्ट्रिय औद्योगिक प्रदर्शनीमा ढाका कपडा,बाँसजन्य उत्पादन,अल्लो तथा केराजस्ता प्राकृतिक रेशाबाट उत्पादित वस्तु,छालाजन्य एवं अर्गानिक चिया र कफी,हाते कागज तथा ऊनबाट उत्पादित वस्तुको प्रदर्शन तथा बिक्री गरिन्छ। त्यस्तै किमती रत्न पत्थर, करुवा, खुकुरी, मिथिला आर्ट, छ्वाली आर्ट लगायत लघु, घरेलु तथा साना उद्यमीले उत्पादन गरेका हस्तकलाका सामग्री पनि प्रदर्शन गरिने उपकार्यकारी निर्देशक आचार्यले बताए।

प्रदर्शनीको बारेमा जानकारी दिन मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरिएको थियो। पत्रकार सम्मेलनमा प्रदर्शनमा सहभागी उद्यमीहरु मध्ये सर्वोत्कृष्ट एक जनालाई ३० हजार रुपैयाँसहित सम्मान गरिने जानकारी दिइयो। प्रदर्शनीमा राखिएका उत्पादनहरुलाई विभिन्न १५ वटा समुहमा विभाजन गरी प्रत्येक समुहको उत्कृष्टलाई जनही २० हजार र दोश्रो हुनेलाई १० हजार रुपैयाँ पुरस्कार दिइने पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा जनाइएको छ।

प्रदर्शनकीको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नेछन्। प्रदर्शनी बिहान साढे १० बजेदेखि ६ बजेसम्म चल्ने घरेलु तथा साना उद्योग समितिका निमित्त कार्यकारी निर्देशक रमेशचन्द्र उपाध्यायले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.