'फागुनमै महाधिवेशन, ढुक्क भए हुन्छ'

|
फाइल फोटो

काठमाडौं : नेपाली कांग्रेसको आन्तरिक विवाद बढ्दै गएपछि आज सभापति शेरबहादुर देउवाले छलफलका लागि आफू इतरका नेताहरू र पार्टी पदाधिकारीहरूलाई आफ्नै निवास बूढानीलकण्ठमा बोलाए।  झण्डै तीन घण्टा चलेको छलफल केही बेरअघि मात्रै सकियो। देउवाले पौडेल पक्षले भनेझैँ नै बैठकको एजेण्डा बनाएका थिए।

१३ औँ महाधिवेशन सकिएलगत्तै गठन गर्नुपर्ने विभाग र समितिहरू अहिले आएर गठन गरेको भन्दै पौडेल समूहले विरोध गर्दै आइरहेको छ। आजको बैठकमा तय गरेका एजेण्डाअनुरूप क्रियाशील सदस्यता छानविन समिति गठन गर्ने एजेन्डा केन्द्रीय समिति बैठकमा लैजानेलगायत विषयमा छलफल भयो। छलफल भएअनुसार नै अब बस्ने केन्द्रीय समितिको बैठकले क्रियाशील सदस्यता छानविन समिति गठन गर्नेछ।  

‘आजको बैठकमा सभापतिज्यूले नै तय गर्नुभएको र अरू नेताहरूले भनेअनुसारकै क्रियाशील सदस्यता छानविन समिति गठन विषयमा  केन्द्रित भयो,’ कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले भने, ‘यो कुरा अब बस्ने केन्द्रीय समितिमा पनि छलफल हुनेछ र सोही केन्द्रीय समितिको बैठकले छानविन समिति पनि गठन गर्ने छ।’ उनले आजको बैठकमा क्रियाशिल सदस्यता छानविन समिति गठन गर्नका लागि सभापति देउवाले वरिष्ठ नेता पौडेलसँग नेताहरूको नाम पनि मागेका थिए।  

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशनको मिति तोकिसकेको अवस्थामा विभाग गठन गरेको भन्दै आपत्ति जनाए। त्यस्तै उनले महाधिवेशनको मिति तोकिसकेपछि विस्तार गरेको विभागहरू खारेज गर्न पनि देउवालाई भने। ‘पार्टी एकलौटी तवरले चलाउनुभयो,’ पौडेललाई उदृत गर्दै बैठकमा सहभागी उनीनिकट एक नेताले भने, ‘पार्टीकै विभाग गठन र विस्तार गर्दा पार्टीकै नेतालाई थाहा नदिने पनि कहीँ हुन्छ? 

४७ मध्ये २० विभाग प्रमुख देउवाले नियुक्त गरिसकेका छन् भन् चार सय ७९ सदस्यीय ज्येष्ठ राजनीतिज्ञ सभा पनि गठन गरिसकेका छन्।  पौडेलले प्रश्न गरेपछि देउवाले जवाफ दिँदै भने, ‘मैले विभाग र समितिमा सहमतिकै आधारमा नामहरू सिफारिस गर्ने सोच पनि बनाएको थिएँ। तपाईहरूलाई पनि भनेको थिएँ टेर्नु भएन। मैले सधैँ भन्ने गरेको छु सहमतिका साथ अगाडि बढौँ।’ 

ढुक्क भए हुन्छ महाधिवेशन फागुनमै हुन्छ

आजको बैठकमा वरिष्ठ नेता पौडेलले फागुनमै महाधिवेशन हुने ग्यारेन्टी गर्न सभापति देउवालाई भने। देउवाले भने, ‘ढुक्क भए हुन्छ महाधिवेशन फागुनमै हुन्छ गर्ने हो।’  त्यस्तै आजको बैठकमा नेपाली कांग्रेसले हाल कायम क्रियाशील सदस्यतामा शतप्रतिशत बाउनेबारे पनि छलफल गरेको छ। निर्णय भने केन्द्रीय समितिको बैठकले नै गर्नेछ।   

‘अहिले कांग्रेसको क्रियाशील सदस्यको संख्या बढाएर दोब्बर बनाउने निर्णय आजको बैठकले गरेको छ औपचारिक निर्णय भने केन्द्रीय समितिले गर्नेछ,’ उनले भने । यसअघि कांग्रेसले अहिले भएको भन्दा ५० प्रतिशत मात्रै क्रियाशील सदस्यको संख्या बढाउने निर्णय गरेको थियो। अहिले कांग्रेसका चार लाख ९८ हजार ४७६ क्रियाशील सदस्य छन् ।  

बूढानीलकण्ठ बैठकमा पार्टीको आसन्न महाधिवेशन, कोरोना महामारीले पुर्‍याउने असर, पार्टीका भ्रातृ संस्थाहरूको म्याद थप र विस्तार, १३ औं महाधिवेशनको समयमा गठन गरिएको क्रियाशील सदस्यता छानबिन समितिको प्रतिवेदन, १४ औं महाधिवेशनका लागि गठन गरिने क्रियाशील सदस्यता छानबिन समिति, अन्य दलबाट आएका नेता-कार्यकर्ताहरूको समायोजनलगायत विषयमा छलफल भएको बताइएको छ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीका अनुसार आजकाे बैठकमा वरिष्ठ नेता पौडेलसहित महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, रामशरण महत, डा.मीनेन्द्र रिजाल, कृष्णप्रसाद सिटौला पनि देउवा निवास पुगेका थिए। देउवाले आफू पक्षका नेताहरु विमलेन्द्र निधि, विजय गच्छदार, पूर्णबहादुर खड्का,  प्रकाशशरण, महत प्रवक्ता विश्वप्रकाश शर्मालगायत नेताहरू बूढानिलकण्ठ बैठकमा सहभागी भएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.