श्रीमतीलाई देखिएन, दुई छोरा र आमाबुवा भने संक्रमित

|

तनहुँ : आँबुखैरेनी गाउँपालिकाका एक कर्मचारीका परिवारका चार सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौंबाट तनहुँ फर्किएका कर्मचारीमा साउन १८ गते कोरोना पुष्टि भएको थियो। 

संक्रमति कर्मचारीको कन्ट्याक ट्रेसिङका आधारमा २६ जनाको पिसिआर परीक्षण गरिएको र त्यसमध्ये उनकै परिवारका चार सदस्यमा कोरोना पुष्टि भएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिए। उनका अनुसार अनुसार बाँकी २१ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ। 

ती कर्मचारीको सम्पर्कमा आएका ७, १४ र ८२ वर्षका पुरुष र एक जना ७२ वर्षीया महिलामा संक्रमण देखिएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ। उनीहरुमा कोरोना पुष्टि भएको पाइएपछि आइसोलेसनमा लगिएको छ। 

पोखरा महानगरपालिका–८ घर भएका कर्मचारीको ५ जना आफन्तको स्वाब परीक्षणका लागि पठाइएकोमा एक जनाको रिपोर्ट भने नेगेटिभ आएको उपाध्यायले बताए। उनका अनुसार संक्रमित कर्मचारीको श्रीमतीको भने रिपोर्ट नेगेटिभ आएको छ। ती कर्मचारीका दुई छोरा, आमा र बाबुमा संक्रमण भएको हो। 

तनहुँबाट कर्मचारी र जनप्रतिनिधि गरी २१ जनाको स्वाब परीक्षणका लागि पठाइएको थियो। त्यस्तै व्यास नगरपालिका–४ का २७ वर्षीया एक महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। भारतबाट घरमा आएकी महिलामा कोरोना पुष्टि भएको व्यास नगरपालिका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए। 

सोतीका अनुसार उनको साउन २० गते स्वाब नमुना संकलन गरी पोखरा स्वास्थ्य निर्देशनालय पठाइएकोमा बिहीबार रिपोर्ट पोजिटिभ आएको हो। संक्रमित महिलालाई शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको आइसोलेसनमा लगिएको सोतीले बताए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.