प्रहरीसहित ३ दिनमा १० थपिए

|

हेटौंडा : बागमती प्रदेशको राजधानी हेटौंडामा कोरोना संक्रमण दर निरन्तर बढिरहेको छ। कोरोना हटस्पट रहेको प्रदेश २ को नजिकै रहेर पनि अघिल्लो सातासम्म समुदायस्तरमा नदेखिएको कोरोना अहिले भने जिल्लामा तीव्र गतिमा फैलिन थालेको छ। 

पछिल्लो तीन दिनमा सदरमुकाम हेटौंडासहित मकवानपुरका  गाउँपालिकामा गरी १० जनामा संक्रमण पुष्टि भइसकेको छ। गत मंगलबार हेटौंडाका २ जना तथा थाहा नगरपालिकाका १ जना संक्रमित भए। त्यसैगरी बुधबार हेटौँडाका ३ जना तथा मकवानपुरगढीमा एक संक्रमित हुँदा आज बिहीबार नै हेटौंडाका दुई जनामा संक्रमण भएको पाइएको छ। त्यस्तै मकवानपुरगढीका १ जनामा पनि संक्रमण पुष्टि भएको छ।

कोरोना फैलिन सक्ने सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरमातहत रहेको कमाण्ड पोस्टले बुधबारबाट हेटौंडाको चुरियामाई नाकामा कडाई गरेको भए पनि मानिसहरु आवतजावतमा अझै पनि कमी नभएको स्थानीयको बुझाइ छ।  

कमाण्ड पोस्ट बनाएको नियमको कार्यान्वयन समेत भएको पाइएको छैन। अहिले पनि हेटौँडामा सार्वजनिक यातायातमा यात्रुहरु समेत भीडभाडमा यात्रा गर्न बाध्य छन्। 

प्रहरी चौकी नै सिल

हेटौंडा उपमहानगरपालिकाको एक प्रहरी चौकी सिल भएको छ। हेटौंडा १७ मा रहेको अस्थायी प्रहरी चौकीमा कार्यरत एक प्रहरीलाई कोरोना पोजेटिभ भएपछि उक्त प्रहरी चौकीलाई सिल गरिएको हो।

त्यहाँ कार्यरत सात जनामध्ये एकमा संक्रमण पुष्टि भएपछि उनलाई कोरोना आइसोलेसन वार्डमा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी इन्द्रबहादुर रानाले बताए। अन्य प्रहरीलाई समेत सेल्फ क्वारेन्टाइनमा बस्न भनिएको उनको भनाइ छ। यस्तै हेटौंडाको चुरेहिल अस्पतालमा उपचाररत एक जनालाई कोरोना पुष्टि भएपछि उक्त अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी पनि क्वारेन्टाइनमा बसेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.