|

इलाम : नेपाल जापान फुटबल संघले ब्लड क्यान्सर पीडित कसुमी राईको उपचारको लागि एक लाख ५६ हजार रुपैयाँभन्दा बढी सहयोग प्रदान गरेको छ।

संघका वरिष्ठ उपाध्यक्ष तथा पूर्वराष्ट्रिय खेलाडी शिव खड्का र पूर्वराष्ट्रिय खेलाडी वसन्त गौचनको अग्रसरतामा संकलन गरिएको नगद नेपाली महिला टिमका प्रशिक्षक हरि खड्का र महिला टिमकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले कसुमीका बुवा एपीएफका पूर्वखेलाडी एवं महिला टिमका प्रशिक्षक नरकुमार राईलाई प्रदान गरे। त्यसैगरी जुनियर फुटबल एकाडेमी सानेपाका प्रशिक्षक र स्टाफहरुले समेत २० हजार रुपैयाँ सहयोग प्रदान गरेका छन्।

क्यान्सर पीडित कसुमीको कान्ति बाल अस्पतालमा उपचार भइरहेको छ। कसुमीको उपचारका लागि हालसम्म करिब १० लाख रुपैयाँ सहयोग प्राप्त भएको छ। देशविदेशमा हुने नेपालीहरुले अझै सहयोग रकम जुटाउने प्रतिवद्धता दिएको नरकुमारले बताए। 

नरकुमार महिला फुटबलमा बलियो स्थितिमा रहेको एपिएफ महिला टिमको निमार्णकर्ता हुन्। राष्ट्रिय टिमकी गोलरक्षकसमेत रहेकी इलामकै एन्जिला तुम्वापो सुब्बासहित सावित्रा भण्डारी (साम्बा), अनिता बस्नेत, अनिता केसी, मनमाया लिम्बू, गीता राना, सरु लिम्बू जस्ता खेलाडीहरूलाई प्रशिक्षण दिएर राईले नेपाली राष्ट्रिय टोलीका भरपर्दा खेलाडीको रुपमा उभ्याउन सफल भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.