|

कपिलवस्तु : स्वास्थ्य सेवामा क्रियाशिल विभिन्‍न ट्रेड युनियन सम्बद्ध ८३ जना स्वास्थ्यकर्मीहरु जिल्ला जनस्वास्थ्य कार्यालय कपिलवस्तुको मूल गेटमा धर्नामा बसेका छन्। जसका कारण आकस्मिक सेवा बाहेक जिल्लाका नियमित कार्यक्रमहरु पूर्ण रुपमा बन्द छन्। विगत १० वर्षदेखि स्तरवृद्धि भएका कर्मचारीहरुलाई सोही अनुसार सेवा सुविधा तथा जिम्मेवारी दिनुपर्ने आन्दोलनरत कर्मचारीहरुको माग छ।

स्वास्थ्य मन्त्रालय समक्ष यस विषयमा जानकारी गराएको महिनौ बिति सक्दा समेत सरकारले बेवास्ता गरेका कारण आन्दोलन गरेको ९ (ख) कार्यान्वयन तथा पद व्यवस्थापन संयुक्त संयुक्त ट्रेड युनियन संघर्ष समिति कपिलवस्तुका संयोजक विष्णु बहादुर क्षेत्रीले बताए। सरकारले स्वास्थ्य सेवा ऐनको दफा ९ (ख) कार्यान्वयन तथा पद व्यवस्थापन गर्ने कार्यमा ढिला सुस्ति गरेको आरोप उनले लगाए। 

अन्य क्षेत्रका कर्मचारीको आन्दोलन हुन साथ माग पूरा हुने गरेको तर स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा सरकारले ध्यान नदिँदा आन्दोलनमा उत्रन बाध्य भएको आन्दोलनरत कर्मचारी बताउँछन्।

संयुक्त ट्रेड युनियन केन्द्रीय कार्यसमितिको निर्णय अनुरुप पछिल्लो समय कपिलवस्तुमा पनि आन्दोलन थालिएको धर्नामा सहभागी स्वास्थ्यकर्मीहरुले बताए। उनीहरुले मगंलबार कार्यालय परिसरमै पत्रकार सम्मेलन गरे। कार्यक्रममा देशभरीका तीन हजार ५ सय ५७ जना स्वास्थ्यकर्मीहरुको कामकारबाही प्रति स्वास्थ्य कार्यालय गम्भीर नभएको आरोप स्वास्थ्यकर्मी युनियनका केन्द्रीय सद्य सुभेन्द्रराज जोशीले लगाए।

उनले स्थानीय स्तरमा रहेका स्वास्थ्यकर्मीहरुलाई राज्यले बेबास्ता गरेको बताए।'नाम, दाम राज्यले दिएको भएपनि काम गर्न नदिँदा हामीलाई अफ्ठयारो परेको छ,' उनले भने।

अत्यन्तै कठिन र जटिल परिस्थितिमा समेत निरन्तर स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेका स्वास्थ्यकर्मीलाई प्रोत्साहित गर्नेभन्दा पनि निरुत्साहित गर्ने रणनीतिमा स्वास्थ्य मन्त्रालय लागेको अखिल नेपाल प्रगतिशिल स्वास्थ्यकर्मी संगठनका केन्द्रिय सदस्य विष्णु पौडेलले लगाए।

ऐनमा भएको व्यवस्था कार्यान्वनका लागि सरकारलाई दबाब दिन संयुक्त ट्रेड युनियन संघर्ष समितिले देशैभर आन्दोलन गरेको हो। कपिलवस्तुका स्वास्थ्यकर्मी पनि आन्दोलित हुँदा जिल्लाको दक्षिणी क्षेत्रमा बढी मात्रामा प्रभाव परेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.