|

स्याङ्जा : अतिथि देव भवः भन्ने नेपाली समाजमा घरमा पाहुना नआए हुन्थ्यो कसले भन्छ र? तर, स्याङ्जाको एक गाउँमा पाहुना आउँदा गाउँबासी नै पिरलोमा पर्ने गर्दछन्। 

‘घरमा पाहुना नआए हुन्थ्यो, आए पनि पानी नमागे हुन्थ्यो यो हाम्रो बाध्यता हो,’ गल्याङ नगरपालिका–२ बटुवाका योगनाथ भण्डारी भन्छन्, ‘घडी हेरेर भरेको तीन गाग्री पानीले के गर्ने, कतिलाई पुर्‍याउने?’

गल्याङ–२ बटुवामा पानीको हाहाकार भएपछि स्थानीयबासीले पानी भर्ने समय पाँच मिनेट तोकेर पानी भर्नुपर्ने बाध्यता छ। गण्डकी प्रदेश सरकारले एक घर एक धाराको अभियान सञ्चालन गर्दै गर्दा यहाँका १५ घरधुरीलाई त्यो नाराले छुन सकेको छैन। घडी हेरेर पानी भर्दै आएको दशकौँ वर्ष बित्दा पनि कसैको ध्यान जान सकेको छैन। 

धेरै राजनैतिक दल जनप्रतिनिधिले आश्वासन दिए पनि खाने पानीको समस्या उस्तै रहेको र कहिले घर घरमा पानी आउला भन्ने आशमा रहेको कक्षा १० मा अध्यानरत पबिना भण्डारी बताउँछिन्। उनी भन्छिन्, ‘सिद्धार्थ राजमार्गको जिरोदेखि मिर्मीसम्मको सडक खण्डमा धेरै नेता मन्त्रीले यात्रा गर्दा हाम्रो पीडा देखेका छन्। तर कसैले समस्या बुझेनन्।’

अहिले यहाँका सर्बसाधारणले ग्वादी खानेपानी उपभोक्ता समितिबाट एउटा धारामा आएको पानी खाइरहेका छन्। पानीकै समस्याको कारण अधिकांश विद्यार्थीको पढाइमा असर परेको छ। समयमा पानीको लाइनमा नबसे पानी भर्न नपाउने, लाइनमा बसे स्कुल तथा क्याम्पस जान नभ्याइने गुनासो विद्यार्थीको छ।

पालोको पाँच मिनेटभित्र भरिएको पानीले भान्सा कोठादेखि शौचालय, करेसाबारी र गाईबस्तुलाई पु¥याउनुपर्ने बाध्यता रहेको छ। डुँडीखोला लिफ्टिङ खानेपानी आयोजनामार्फत पानीको समस्या यही वर्षभित्र अन्त्य गर्न आफूहरु लागिपरेको वडा अध्यक्ष युव कर्मचार्य बताउँछन्। 

‘बटुवा क्षेत्र उच्च ठाउँमा भएको कारण नजिकै मुल भेटिएन, त्यसैले ढिला भएको बताउँदै कर्मचार्य भन्छन्,’ वडाध्यक्ष कर्मचार्यले भने, ‘कुनै पनी हालतमा यो वर्षभित्र बटुवाबासीले लिफ्टिङ खानेपानीमार्फत घर घरमा खानेपानी पाउँछन्।’

मानव जीवनको अत्यावश्यक आवश्यक्ता खानेपानीको समस्या हुँदा कस्तो पिरलो हुन्छ? भन्ने विषय कल्पना पनि गर्न सकिँदैन। बेलैमा सरोकारवाला निकायको ध्यान जान जरुरी देखिन्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.