सदस्यता वितरण भएन, अर्को कारण कोरोनाको त्रास

|
फाइल फोटो

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको १४ औँ महाधिवेशन सार्ने तयारी गरिएको छ। कोरोना महामारीका कारण आवश्यक तयारी गर्न जोखिम हुने भन्दै कांग्रेसका शीर्ष नेताहरुले सहमति गरेर केन्द्रीय समिति बैठकमा प्रस्ताव लैजान लागेका हुन्।

नेताहरुले महाधिवेशन २०७८ जेठमा हुने गरी सहमति छलफल गरेका हुन्।  कांग्रेसको १४ औँ महाधिवेशन आगामी फागुन ७ गतेका लागि तोकिएको छ।  क्रियाशिल सदस्यता नवीकरण तथा वितरण, संगठन समायोजन लगायतको काम समयमै सम्पन्न नहुने अनुमान लगाउँदै नेताहरुले महाधिवेशन सार्न लागेका हुन्। 

बिहीबार देउवाले आफ्नै निवास बूढानीलकण्ठमा पार्टी पदाधिकारी तथा शीर्ष नेताहरुलाई बोलाएर क्रियाशील सदस्यता शतप्रतिशत बढाउने निर्णय गराएका थिए। बिहीबार देउवा निवासमै भएको छलफलमा नेताहरुले देउवालाई समयमै महाधिवेशन गर्न नसक्ने र तत्कालै नयाँ मिति तोकेर तयारी गर्न सुझाव दिएका थिए।

‘हामीले सभापतिज्यूलाई अहिले तोकेको मितिमा महाधिवेशन गर्न सकिँदैन भनेर पनि सुझाव दियौँ,’ वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका एक नेताले भने, ‘सभापतिज्यू आफू नै कसरी फेरि सभापति हुने भनेर विधान मिच्‍ने, अहिले आएर विभाग गठन गर्ने काममा व्यस्त हुनुहुन्छ तर महाधिवेशनका लागि गर्नुपर्ने तयारी केही गर्नु भएको छैन। कोरोनाको डर त्यस्तै छ। उता पार्टीको संगठन समायोजन, सदस्यता नवीकरण, सदस्यता वितरणको काम पनि केही भएको छैन अनि कसरी सकिन्छ फागुनमा महाधिवेशन गर्न?’ 

बिहीबारको बैठकमा कृष्णप्रसाद सिटौलाले अहिलेको तयारी र परिस्थितीले फागुनमा महाधिवेशन गर्न नसक्ने बताएका थिए। 'कृष्णप्रसाद सिटौलालगायत केही नेताले फागुनमा महाधिवेशन गर्न सकिँदैन वैशाख जेठमा सार्नुपर्छ भन्‍नुभएको थियो,’ कांग्रेस सहमहामन्त्री डा.प्रकाशशरण महतले भने, ‘यो छलफलको विषय चाहिँ भएको छ। ठ्याक्कै वैशाखमै सार्ने, जेठमै सार्ने भन्‍ने कुरा पार्टीले नै निर्णय नगरी भन्‍न सकिने कुरा छैन।’ 

कांग्रेसको आन्तरिक संगठन संरचना समायोजनको काम पनि देउवाको जिल्ला डडेलधुरालगायत जिल्लामै बाँकी छ। संगठन समायोजन नसकेपछि साउन मसान्तभित्र क्रियाशील सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरणको काम पनि प्रभावित भएको छ। त्यसो त संगठन संरचना समायोजन, सदस्यता नवीकरण र वितरण भएपछि मात्रै जिल्ला कार्यसमितिले सिफारिस गरेर अन्तिम नामावली फागुन महिना भित्र पठाइ सक्नुपर्नेछ।

तर, यी सबै कामहरु प्रभावित छन्।   जिल्लाबाट प्राप्त भएको नाम केन्द्रले असोज १५ गतेभित्र सदस्यता छानविन समितिमा उजुरी दिन सकिने प्रावधान छन्। उक्त छानविन समिति नै अहिलेसम्म बनेको छैन।

बिहीबारको पार्टी पदाधिकारी बैठकमा देउवाले उक्त समितिको सदस्यको लागि नाम दिन अर्का नेता रामचन्द्र पौडेललाई आग्रह गरेका थिए। त्यस्तै प्रदेश र स्थानीय तहमा रहने छानविन समिति पनि अझै निर्माण भएको छैन। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.