उजुरी गर्ने स्थानीयको नम्बर तस्करलाई दिन्छ प्रहरी

|

उदयपुर : जिल्लामा अवैध रुपमा बालुवा, गिटी र ढुंगा चोरी निकासी गर्ने समूहका कारण गाउँ बस्ती नै जोखिममा पर्न थालेको छ।

जिल्लामा खोला तस्करको बिगबिगी बढेको छ। स्थानीय तह र प्रहरी प्रशासनको पनि मिलेमतोमा स्थानीयलाई ज्यान मार्ने धम्कीसम्म आउने गरेको छ। तस्करले अवैध रुपमा खोला खन्न थालेपछि उदयपुर गढी गाउँपालिका ७ को कोल्टे त विस्थापित हुने खतरामै पुगेको छ। 

नयाँ सिडियो आएसँगै केही कडाइ

प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डे उदयपुरमा आएसँगै जिल्लाभित्र प्राकृतिक स्रोत साधनको दोहन गर्ने समूहमाथि तीव्र निगरानी गर्न थालिएको छ। उदयपुरगढी गाउँपालिका–७ बलान खोलामा थुपारेर राखिएका २८ सय घनमिटर ढुंगा प्रशासनले नियन्त्रणमा लिएको छ। केही दिनअघि मात्र प्रहरीले सोही खोलाबाट ७ वटा ट्याक्टर पनि नियन्त्रणमा लिएको थियो। 

प्रहरीले सक्रियता बढाएको छ : एसपी दाहाल

जिल्लाभित्र अवैध रुपमा कुनै पनि गतिविधि गर्ने व्यक्ति वा समूहलाई नछोड्ने र कानुनको दायरामा ल्याउने जिल्ला प्रहरी प्रमुख भीम दाहालले बताए। बलान खोलाको दोहनले सिचाइँको नहर नै भत्किएकाे छ। अवैध रुपमा बलान खोला खन्ने कार्यले त्यहाँ बनाइएको सिँचाइको नहरै भत्काइदिएको छ। 

तीन करोड २० लाख लागतमा निर्माण गरिएको उक्त नहर नदी बिचौलियाका कारण नै भत्किएको र खोला उत्खन्नले गाउँ नै विस्थापित भएको छ। साथै दशौं बिघा खेतसमेत खोलान खनेकै काराण बगिसकेको छ। 

प्रहरीकै मिलेमतोमा तस्करी भइरहेको स्थानीयको आरोप  

प्रहरी र वन कार्यालयका कर्मचारीकै मिलेमतोमा चोरी निकासी हुने गरेको स्थानीय शुभनारायण यादवले आरोप लगाए। उनले भने, ‘प्रहरीमा उजुरी गर्दा प्रहरीले बिचौलियालाई फोन गरेर हामी पक्राउ गर्न आउँदैछौं, तिमीहरु भाग्नु भनेर प्रहरीले नै भगाउने गरेका छन्।’ 

तर यो विषयमा आफू नयाँ भएर यहाँ आएकाले थाहा नभएको र प्रहरीको मिलेमतो भए अनुसन्धान गरेर कारबाही गर्ने एसपी दाहालले भने आश्वासन दिए। 

स्थानीयलाई धम्की 

बलान खोला उत्खनन गरेको विषयमा स्थानीयले विरोध जनाउँदा स्थानीय सामुदायिक वनका अध्यक्ष र्शेपा बहादुर खप्पागीले ज्यान मार्ने धम्की दिएका स्थानीय रुद्र बहादुर खत्रीले बताए। स्थानीयका अनुसार फोनबाट प्रहरीलाई खबर गर्दा उल्टै प्रहरीले नै बिचौलियालाई नम्बर दिने गरेका छन्। 

बिचौलियालाई कारण असुरक्षित भएको गाउँलेहरुले बताएका छन्। ‘प्रहरीको विश्वास नभए मलाई फोन गर्नुस्’, स्थानीयलाई आफ्नो मोबाइल नम्बर दिँदै प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए।

गाउँपालिका भने बेखबर  

आफ्नै गाउँपालिकामा दश बिघा बिघा खेत बगाउँदा र गाउँका १५ भन्दा बढी घर विस्थापित हुँदा पनि आफूलाई कुनै जानकारी नआएको र वडाध्यक्षले खबर नगरेको उदयपुरगढी गाउँपालिका अध्यक्ष मान बहादुर केप्पछाकी मगरले बताए। 

तर नदीले कटान गरेको र घर विस्थापित भएको ठाउँ वडा नम्बर ७ का अध्यक्ष कर्णमाया मगरले भने वडामा निवेदन नपरेकाले यसबारे कारबाही गर्न नसकिएको बताएकी छन्। ढुंगा बिक्री गर्न टेन्डर खोल्न बिचौलियालाई कारण नसकिएको समेत गाउँपालिका अध्यक्ष केप्पछाकीले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.