|

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले कोरोना भाइरस संक्रमण जोखिम बढ्दै गएकाले सबै तहका सरकारले वैकल्पिक शिक्षा प्रणालीलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। 

संघीय संसद, प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबार बसेको बैठकमा मन्त्री पोख्रेलले संक्रमणको जोखिम बढ्दै गएकाले प्रत्यक्ष कक्षा कोठामा भेला भएर पठनपाठन गर्ने अवस्था नरहेकाले सबै तहका सरकारले वैकल्पिक सिकाइलाई जोड दिनुपर्ने बताएका हुन्। 

वर्तमान अवस्था असामान्य रहेकाले असामान्य ढंगले नै सिकाइ र बुझाइका मान्यतालाई विकास गर्नुपर्ने आवश्यकता रहेको उनले बताए। बन्दाबन्दीका समयमा विभिन्न वैकल्पिक माध्यमबाट गरिएको सिकाइ शैक्षिक सत्रसँग जोडिने र शैक्षिक सत्रको गणना हुने जानकारी गराउँदै सोहीअनुसार वैकल्पिक सिकाइलाई स्थानीय सरकारले जोड दिनुपर्ने उनको भनाइ थियो। 

लामो समयदेखि स्कुलहरु बन्द रहेकाले पठन पाठन प्रभावित रहेकोतर्फ सरकार सचेत र गम्भीर बन्दै दूर शिक्षा पद्धतिका आधारमा सिकाइ अगाडि बढाउन निर्देशिका जारी गरेको मन्त्री पोखरेलले बताए। 


बैठकमा केही समिति सदस्यले निजी क्षेत्रबाट सञ्चालित विद्यालयले अनलाइन शिक्षा सुरु गरेको भए पनि तीनै स्कुलका शिक्षकले तलब नपाएको तर सामुदायिक स्कुलका शिक्षकले बसी बसी तलब पाइराखेको भन्दै उनीहरुको समस्याको सम्बोधन पनि सरकारले गर्नुपर्ने धारणा राखेका थिए। केही सदस्यले विगतमा मुनाफा कमाएका निजी स्कुलले शिक्षकलाई तलब दिन नसके ती स्कुलका विद्यार्थी र शिक्षकको जिम्मा सरकारले लिनुपर्ने धारणा राखेका थिए।

समिति सदस्य अञ्जना बिशंखेले शिक्षकलाई तलब दिन नसक्ने निजी स्कुलले आफ्नो स्वामित्व सरकारलाई सुम्पनुपर्ने धारणा राखे। 

सदस्य खगराज अधिकारीले भने निजी क्षेत्रका विद्यालयका शिक्षक बेरोजगार भएकाले आधा तलब सरकारले व्यहोर्नुपर्ने गर्ने गरी समस्या सम्बोधन गर्नुपर्ने बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.