नागरिकले गैरजिम्मेवार बनिदिँदा संकट थेग्‍न गाह्रो

|

काठमाडौं : शुक्रबार थप १ सय ६ जना संक्रमित थपिएसँगै उपत्यकामा कोरोना जोखिम उच्च भएको छ। संक्रमितको सम्पर्कमा आएका धेरै मानिसको परीक्षण गर्न बाँकी छ। स्थानीय सरकार र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले संक्रमितको सम्पर्कमा आएकालाई कन्ट्याक ट्रेसिङ गर्ने काम गरिरहेका छन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्‍वर गौतमले शुक्रबार नियमित प्रेस ब्रिफिङमा काठमाडौंमा यही गतिमा संक्रमित बढदै गए उपचारका लागि अस्पतालमा बेड र स्वास्थ्यकर्मी अभाव हुन सक्ने फेरि दोहोर्‍याएका छन्। उपत्यकामा तोकिएका तीनवटा कोभिड अस्पतालमा संक्रमित अटाउन नसक्ने अवस्था भएपछि सरकारले यस्तो भनेको हो। 

गौतमले भनेअनुसार कोभिड उपचार केन्द्र तोकिएका अस्पतालमा बेड अभाव हुँदै गएको छ। काेराेना जोखिमबाट सुरक्षित रहन सरकारले तोकेको स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गर्दै आएकाे छ। 

सरकारले कोभिड उपचार केन्द्र तोकिएका राजधानीमा तीन अस्पतालमा क्षमता भन्दा धेरै संक्रमित छन्। दिनदिनै संक्रमित बढदै जाँदा अस्पतालमा पनि दबाब बढिरहेको छ। अस्पतालबाट पुराना संक्रमित निको भएर नजाने हो भने लक्षणसहितका थप नयाँ संक्रमितले बेड नपाउने अवस्था सिर्जना भएको छ।

बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल, ललितपुरको पाटन स्वास्थ्य विज्ञान स्वास्थ्य प्रतिष्ठान र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अहिले २ सय ४१ जना संक्रमित उपचाररत छन्। यो समाचार तयार पार्दासम्म सशस्त्र प्रहरीको अस्पतालमा १ सय २२ जना संक्रमित उपचाररत छन्। अस्पतालको आइसोलेसन बेडको क्षमता १ सय २० हो। हाल क्षमताभन्दा बढी संक्रमित राखेर अस्पतालमा उपचार भइरहेको छ।

२ जना संक्रमित त आइसियुमा छन्। आज नयाँ संक्रमित ३ जना भर्ना भएका छन्,  आजै ३ जना डिस्चार्ज भएका अस्पतालले जनाएको छ। अस्पतालमा जति पुराना संक्रमित निको भएर जान्छन्, त्यति नयाँ संक्रमितलाई भर्ना गरिने गरिएकाे सशस्त्र प्रहरी अस्पतालका डा. प्रवीण नेपालले जानकारी दिए। 

अब आउने दिनमा नयाँ संक्रमितका लागि बेड उपलब्ध गराउन धेरै संक्रमित निको भएर गए मात्र सकिने मात्र उनले बताए। यही गतिमा दिनप्रतिदिन संक्रमित थपिए अस्पतालमा आउनेले बेड नपाउने उनले बताए।

शुक्रराज ट्रपिकल अस्पतालमा कोभिड संक्रमितका लागि ५० बेड तयार गरिएको छ। आइसोलेसन ३० बेड र २० आइसियु बेड निर्माण गरिएको छ। ९ वटा भेन्टिलेटर निर्माण गरिएको छ।

अस्पतालमा अहिले ४७ जना संक्रमितको उपचार भइरहेको छ। लक्षण सहितको कोही नयाँ बिरामी आएमा तत्काल भर्ना गरिने शुक्रराज अस्पतालका निर्देशक सागर कुमार राजभण्डारीले सुनाए। 'जति धेरै संक्रमित निको हुन्छन् त्यति नयाँ संक्रमितलाई भर्ना लिन सकिन्छ,' निर्देशक राजभण्डारीले भने,' दैनिकजसो ७ देखि ८ जना बिरामी निको हुँदै गएका छन्।'

त्यसैगरी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६० जनाको आइसोलेसन क्षमता भएको ठाउँमा ७२ जनाको उपचार भइरहेको छ। अस्पतालले जबरजस्ती कोठा र बेड व्यवस्थापन गरेर संक्रमितको उपचार गरिरहेको अस्पतालका निर्देशक विष्णु शर्मा बताउँछन्। उनले भने, 'अस्पतालको आइसियुमा ४ जना उपचाररत छन्। तीन जनाको अवस्था गम्भीर छ।' अस्पतालमा भर्ना हुन आएका कसैलाई नफर्काएको उनले प्रस्ट पारे।

दिनहुँजसो लक्षणसहित र लक्षणबिनाका संक्रमित बढदै गएका छन्। लक्षण नभएकामध्ये केही बिरामीलाई कीर्तिपुरस्थित आयुर्वेद अस्पताल र दुवाकोटस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ। केएमसी अस्पतालले सामान्य लक्षण भएका बिरामी ५० भन्दा बढी  र कीर्तिपुरको अस्पतालले करिब २० जनालाई आइसोलेसनमा राखी उपचार गरिरहेको छ।

देशभर दैनिकजसो कोरोना संक्रमितको संख्या बढिरहेको छ। दिनहुँ जसो अस्पतालको बेड भरिन थालेका छन्।

'स्वास्थ्य सुरक्षा मापदण्ड अपनाऔं'

संक्रमित बढ्न नदिन र अस्पतालमा भरपर्दो सेवा दिन के गर्नुपर्छ? भनेर वरिष्ठ सरुवा रोग विशेषज्ञ र भाइरोलोजिस्ट डाक्टर शेर बहादुर पुनलाई हामीले प्रश्‍न गरेका छौं।

उनले भने, 'सबैभन्दा पहिले सर्वसाधारणले जनस्वास्थ्यको मापदण्ड अपनाउनुपर्छ। भीडभाडमा जानुहुन्‍न। नाक र मुख छोपेर मास्क अनिवार्य लगाएर हिँड्नुपर्छ। अहिले पनि भीडभाड बढिरहेको छ। यसले पनि बढी जोखिम निम्त्याइरहेको छ।'

स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाए मात्र धेरै संक्रमित नियन्त्रण भएर जाने पुनको दाबी छ। अस्पतालमा जान नपरोस् भनी नागरिकले सुरक्षाका मापदण्ड अपनाउनुपर्नेमा उनले जाेड दिए। कति सुरक्षित रहने भन्ने नागरिकको कोर्टमा आएको उनको भनाइ छ।

'निजी अस्पताल प्रयोग गरौ'

कोरोना नियन्त्रणका लागि सरकार र नागरिकको दुवै जिम्मेवारी हुनुपर्ने इपिडिमियोलोजी रोग नियन्त्रण महाशाखा निर्देशक डा. बासुदेव पाण्डे बताउँछन्। अस्पतालमा बेडको अभाव भयो भनेर सरकारले नागरिकले घरमा सुरक्षित भएर बस्नुपर्छ भन्‍न नमिल्ने उनको भनाइ छ।  

'कोभिड अस्पतालमा बेडको अभाव भए निजी अस्पताललाई सरकारले उपचारको थालनी गर्नुपर्छ,' उनले भने,' संक्रमणबाट बच्‍न लागि नागरिक पनि उत्तिकै सचेत हुनुपर्छ। देशभरका अस्पतालमा बेडको अभाव हुन थालेको छ अब सरकारले निजी अस्पतालमा कोरोनाको उपचार हुने व्यवस्था मिलाउनुपर्ने आवश्यकता भइसकेको छ।'

'अस्पताल थप्छौ‌ं, नागरिक जिम्मेवार हुनुपर्छ'

नेपाल प्रहरी र सेनाको अस्पताललाई कोभिड उपचार केन्द्र बनाइ सकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता जागेश्वर गौतमले बताए। सरकारको पहिलो दायित्व नागरिकको स्वास्थ्यको रक्षा गर्ने पहिलो दायित्व रहेको पनि उनी बताउँछन्।

'अस्पतालमा बेड अभाव भएकोले लक्षण नदेखिएको संक्रमितलाई भर्ना नगर्ने भन्दै बारम्बार आइरहेको छौ, 'गौतमले भने,' संक्रमितको उपचार गर्नलाई स्वास्थ्यकर्मीको व्यवस्था गरिएको छ। नागरिकले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउनुपर्छ। उपचार केन्द्र थप्छौँ तर नागरिक जिम्मेवार बन्‍नुपर्छ।'

देशभर कोरोनाको जोखिम बढ्दै गएको बताउँदै उनले अब पनि नागरिक जिम्मेवार नहुने हो थेग्‍न नसकिने बताए। पाण्डेले नागरिकको लापरवाही र गैरजिम्मेवारीपनले अस्पतालमा बेड अभाव भएर राख्‍न नसकिने उल्लेख गरे। यसले धान्‍न नसकेर सरकारलाई पनि संकट पर्ने उनको तर्क छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.