|

भद्रपुर, (झापा) : मदिराको नशामा एक व्यक्तिलाई कुटपिट गरी हत्या गर्ने फरार आरोपीलाई झापा प्रहरीले १७ वर्षपछि पक्राउ गरेको छ। घटनामा संलग्न अन्य केही आरोपी अझै फरार रहेको प्रहरी कार्यालय झापाले जनाएको छ।

साविक टाघनडुब्बा गाविस-४ (हाल झापा गाउँपालिका-४) बस्ने ४५ वर्षीय बिरिकलाल माझीको कुटपिट गरी हत्या गरेको आरोपमा झापा प्रहरीले हाल हल्दिबारी गाउँपालिका बस्ने दुर्गा मगर भन्ने दुर्गा बहादुर थापामगरलाई पक्राउ गरेको हो। पक्राउ परेका थापामगरलाई प्रहरी कार्यालय झापाले शुक्रबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका हुन।

झापा जिल्ला अदालतबाट २०७७ साल वैशाख १ गते प्रहरी कार्यालय झापाले पक्राउ अनुमति लिई खोजी गर्ने क्रममा आरोपी थापा मगरलाई प्रहरी कार्यालय झापाबाट प्रहरी निरीक्षक साकार राज पन्तको टोली साउन २२ गते मेचीनगर नगरपालिका १२ शहरेडाँगी स्थित आफन्तजनको घरमा लुकीछिपी बसी रहेको अवस्थामा पक्राउ गरिएको प्रहरी कार्यालय झापाका एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए।

घटनापश्चात ओरापी थापा मगर घर छाडेर काठमाण्डौ, भारतको कलकत्ता, दार्जिलिङ लगायतका विभिन्न स्थान, वैदेशिक रोजगारीको लागि मलेसिया र दुबई समेत गएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको एसपी कोइरालाले बताए। 

प्रहरीका अनुसार २०६० साल कार्तिक ३० गतेका दिन ससुरा नाता पर्ने विष्णुलाल माझीको घरमा उनकै छोरीसँग भेट गर्न आएका बिरिकलाल माझीलाई आरोपी थापा मगरसहित तीन /चार जना मिलेर सामूहिक रुपमा कुटपिट गरेका थिए। छोरीको घरबाट साँझ घुमफिर गर्न निस्किएका बिरिकलाल घर नजिकैको मणिकुमार राईको भट्टी पसलमा चुरोट किन्न पुगेका थिए।

पसल सञ्चालकका छोरीले चुरोट दिँदा उनको हात छोएको निहुँमा त्यही पसलमा मदिरा सेवा गरिरहेका थापा मगरसहित तीन/चार जनाले बिरिकलालसँग विवाद गरेका थिए। विवादसँगै झगडा बढ्दै गएपछि नातामा ससुरा पर्ने विष्णुलाल घटनास्थल पुगेर दुवै पक्षलाई सम्झाई बुझाई बिरिकलाललाई घर लिएर आएका थिए। बिरिकलाललाई घरमै छाडेर विष्णुलाल पूजाको निम्तो दिन गाउँ गएको मौका छोपी आरोपी थापा मगर र खेम फुयल लगायतका व्यक्तिहरूले घरमै पुगेर बिरीकलाललाई तँलाई मार्छौ भन्दै भुईँमा लडाई चिर्पट दाउरा र छालाको बुट, लात्ती प्रहार गरी गम्भीर घाइते बनाएका थिए।

उनीहरूको कुटपिटबाट गम्भीर घाइते भएका बिरिकलालको उपचारको क्रममा चार दिनपश्चात् मृत्यु भएको थियो। बिरिकलालको मृत्यु पश्चात् उनका ससुरा नाता पर्ने विष्णुलालले कुटपिट गरी कर्तव्य ज्यान मुद्दामा प्रहरी कार्यालय झापामा किटानी जाहेरी दिएका थिए। 

घटनाको आरोपीलाई कसुर मुलुकी ऐन २०२० को ज्यान सम्बन्धी महलको दफा १३ बमोजिमको कसुर रहेकोले सोही ऐनको सोही महलको १३(३) बमोजिम जन्मकैद सम्मको सजाय हुनसक्ने व्यवस्था रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.