|

संखुवासभा : संखुवासभाको मकालु गाउँपालिका-१ मा निर्माणाधीन इसुवाखोला हाइड्रोपावरले पीडित स्थानीयलाई ९ करोड रुपैयाँ रकम थप गर्ने भएको छ। हाइड्रोपावर कम्पनीले  जमिनको किर्ते कागज बनाएर करोडौं रकम घोटाला गरेको जानकारी पाएपछि स्थानीय आन्दोलित भएका थिए।

हाइड्रोपावर कम्पनीले प्रतिआना एकदेखि डेढ लाख रुपैयाँ हालेर जग्गा खरिद गरी मालपोत कार्यालय खाँदबारीमा १४ लाख रुपैयाँमा खरिद गरेको भन्दै किर्ते कागजात तयार गरी ठगेको रहस्य खुलेको थियो। 

इसुवा हाइड्राले किर्ते कागज बनाएर करोडौं रकम ठगी गरेको समाचार गत २०७६ भदौ १२ गते थाहाखबरमा प्रकाशित भएको थियो। कम्पनीका वीरेन्द्र बहादुर न्यौपाने र सञ्चालक समेतको उपस्थितिमा २०७५ फागुन १ गते कम्पनीको नाममा जग्गा खरिद गर्ने सहमती भएको थियो।

आयोजनाले स्थानीयलाई बारीको प्रतिरोपनी दुई लाख र पाखोबारीको प्रतिरोपनी एक लाख ५० हजार रुपैयाँका दरले मुआब्जा दिएको थियो। तर, मालपोत कार्यालयमा हेर्दा प्रतिरोपनी आठदेखि १० लाख रुपैयाँसम्ममा रजिस्ट्रेसन पास गरेको पाइएको थियो। 

इसुवा हाइड्रोपावर लिमिटेडले मकालु-१ का स्थानीयलाई प्रतिरोपनी ३ लाख रुपैयाँका दरले रकम थप गर्ने भएको वडाध्यक्ष वाङदी छिरिङ शेर्पाले जानकारी दिए। आयोजनाको नाम बेचेर जग्गाको अधिकतम प्रतिरोपनी २ लाख रुपैयाँ मुआब्जा दिई आठदेखि १० लाख रुपैयाँ मूल्य निर्धारण गरेको भेटिएपछि स्थानीयले विरोध जनाएका थिए।

आयोजनाले स्थानीयलाई पाखोबारीको प्रतिरोपनी १ लाख ५० हजार र बारीको प्रतिरोपनी २ लाख र मुआब्जा दिएको थियो। इसुवा हाइड्रोपावर कम्पनीका प्रतिनिधि, स्थानीयवासी र मकालु-१ का वडाअध्यक्ष वाङदी छिरिङ शेर्पासहित बसेको बैठकमा प्रतिरोपनी ३ लाख रुपैयाँ रकम थप गर्ने सहमति भएको हो।

आयोजना निर्माण गर्ने कम्पनीले स्थानीयबासीको जग्गा प्रतिआना एक लाखमा खरिद गरी नक्कली कागजात बनाएर ३७ लाख सम्ममा खरिद गरेको बनाएर कम्पनीको नाममा करोडौंको मुल्याङ्कन गरेको प्रमाण भेटिएको थियो।

प्रतिरोपनी थप गरेको ३ लाख बाहेक बैठकले परियोजनाका लागि सडक निर्माण गर्दा प्रयोग हुने अन्य जग्गा वापत प्रतिरोपनी एक लाख रुपैयाँ थप गर्ने र यस अघि खरिद गरेको जग्गाको रकममा कट्टा गरेको ५ प्रतिशत रकम समेत फिर्ता गर्ने सहमती पीडित कुसाङदोर्ची शेर्पाले जानकारी दिए।

हाइड्रोपावर आयोजनाले करिव २५२ रोपनी जग्गा खरिद गरेको थियो। मकालु-१ मा ९७.२ मेघावाट क्षमताको विद्युत उत्पादन गर्न इसुवाखोला हाइड्रोपावर केभिएनआर विराटनगर र बिगवर्ल्ड हाइड्रोपावरले निर्माणको कार्य गरिहेका छन्। आयोजनाले पीडितलाई बैक खाता मार्फत रकम भुक्तानी दिने सहमति भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.