|

पर्वत : गण्डकी प्रदेशको राजधानी कास्कीको पोखरामा रहेको पृथ्वी नारायण (पिएन) क्याम्पसका शिक्षकहरूले क्याम्पस प्रमुखको कार्यकक्षमा तोडफोड गरेका छन्।

क्याम्पसमा अध्यापनरत आंशिक शिक्षकहरूले छ महिनादेखिको तलब नपाएको र आफ्ना मागहरू पूरा नगरिएको भन्दै क्याम्पस प्रमुख प्रा.डा. सरोज कोइरालाको कार्यकक्षमा शुक्रबार तोडफोड गरेका हुन्। तोडफोडका क्रममा क्याम्पस प्रमुखको कार्यकक्षको दुईवटा झ्याल फुटेका छन्। केही कुर्सीहरू पनि भाँचिएका छन्। घटनाअघि आंशिक शिक्षक संघको नेतृत्वमा शिक्षकहरूले तलबको माग राख्दै ज्ञापनपत्र बुझाएका थिए। ज्ञापनपत्र बुझाएपछि तालाबन्दी गर्न जाँदा प्रमुखले समय नदिएपछि शिक्षकहरूको समूहले तोडफोड गरेका हुन्। क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी पनि गरेका छन्।

विगतबाट नै रहँदै आएको समस्या समाधानका लागि कुनै पनि क्याम्पस प्रमुखहरूले चासो नदिएको र हालसम्म कुनै पनि क्याम्पस प्रमुखले समस्या समाधान गर्न चासो नदिएका कारण तोडफोडसम्मको अवस्था आएको संघका अध्यक्ष  सुनिल गौतमले बताए। ‘यो हामीले ल्याएको परिस्थिति होइन। वर्षौँदेखि रहेको समस्या समाधानका लागि कोही पनि प्रमुखले चासो नदिँदा यस्तो भएको हो। हाम्रा कुरा नसुनी बैठकको बहाना गरेर फेरि पनि समस्या बल्झाउने प्रयास क्याम्पस प्रमुखबाट भयो,’ उनले भने, ‘अहिलेबाट होइन, १४ वर्षअघिदेखि नै आंशिकका रूपमा रहेका छौँ। हामीलाई करार गरिनुपर्छ। हाम्रो पीडाबारे बुझिदिनुपर्छ। हाम्रा माग पूरा नभए आन्दोलनका थप कार्यक्रम ल्याउन बाध्य हुनेछौँ।’

यसअघि पनि क्याम्पसमा आंशिक शिक्षक र प्रशासनबीच विवाद भएको थियो। ७० प्रतिशत कक्षा भार सम्हालेका आंशिक शिक्षकलाई मासिक तलब हुनुपर्ने माग राख्दै आंशिक शिक्षकहरूले पठनपाठन रोकेका थिए। क्याम्पसमा २२० जना आंशिक शिक्षक कार्यरत छन्। ज्यालादारीको रूपमा पढाइरहेका उनीहरूले आफूहरूलाई करारमा नियुक्त गर्नुपर्ने माग राख्दै आएका छन्। आफूहरू १४ वर्षदेखि आंशिक पदमा रहेकाले आफूहरूलाई करारमा राखिनुपर्ने माग राख्दै आएका छन्।

यता क्याम्पस प्रमुख प्रा.डा. कोइरालाले समस्या समाधान गर्न केन्द्रसँग निरन्तर संवादमा रहेको र सोमबारसम्ममा समस्या किनारा लाग्ने आशा लिएको बताए। शुक्रबारको घटनाको विषयमा केन्द्रमा पनि सशक्त किसिमले कुरा उठाएकोले अब भने यसको समाधानको उपायसहितको निधो हुने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.