निरन्तर साधना गरौं, कृत्रिमता टिक्दैन

|

काठमाडौं :  बिहानी भालेको डाकसँगै मेरा छिमेकी खोल्सीठुले काका मीठो संगीतको धुनसहित गाई दुहुनु हुन्थ्यो। एकदिन उहाँको घरको बिरालो निकै बिरामी पर्‍यो। काकाले अर्को मीठो गीत बजाउनुभयो। सायद काका संगीतको पारखी हुनुहुँदो हो।

तर, कुरा त्यसो रहेनछ। फुर्सदमा एकदिन हामीलाई बताउनुभयो कि मानिसहरूले मात्र होइन, संसारका सबै जीवले संगीतको आनन्द लिन सक्छन्‌, उत्प्रेरित गर्न र हुन सक्छन्‌। पछि थाहा भयो : विज्ञानले नै यसलाई सत्य साबित गरेको छ। मानिसका भावना प्रस्फुटित गर्ने विविध विधि तथा माध्यमहरूमध्ये गीत संगीत एक उत्कृष्ट माध्यम भएको कुरा पनि विभिन्न विचारकहरूको भनाईबाट पुष्टि भएको छ।

'लेखन र पत्रकारिताभन्दा साहित्य र साहित्यभन्दा संगीत माथिल्लो स्तरको विधा हो। पत्रकारिता तथा लेखमा बढी दिमागको प्रयोग हुन्छ, साहित्यमा दिमाग र मन-मुटुको सन्तुलित उपयोग हुन्छ भने गीत-संगीत बढी मन-मुटुको भावबाट सिर्जित हुने गर्दछ। अनि संसारमा मन-मुटुभन्दा माथिको अर्को सगरमाथा हुन्न।' पत्रकार विजयकुमार पाण्डेका यी हरफहरूमा सत्यता भेटिन्छन्‌, यथार्थता देखिन्छन्।

मेरो पनि संगीत र कलाप्रतिको अनुरागको प्रारम्भिक प्रेरणास्रोत मेरी ठूलीमा डुकुना नेवार बनेर आउनुभयो। अबोध बालापनमै संगीत साधनामार्फत जीवनलाई पूर्णताको गोरेटोमा पाइला सार्ने अवसर मलाई जुट्यो। 

जीवनमा साहित्य, संगीत र कला अपरिहार्य छ भन्ने नीति वचन पनि उल्लेखनीय छ। साहित्य, संगीत र कलाविहीन मान्छेलाई पुच्छर नभएको पशुको पनि उपनाम दिइएको भेटिन्छ। सबैथोक भएर पनि पुच्छर नभएको पशु जस्ता देखिन्छन्, मान्छेलाई पनि त्यस्तै असुहाउँदो र नराम्रो देखिन्छ। पुछारहीन पशुको जसरी शोभा रहँदैन, त्यसैगरी साहित्य, संगीत र कलाहीन मान्छे पनि सुहाउँदैन। जीवनलाई सुन्दर बनाउने तत्त्व भनेका साहित्य, संगीत र कला हुन्‌। साहित्यले जीवनलाई आनन्दित पार्छ। संगीतले नयाँ ऊर्जा दिन्छ भने गीत -संगीत-कलाले जीवन बाँच्ने सुन्दर बाटो दिन्छ।

वास्तवमा गीत संगीत बिनाको संसार अधुरो र अपूर्ण छ। मेरो पनि संगीत र कलाप्रतिको अनुरागको प्रारम्भिक प्रेरणास्रोत मेरी ठूलीमा डुकुना नेवार बनेर आउनुभयो। अबोध बालापनमै संगीत साधनामार्फत जीवनलाई पूर्णताको गोरेटोमा पाइला सार्ने अवसर मलाई जुट्यो। देखिने पूर्णता र बोध गरिने पूर्णता धेरै फरक विषय रहेछन्। अनुभूतिमा पूर्णता प्राप्त गर्ने कुराले मात्र जीवनमा महत्व राख्दो रहेछ।

नेपालमा संगीतिक जीवन

कालजयी आवाजको अनुपम उपहार दिई धेरै कलाकारहरूले कला जगतको उचाई बढाउनु भएको छ। सम्पूर्ण कुरा त्यागी गीत-संगीतको साधनामा धेरै जीवन अर्पण भए। राष्ट्र तथा जनताका हरेक परिवर्तनमा गीत-संगीतले अत्यन्त महत्वपूर्ण भूमिका खेलेको छ।

तथापि, संगीत-गायन विधामा संलग्न कलाकारहरूलाई अझै पनि ‘गाइने’ भनि कुनै निश्चित सम्मानित जाति समुदाय र सिंगो कलाकारहरूको समेत अपमान गर्ने कमजोर मानसिकता बाट हामी उठ्न सकेका छैनौं।

अन्तरराष्ट्रिय क्षेत्रमा समेत सशक्त पेशा मात्र नभई सन्देश सम्प्रेषणको बलियो माध्यम र हर जीवनमा उर्जा प्रदान गर्ने स्थापित पेसालाई अपमानित गर्नु हाम्रो गम्भीर समस्या हो।

एक छोरी वा बुहारीले गायिका भएर जीवन चलाउने कुराको पीडा अझ दर्दनाक छ। पिँजडाभित्रको स्वतन्त्रताका साथ कलाको साधना गर्नु र अनेक आक्षेप खेप्नु हाम्रो दैनिकी बनेको छ। त्यसैले, हाम्रो बुझाई र सोचाइको चस्मामा पावर फेर्न जरुरी छ।

अश्लीलता र गायन

पछिल्लो समय गीत संगीतको प्रस्तुतिलाई लिएर भल्गारिटी (अश्लीलता)सँग पनि जोडिएको पाइन्छ। फलानोले यस्तो लायो, त्यस्तो देखायो इत्यादि सुनिन्छ।

कलाकारहरू समाजकै उत्पादन भएको हुनाले सामाजिक अपेक्षा अनुरुप नै मर्यादाको सीमाभित्र रहेर प्रस्तुती दिनुपर्ने हुन्छ। निश्चय नै, हाम्रो संस्कार र संस्कृतिको विकासमा सबै कलाकारहरू गम्भीर हुन जरुरी छ।

मागले पूर्तिलाई डोहोर्‍याउने कुरा सामान्य नियम हो। जुन वस्तुको बढी माग हुन्छ, त्यही वस्तुले बढी बजार पाउने गर्दछ। भल्गारिटीको उक्साईमा हाम्रै भूमिका पनि सहायक भएको कुरा हामीले बिर्सन हुँदैन। हरेक कलाकारका स्टेजमा प्रस्तुत हुने आफ्ना आफ्ना तरिका र शैली हुन्छन्‌।

कपडाको लम्बाइ, बाहिरी आवरण र शैलीभन्दा स्टेजमा प्रस्तुत हुने कलाकारको गायकीको कुरा मूल्यांकनको प्रमुख विषय बन्न पर्दछ। कलाकारहरू समाजकै उत्पादन भएको हुनाले सामाजिक अपेक्षा अनुरुप नै मर्यादाको सीमाभित्र रहेर प्रस्तुती दिनुपर्ने हुन्छ। निश्चय नै, हाम्रो संस्कार र संस्कृतिको विकासमा सबै कलाकारहरू गम्भीर हुन जरुरी छ।

सस्तो लोकप्रियता

पछिल्लो समय कलालाई नभई कमाइलाई अलि महत्व दिने प्रवृत्ति पनि बढेको हो कि भन्ने लाग्छ। कलाको गहिराइमा भन्दा नगदको मोटाइमा बढी कलाकार लोभिएको कुरा पनि सुन्नमा नआएका होइन। अघिल्ला गायन, लेखन र संगीतका तुलनामा हाल कृत्रिमताले बढी नै ठाउँ लिन गएको धेरैको टिप्पणी रहेको छ।

वास्तविक कलामा गहिरो साधना गरी गुणस्तर दिनेभन्दा अलि बढी नै फेसबुक लाइक/कमेन्ट अनि युट्युब भ्युअर बढाउने कुरालाई महत्व दिने बाटोतर्फ पो लगियो कि भन्ने प्रश्नचिन्ह पनि हामीलाई लागेको छ।

कलाकारितासँग सम्बन्धित विभिन्न पुरस्कारले कला जगतमा ठुलो प्रोत्साहन मिलेको छ। पुरस्कार, प्रोत्साहन र दर्शकहरूको मायाले नै कुनैपनि कलाकारको जीवन गतिशीलतामा शक्ति मिल्छ। विभिन्न सरकारी तथा निजी स्तरमा प्रदान हुने प्रोत्साहन र प्रशंसाले कला जगतको उचाई र महत्व समाजमा बढेको कुरा स्पष्ट छ। तर , पुरस्कार वितरणमा न्याय गर्न कमजोरी हुँदा वितरक संस्था नै विवाद र बदनामीका शिकार भइरहेका छन्‌।

कलाकार हुनुको कठिनाई

चाडबाड, गाह्रो-अप्ठ्यारो,स्वास्थ्यस्थिति तथा व्यक्तिगत जीवन नभनी कलाकारहरू रातदिन खटिरहेका हुन्छन्‌।नेपाली पहिचान,आफ्नोपन र सन्देश लिएर कलाकारहरूले देश-विदेशमा महत्वपूर्ण भूमिका खेलका छन्‌। सुख दुःखका पार्टीमा, सम्झनामा, कल्पनामा, सन्देशमा, विकासमा, राष्ट्रियताजस्ता हरेक पक्षमा गीत-संगीतले हरेक व्यक्तिलाई साथ दिएको हुन्छ।

एक कलाकार आफ्नै माटोमा, सडकमा भोक भोकै मरेको, उपचार गर्न नसकेको लगायतका तीतो अनुभवहरू पनि हामी समक्ष छन्‌। संगीतको साधना गर्दागर्दै भविष्यका सम्भावित काला दिन भुलेका हुन्छन्‌। संगीत साधनामा डुब्न थालेपछि व्यापार, लोकसेवा, जागिर आदि इत्यादी धेरै पर पुगिसकेका हुन्छन्‌। साधनामा नै जीवन समर्पित भइसकेको हुन्छ।

साधकहरूका लागि सरकारले न्युनतम जीवन गुजाराको व्यवस्था मिलाउन र उपचारमा सहयोग गर्न जरुरी छ। कलाकारहरूको जीवन निर्वाहका लागि रोयल्टीलाई पनि थप व्यवस्थित, पारदर्शी र जीवनमुखी बनाउन जरुरी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.