|

दैलेख : कर्णाली प्रदेशका १०  जिल्लामध्ये कोरोनाका धेरै बिरामी रहेको दैलेख कोरोनाको रेडबाट ग्रिन जोनतर्फ प्रवेश गरेको छ। चार महिनादेखि कोरोना महामारी समस्या झेल्दै आएको दैलेखमा पछिल्ला दिन कोरोनाका धेरै बिरामी निको भइसकेका छन्। 

दुई वटा तरिकाबाट गरिएको कोरोना परीक्षणको रिपोर्ट सन्तोषजनक आएपछि दैलेख ग्रिन जोनतर्फ प्रवेश गरेको कोरोना विपद् व्यवस्थापन समिति दैलेखका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी युवाराज कट्टेलले बताएका हुन्। 

कट्टेलले जिल्लास्तरको कोरोना विपद् व्यवस्थापन समिति, स्वास्थ्य सेवा कार्यालय, सुरक्षा निकाय, स्थानीय सरकारहरु र नागरिकहरुले देखाएको सतर्कताका कारण दैलेखमा कोरोनाका बिरामी बढ्न नपाएकाले त्रासमा रहनुपर्ने अवस्था नरहेको बताए।  

पछिल्ला दिनहरुमा समुदायस्तरमा गरिएको कन्ट्याक ट्रेसिङबाट कोरोना पोजेटिभ नदेखिनु, आइसोलेसनमा रहेका धेरै बिरामी निको भई घर फिर्नुले पनि जिल्लामा कोरोना जोखिम घटदै गएको देखिन्छ। 

स्वास्थ्य सेवा कार्यालय दैलेखका खोप अधिकृत थिरप्रसाद रेग्मीका अनुसार पछिल्ला दिन जिल्लामा कोरोना संक्रमणमुक्त हुनेको संख्या बढ्दै जानु जिल्लाका लागि राम्रो संकेत भएको उनले बताए। 

९ सय ९ जना डिस्चार्ज  

११ वटा स्थानीय तह रहेको दैलेखमा शनिबारसम्म ९ सय ३३ जना कोरोनाका बिरामीमध्ये ९ सय ९ जना कोरोना मुक्त भई डिस्चार्ज भएका छन्। शनिबारसम्म ११ स्थानीय तहमा संक्रमित संख्या ९ सय ३३ रहेका र ९ सय ९ जना डिस्चार्ज भएका स्वास्थ्य सेवा कार्यालय दैलेखको विवरणमा उल्लेख गरिएको छ। 

शनिबारसम्मको विवरण अनुसार दैलेखका विभिन्न आइसोलेसन अस्पतालमा २४ जना मात्र कोरोनाका बिरामी छन्। स्वास्थ्य सेवा कार्यालयको आइसोलेसनमा १४ जना, दुल्लु अस्पतालको आइसोलेसनमा १ जना, महाबु आइसोलेसनमा ८ जना, डुंगेश्वर आइसोलेसनमा १ जना गरी २४ जना कोरोनाका बिरामी आइसोलेसनमा रहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.