अनसनका नाममा हुलमुल गरे कोरोना झन् फैलिन्छ

|

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोरोना संक्रमण बढिरहेको अवस्थामा नागरिक आफैं सचेत नहुने हो भने सरकारले चाहेर पनि नियन्त्रण गर्न नसकिने बताएका छन्। 

काठमाडौंको श्रीघःस्थित धर्मकीर्ति विहारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। ‘मास्क लगाउनु आफू सुरक्षित हुन मात्र होइन, अरुलाई सुरक्षित गर्न पनि हो। यो अवस्थामा हामी यसरी नै सुरक्षित हुनु पर्छ', उनले भने, 'हामी आफैं सुरक्षित नहुने हो भने सरकारले चाहेर पनि कोराना संक्रमण नियन्त्रण गर्न सकिँदैन।’

हिजो कोरोना संक्रमण फैलिएको बेला काठमाडौं महानगरले जो जहाँ बसेको छ त्यो त्यहीं सुरक्षित रहनु भन्दा आफूहरूलाई उपत्यका भित्र छिर्न दिएन भनी आलोचना गरेको प्रसङ्गसमेत उनले निकाले। 

'त्यति बेला भित्र आउन दिएन भनी हाम्रो आलोचना भयो। पछिल्लो समय धेरै मान्छे उपत्यका छिर्न थालेपछि थप समस्या देखियो। भित्र आएपछि कोरोना झन् फैलियो', प्रमुख शाक्यले भने, 'सरकारले जे गर्दा पनि सडकमा जुलुस आइहाल्छ। तर जुलुस निकाल्दैमा कोरोना भाग्‍ने त होइन। बरु ढोका ढोकामा पुग्‍न सक्छ। जुलुससँगै कोरोना पनि निस्कन सक्छ भनेर हामी सचेत हुनुपर्छ।’

अहिले कोरोना फैलिएकोले पिसिआर परीक्षण व्यापक गर्न भनी आवाज उठिरहेकोमा पनि उनले टिप्पणी गरे। 'हामीले बुझ्नु पर्छ, पिसिआर परीक्षण नै रोगको उपचार होइन। पिसिआर भनेको औषधि पनि होइन। यो ब्लड प्रेसर नापे जस्तो होइन। बिहान नापेको ब्लड प्रेसर दिउँसो अर्कै भइसकेको हुन्छ', उनले भने, 'त्यस्तै सुगर बिहान र बेलुकीमा फरक परिसक्छ। पिसिआर पनि त्यस्तै हो। यसले तत्कालको अवस्था मात्रै बताउने हो। पिसिआर गराउनु पर्‍यो भनेर अनसन बसेर आफैं हुलमुल गरिरहेका छन्। हुलमुल भएपछि कोरोना झन् बढेर जान्छ।’

पिसिआर परीक्षणबाट हाम्रो पैसा विदेश गइरहेको तर्फबाट पनि उनले सचेत गराए।‘पिसिआर गर्दा प्रति व्यक्ति दश हजारजति खर्च पर्न आउँछ। पिसिआर गर्दा चाहिने जम्मै सामान विदेशबाट ल्याउनु पर्छ। यसबाट हाम्रो पैसा बाहिर गयो। फेरि पिसिआर गर्दैमा रोग नलाग्‍ने पनि होइन', उनले भने, 'अहिले यहाँ पिसिआर गरेर हामी कतै गयौँ भने त्यहाँ कुनै संक्रमित भेटिए फेरि कोरोना सरि नै सकेको हुन सक्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.