सरकारलाई खबरदारी गर्नेहरुकै भूमिका शून्य

|

काठमाडौं : कोरोना भाइरस नियन्त्रणका लागि सरकारले कामै गर्न नसकेको भन्दै आलोचना गर्ने विपक्षी दलहरुले पनि रचनात्मक काम गर्न सकेका छैनन्।

कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि सरकारलाई दबाव दिन बाहेक विपक्षी दलहरुले जनस्तरमा प्रभाव पार्ने ढंगले रचनात्मक काम गर्न सकेका छैनन्। 

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले काम गर्न नसकेको भन्दै विपक्षी दलहरुले चर्को आलोचना भने गरिरहेका छन्। केही युवाहरु सतप्रतिशत पीसीआर परीक्षण गर्नुपर्ने, क्‍वारेन्टाइन व्यवस्थापन गर्नुपर्ने माग राख्दै अनसनमा समेत बसेका छन्।

यद्यपि विपक्षी दलहरुले सरकारलाई दबाव दिन बाहेक क्‍वारेन्टाइन व्यवस्थापन, राहत वितरण र उद्धारका काममा आफ्ना नेता कार्यकर्ताहरूलाई परिचालन गर्न सकेका छैनन्। 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुरुवाती दिनमा मिडियामार्फत कोरोना संक्रमणबाट जोगिनका लागि जनचेतनामूलक सन्देश जारी गरेपनि ठोस र सशक्त कदम भने चाल्न सकेको छैन।

तर नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भने पार्टीले आफ्नो ठाउँबाट आवश्यक पहल र सरकारलाई सहयोग गरिरहेको दावी गरे। उनले जनतालाई सुसूचित गराउन कार्यकर्ता परिचालन गरिएको, स्वास्थ्य सामग्री वितरण गरेको, पार्टीको तर्फबाट सरकारको खातामा ५० लाख रुपैयाँ नगद जम्मा गरेको बताए। 

‘सत्तामा सँगै नभएपनि संकटमा सँगै रहेको’सन्देश दिँदै सरकारका कमिकमजोरी औल्याउँदै पार्टी अगाडी बढेको उल्लेख गर्दै शर्माले सांसदहरुको तर्फबाट समेत १५ दिनको तलब बराबरको रकम सरकारी खातामा जम्मा गरेको फेहरिस्त सुनाए।

केही समयअघि मात्रै पार्टी एकता भएको जनता समाजवादी पार्टी (जसपा) ले समेत सरकारलाई नैतिक रुपमा दबाव दिन बाहेक केही काम गर्न सकेको छैन। 

जसपाका कार्यकारिणी सदस्य केशव झाले वडा स्तरसम्म नेता कार्यकर्ता परिचालन गरी सूचना प्रवाह, राहत वितरणका काम पार्टीले गरेको दावी गरे। उनले राजनीतिक पार्टीले सरकारले जसरी धेरै काम गर्न नसक्ने बताए।

लक डाउन सुरु हुनुभन्दा करिब २ हप्ता अगाडि मात्रै पार्टी एकता गरेर गठन भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको अवस्था पनि त्यस्तै छ। फागुन २८ मा पार्टी एकता गरेको राप्रपाले एकतालाई पूर्णता दिन नपाउँदै लक डाउन सुरु भयो। लक डाउनको समयमा पनि सरकारलाई पटक पटक दबाब दिने काम पार्टीका अध्यक्षहरुले गरेको राप्रपा नेता मोहन श्रेष्ठले दावी गरे।

शनिबारसम्म नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या २२ हजार ५ सय ९२ पुगेको छ। आजसम्म ७३ जनाको मृत्यु भइसकेको छ। अहिले ६ हजार २ सय ६ जना संक्रमित उपचाररत रहेका छन्। 

कोरोना संक्रमितको संख्या बढ्दै जाँदा कन्टयाक ट्रेसिङमा समस्या देखिएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनशक्ति अभावमा समयमा कन्टयाक ट्रेसिङ गर्न नसक्दा संक्रमितहरु खुलेआम हिँडिरहेका छन्। 

यस्तो अवस्थामा विपक्षी दलहरुले आफ्ना कार्यकर्ताहरूलाई स्वयंसेवकको रुपमा कन्ट्याक ट्रेसिङमा सहयोग गर्न सक्ने देखिन्छ। तर यसतर्फ कुनै पनि दलले अहिलेसम्म चासो देखाएका छैनन्।    

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.