|

बर्दिया : बर्दियामा आजबाट पाँच दिनसम्मका लागि निषेधाज्ञा गरिएको छ। समुदायस्तरमै संक्रमण फैलिएपछि जोखिमलाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरिएको हो। 

कोरोना संकट व्यवस्थापन समिति बर्दियाका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको अध्यक्षतामा साउन २२ गते बसेको बैठकले साउन २५ गते आइतबार विहान ६ बजेदेखि साउन २९ गते बिहिबारसम्म ५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार आज बिहानबाट निषेधाज्ञा लागु गरिएको हो।

समुदायस्तरका केही व्यक्तिमा कोरोना संक्रमण भेटिएको र समुदायस्तरमा थप संक्रमित भेटिनसक्ने खतरा बढेको भन्दै फैलावट रोक्न निषेधाज्ञा जारी गरिएको प्रजिअ अधिकारीले बताए। निषेधाज्ञा अवधीमा अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन र निस्कनै परे मास्कको अनिवार्य प्रयोग गर्न पनि सर्वसाधारणलाई प्रशासनले आग्रह गरेको छ।

निषेधाज्ञा अवधिमा तरकारी तथा फलफूल पसलहरु बिहान ६ बजेदेखि ९ सजेसम्म सञ्चालन गरिने छ भने खाद्यान्न तथा किराना पसलहरु सञ्चालन गर्न पाइने छैन। औषधि पसल, अस्पताल, इमर्जेन्सी, अति आवस्यक स्वास्थ्य र सुरक्षा सेवा भने चौबीसै घण्टा खुल्ला रहने जनाइएको छ। 

एटिएम बाहेकका सबै बैंकिङ्ग सेवा बन्द

निषेधाज्ञाका क्रममा एटिएमबाहेक अन्य सबै सेवा बन्द गरिने भएको छ।

'निषेधाज्ञा अवधिभर सबै बैंक तथा वित्तीय संस्थाहरु बन्द रहनेछन्,' प्रजिअ अधिकारीले भने, 'अत्यावश्यक परेमा एटिएम सेवा भने सुचारु रहनेछ।'

बर्दियामा बैंकका दुई जना कर्मचारीमा पनि कोरोना संक्रमण देखिएपछि सबै बैंक तथा वित्तीय संस्था बन्द गरिएको उनले जानकारी दिए।

पछिल्लो समय जिल्लाका बैंकमा भीडभाड बढिरहेको थियो। यो क्रम बढ्दा संक्रमण फैलनसक्ने जोखिन बढ्ने भएकाले साउन २९ गतेसम्म बैंकिङ सेवाहरु समेत बन्द हुने प्रशासनले जनाएको छ। निषेधाज्ञाका समयमा नियमको उलंघन गरेको पाइएमा कडा रुपमा कारबाही गरिने जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.