हालसम्म १६११ जना संक्रमित
हालसम्म १६११ जना संक्रमित
बागलुङ: गण्डकी प्रदेशमा पनि समुदायस्तरमै कोरोना संक्रमण फैलिएको पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा गरेको परीक्षणबाट संक्रमण पुष्टि भएका २४ जनामध्ये २२ जना कुनै ट्राभल हिस्ट्री नभएको पाइएपछि संक्रमण समुदायमा फैलिएको प्रमाणित भएको गण्डकी स्वास्थ्य निर्देशनालयका अधिकारीहरूले जानकारी दिएका छन्।
पछिल्लो विवरणअनुसार संक्रमितमध्ये पोखरा महानरपालिका–१७मा भेटिएका ५५ वर्षीय पुरुष र म्याग्दीको बेनीनगरपालिका–४ मा भेटिएका २१ वर्षीय पुरुषमात्र भारतबाट आएका हुन्। यता, महोत्तरी जिल्लाबाट आएका १३ जना मजदुरमा पनि कोरोना संक्रमण पुष्टि भइसकेको छ। संक्रमित भएकाहरू सबै बागलुङ नगरपालिका–१३ मा छन्।
पोखरा महानगपालिका–९ का २ व्यक्तिमा पनि संक्रमण देखिएको छ। उनीहरू संक्रमितको सम्पर्कमा गएका व्यक्ति हुन्। स्याङ्जाको कालीगण्डकीका १ जना तथा पुतलीबजार नगरपालिकाका ७ जनामा पनि कन्ट्याक्ट ट्रेसिङ गर्दा कोरोना पुष्टि भएको हो।
समुदायमा संक्रमण फैलन थालेपछि गण्डकी स्वास्थ्य निर्देशनालय अन्तर्गतको क्षयरोग उपचार केन्द्रमा पछिल्लो २४ घण्टाभित्र ७८२ जनाको स्वाब परीक्षण गरिएको थियो। ती मध्ये गोरखाका ५०, तनहुँका ५१, लमजुङका ८,स्याङ्जाका १८३,बागलुङका ६१,म्याग्दीका ५५ र कास्कीका ३१४ स्वाब रहेका थिए। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको २८ नमूना परीक्षण नतिजा नेगेटिभ आएको छ।
यसैबीच, गण्डकीमा हालसम्म १ हजार ६११ जना संक्रमित भेटिएका छन्। यी मध्ये १ हजार ४४३ जना उपचारपछि निको भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोदबिन्दु शर्माले जानकारी दिएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।