बिरामीले उपचार नै नपाइ गुमाउँदैछन् ज्यान

|
समाचार प्रतिनिधि तस्बिर

जनकपुरधाम : धनुषाको विदेह नगरपालिका-६ स्थित सडकमै ढलेर एक पुरुषको मृत्यु भयो। उनी हुन्, त्यही नगरपालिकाको ठाडी टोल बस्ने ४० वर्षीय आयुव राइन। 

बजार जाने क्रममा अचानक सडकमा लडेको देखेर स्थानीयले हतार हतार स्वास्थ्य संस्था लग्‍ने प्रयास गरे। तर उनी दम तोडे। प्रहरी चौकी तीनकोरीले शव परिवारको जिम्मा लगयो। त्यही साँझ उनको दाहसंस्कार गरियो।

स्थानीयका अनुसार उनलाई ३/४ दिनदेखि सुख्खा खोकी लागेको थियो। उनलाई पहिल्यैदेखि सास फेर्न समस्या भइरहेको थियो। स्वासप्रश्वासमा समस्या हुनु भनेको कोरोना भाइरसको मुख्य लक्षण हो। 

तर प्रहरीले कोरोनाका कारण उनको मृत्यु नभएको देखिएकाले शव त्यही दिन परिवारलाई जिम्मा लगाएको जनाएको छ। प्रहरीका अनुसार उनी पहिल्यैदेखि रक्तचापका विरामी थिए। औषधिसमेत खाँदै आएका थिए।

शनिवार साँझ स्वासप्रश्‍वासमै समस्या आएपछि शहिदनगर नगरपालिका-८ का करिब ५० वर्षीय पल्टु बनरैतको मृत्यु भएको छ। जनकपुरस्थित काव्या अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो।

शनिवार दिउँसो घरमै उनलाई सास फेर्न गाह्रो भयो। अवस्था गम्भीर भएपछि आफन्तले एम्बुलेन्स खोजे। कतै पाइएन। बाध्य भएर मोटरसाइकल चढाएर जनकपुर ल्याइयो।

उनलाई जनकपुरको प्रादेशिक अस्पतालमा भर्ना गर्न खोज्दा आइसियु कक्ष खाली थिएन। हतार हतार जानकी हेल्थ केयर अस्पताल पुर्‍याइयो। त्यहाँ भेन्टिलेटर थिएन। त्सपछि काब्या अस्पताल लगियो। केही बेरमै उपचारको क्रममा उनको मृत्यु भयो।

काव्याका एक चिकित्सकका अनुसार शरीरमा अक्सिजनको मात्रा कम थियो। सास फेर्न सकेका थिएनन्। बचाउने हरप्रत्यन गरे तर बाँचेनन्। ती चिकित्सकका अनुसार उनको कोरोनाले मृत्यु भएको होइन।

चिकित्सकले कोरोनाले मृत्यु नभएको दाबी गरे पनि उनको शव लग्‍न आफन्तलाई अस्पताल प्रशासनले दबाब दिए। एम्बुलेन्समा शव राखेर जनकपुरस्थित स्वर्गद्वार पुर्‍याउन लगाए। 

कोरोनाको डरले शवलाई एम्बुलेन्समा कसैले राख्‍न चाहेका थिएन। मृतकका छोरा वीरेन्द्रसमेत डराइरहेका थिए। अन्‍नतः उनी आफैंले शव एम्बुलेन्समा राखे। स्वर्गद्वारमा पनि एम्बुलेन्सबाट आफैं शव निकाले।

‘केही दिनदेखि बुवालाई रुघाखोकी लागेको थियो। पछि सास फेर्न समस्या भयो’, मृतकका छोरा वीरेन्द्रले भने, ‘उनको मृत्यु कोरोनाले नै भएको हुनसक्छ। त्यसैले मलाई पनि डर लागिरहेको छ।’

मृतक यादवकै घर भएको ठाउँमा केही दिनअघि एक व्यापारीको मृत्यु कोरोना संक्रमणबाट भएको थियो। उनको मृत्यु भएको ८ घण्टापछि उनको पिसिआर रिपोर्ट पोजेटिभ आएको अस्पतालले पुष्टि गर्‍यो। 

उनी पनि त्यही ठाउँको भएका कारण कोरोना संक्रमणकै कारण मृत्यु भएको हुनसक्ने स्थानीयको भनाई छ। मृतक यादव नेपाली कांग्रेसका वडा सभापति र वडाकै प्रत्यासी उम्मेदवार समेत थिए। उनका दुई छोरा, तीन छोरी र श्रीमती छन्।

कोरोनाको आशंका गरिएपछि उनको कोरोना परीक्षण गरिने भएको छ। आज विहान स्वर्गद्वारमै पुगेर प्राविधिक टोलीले उनको स्वाब संकलन गरेका छन्। जनकपुरस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा उनको स्याब परीक्षण गरिने बताइएको छ।

सास फेर्न गाह्रो, कोरोनाको मुख्य लक्षण

प्रादेशिक अस्पताल जनकपुरमा कार्यरत जेनेरल फिजिशियन डा. कृष्ण यादव भन्छन्, ‘कोरोना संक्रमणको मुख्य लक्षण नै सास फेर्न गाह्रो हुनु हो। सास फेर्न नसकेर ज्यान गुमाउनेहरु कोरोना संक्रमित हुनुपर्छ।’

स्वासप्रश्वासमा समस्या भएर मृत्यु भएकाहरुको स्याब संकलन गरि कोरोना परीक्षण गर्नुपर्ने उनको धारणा छ। ‘पछिल्लो समय धेरै व्यक्तिको स्वासप्रश्वासको समस्याले मृत्यु हुने गरेको छ। उनीहरुलाई कोरोना परीक्षण गर्दा राम्रो’, उनले भने, ‘रिपोर्ट पोजेटिभ आएकामा ति व्यक्तिको परिवार र सम्पर्कमा आएकाहरुलाई जोगाउन सकिन्छ।’

डा. यादवका अनुसार कोरोना समाजमा एक व्यक्तिबाट अर्कोमा सरिरहेको छ। ट्राभल हिस्ट्री नभएका कयौं व्यक्तिमा पनि पछिल्लो समय कोरोना संक्रमण पुष्टि भएको छ। शंकास्पद मृतकको कोरोना परीक्षण गर्दा यो कुरा पुष्टि हुन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.