पर्सामा हालसम्म १८ जनाको मृत्यु, प्रदेश २ मा मृतक संख्या २७ पुग्याे

|

पर्सा : शनिबार उपचार क्रममा मृत्यु भएकी वीरगन्ज २ छपकैयाकी २० वर्षीय युवतीसहित पर्सामा ७५ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा गरिएको पछिल्लो रिपोर्टअनुसार थपिएका ७५ जनामा वीरगन्ज महानगरपालिकाका सामाजिक विकास महाशाखा प्रमुखसमेत छन्। 

उनीसहित भारतीय महावाणिज्य दूतावास वीरगन्जका १, बाराका ३, सर्लाहीका १ र पर्साका ७० जना रहेका नारायणी अस्पतालले जनाएको छ। जिल्लाका विभिन्न ठाउँबाट संकलन गरिएको थ्रोट स्वाब नमुना परीक्षण गर्दा ७५ जनाकै रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा मदन कुमार उपाध्याय बताए। 

थपिएका नयाँ संक्रमितमा १५ महिलासहित ६० पुरुष रहेका उनको भनाइ छ। संक्रमितहरु १२ देखि ६८ वर्ष उमेर समूहका रहेका नारायणी अस्पतालले जनाएको छ। संक्रमितहरुमा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत ८ जना प्रहरी र एक जना प्रहरीकै कन्ट्याक्ट ट्रेसिङमा परेकी १५ वर्षीय किशोरी पनि रहेको जनाइएको छ। कन्ट्याक्ट ट्रेसिङ र मास ट्रेसिङ तथा स्वेच्छाले आफ्नो टेस्ट गराएका मध्ये रहेका मेसु डा उपाध्यायले बताए। संक्रमितमध्ये केहीमा लक्षण पनि देखिएको उनले जानकारी दिए। 

पर्सामा कुल १ हजार ११ संक्रमित 

आइतबार थपिएका नयाँ संक्रमितसहित पर्सामा मात्र अहिले सम्म १ हजार ११ संक्रमित संख्या पुगेको छ। आइतबार थपिएका नयाँ संक्रमित भने स्वास्थ्य मन्त्रलायले पुष्टि गर्न बाँकी रहेको नारायणी अस्पतालले जनाएको छ। 

मृत्यु हुनेको संख्या पर्सामा मात्र १८, प्रदेशभरि २७ जना

कोरोनाका कारण पर्सामा मात्र अहिलेसम्म १८ जनाले ज्यान गुमाइसकेका छन्। यो संख्या पनि गएको साउन ६ गतेसम्म जम्मा एक मात्र थियो। अर्थात् १९ दिनयता पर्सामा मात्र १७ जनाको संक्रमणका कारण ज्यान गइसकेको छ। जसमा एक व्यक्तिको भने पहिचान खुल्न सकेको छैन। १४ स्थानीय तह रहेको पर्सामा मृतकमध्ये सबैभन्दा बढी वीरगन्ज महानगरपालिकाका रहेका नारायणी अस्पतालले जनाएको छ। 

मृतकको संख्या प्रदेश २ भरमा यो समाचार तयार पार्दा सम्म २७ पुगेको छ। आइताबार बिहान पुष्टि भएको रिपोर्टअनुसार शनिबार वीरगन्जमा मृत्यु भएकी २० वर्षीया युवतीको संख्या भने समावेश गर्न बाँकी रहेको प्रदेश २ सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा झाले बताए। 

यो प्रदेशमा सबैभन्दा धेरै पर्सामा कोरोनाका कारण धेरै मानिसको मृत्यु भएको छ। पर्सापछि बारामा २, रौतहटमा २, सप्तरीमा २, सिरहा, धनुषा र महोत्तरीमा भने १⁄१ जनाको मृत्यु भएको प्रवक्ता झाले बताए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.