|

काठमाडाैं : काठमाडाैं उपत्यकामा ९२ जनासहित देशभर आइतबार ३ सय ८० जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ। देशभरका ३७ वटा प्रयोगशालामा गरिएकाे परीक्षणमा काठमाडाैं जिल्लाका मात्र ९० जनामा काेराेना देखिएकाे हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित पत्रकार ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गाैतमले यसबारे बताएका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट थप दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कास्की र पर्सामा गरी २ जनाको मृत्यु भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कास्कीको पोखरा महानगरपालिका १९ का ६२ वर्षीय वृद्धको सान २४ गते मृत्यु भएको बताए। उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचरका क्रममा मृत्यु भएको हो।

यस्तै पर्साको वीरगञ्ज महानगरपालिका २ बस्ने २० वर्षीया महिलाको २४ गते निधन भएको उनले बताए। उपचारका लागि नारायणी अस्थायी कोभिड अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको हो ।

आइतबार थप ३ सय ८० जना कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २२ हजार ९ सय ७२ पुगेको छ । काठमाडौं उपत्यकामा मात्रै ९२ जनामा कोरोना पुष्टि भएको छ। काठमाडौं जिल्लामा ९० र ललितपुरमा २ जनामा संक्रमण देखिएको उहाँले बताए।

आइतबार प्रदेश नम्बर १ मा ५ सय ११, प्रदेश नम्बर २ मा ३ हजार ७५, बागमती प्रदेशमा ११ सय ३१ र गण्डकी प्रदेशमा २ सय ३७ जना संक्रमित उपचाररत रहेका छन्।

यस्तै प्रदेश नम्बर ५ मा ४ सय ४६, कर्णाली प्रदेशमा १ सय ६९ र सुदूरपश्चिम प्रदेशमा ९ सय ७४ गरी देशभरी ६ हजार ५ सय ४४ जना संक्रमित विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत रहेका छन्।

अहिले देशभरीका क्वारेन्टिनमा ११ हजार ३८ जना रहेका छन् । आइतबार पीसीआर विधिबाट ८ हजार ५ सय १५ गरी ४ लाख ४३ हजार ८ सय ४ जनाको कोरोना परीक्षण भएको छ। आइतबार ४० जना गरी देशभरी १६ हजार ३ सय ५३ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.